Logo

‘ब्याजदर एकल अंकमा ल्याउने अवस्था छैन’

नेपाल बैंकर्स संघले अहिले नै ब्याजदर एकल अंकमा झर्न कठिन हुने बताएको छ । बुधबार पत्रकारहरूसँग अन्तक्र्रिया गर्दै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको छाता संगठनले अहिलेकै अवस्थामा ब्याजदर एकल अंकमा आउन कठिन हुने बताएको हो ।

संघका अध्यक्ष सुनिल केसीले संसारभर ब्याजदर बढिरहेको भन्दै नेपालमा पनि त्यसको प्रभाव परेको उल्लेख गरे । “बजारमा एकल विन्दुमा ब्याजदर कायम हुनुपर्ने माग छ,” अध्यक्ष केसीले भने, “तर हामी एकै पटक ब्याजदर घटाउन सक्दैनौं ।”

उनले ब्याजदर स्थिर बनाउनुपर्छ भन्ने सोच रहेको भन्दै अहिले लिइएको नीतिले आगामी दिनमा ब्याजदर क्रमशः घट्दै जाने समेत उल्लेख गरे । अध्यक्ष केसीले अहिले नेपालको मात्र ब्याजदर बढेको नभई भारतसहित अन्य मुलुकको पनि बढेको बताए । उनले भने, “भारतको केन्द्रीय बैंकले अस्तिमात्रै ०.२५ प्रतिशतले नीतिगत दर बढाएको छ । अन्य देशमा पनि ब्याजदर बढेको छ । हामी पनि ब्याजदर घट्नुपर्छ भन्ने चाहन्छौं । तर अन्तर्राष्ट्रिय परिस्थितिले हाम्रो बजारलाई पनि असर गर्छ ।”

बैंक तथा वित्तीय संस्थामा खाता खोलेका ४ करोड खातावालालाई संरक्षण दिन खोज्दा बैंक तथा वित्तीय संस्थाबाट १८ लाख ऋणीले दबाब सिर्जना गरेको अध्यक्ष केसीको भनाइ छ । उनले बैंक तथा वित्तीय संस्थाले आफ्नो पुँजीभन्दा पनि निकै धेरै रकम सर्वसाधारणबाट लिएर कारोबार गरिरहेकाले ऋणीभन्दा पनि निक्षेपकर्तालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

बजारमा ऋणीको कुरा धेरै आयो, निक्षेपकर्ताको विषयमा कुनै कुरा आएको छैन,” केसीले भने, “हामीले निक्षेपकर्ताको संरक्षणको विषयमा पनि सोच्नुपर्छ । अहिले बैंकिङ क्षेत्र पनि दबाबमा छ । ननपर्फर्मिङ एसेट बढेको छ । जसरी ब्याज तिर्दैनौँ भनेर क्याम्पेन चलेको छ, त्यो राम्रो होइन ।”

अध्यक्ष केसीले अहिले मुलुकको अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिए पनि अझै अर्थतन्त्र पूरै लयमा नभएको सुनाए । “हामी अझै सजग हुनुपर्ने अवस्था छ,” उनले भने, “केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षामा कुनै पनि दर संशोधन नगर्नु पनि यसको संकेत हो ।”

पत्रकारहरूसँग संघका निवर्तमान अध्यक्ष एवम् नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बैंक तथा वित्तीय संस्था नाफामा सञ्चालन हुन नसक्दा निक्षेपकर्ता पलायन हुने अवस्था आउने सुनाए । “बैंक नोक्सानमा गए निक्षेपकर्ता निक्षेप राख्न आउँदैनन्,” उनले भने, “बैंकिङ क्षेत्रबाट राम्रो निक्षेपकर्ता पलायन होलान् भन्ने डर भइसकेको छ ।”

उनले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेको उल्लेख गरे । उनले भने,“कोरोना महामारीको क्रममा रिसेड्युल गरिएको कर्जा ऋणीले तिर्न सकेका छैनन्, जुन गम्भीर समस्या हो ।” सीईओ ढुंगानाले पनि तत्कालै एकल विन्दुमा बैंकको ब्याजदर कायम हुने अवस्था नरहेको बताए ।

एक वर्षमा १२ प्रतिशतसम्म पुग्न सक्छ मूल्यवृद्धि
उपभोक्ताले आगामी तीन महिनामा १० प्रतिशत र एक वर्षमा १२ प्रतिशतसम्म मूल्यवृद्धि हुन सक्ने अनुमान गरेको प्रतिवेदन नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले गरेको मूल्यवृद्धि अपेक्षा सर्वेक्षणमा उपभोक्ताले आगामी दिनमा अहिलेको भन्दा पनि बढी मूल्यवृद्धि हुनसक्ने अनुमान गरेका हुन् ।

राष्ट्र बैंकले २४–३० पुस २०७९ मा ६० बजार क्षेत्रका दुई हजार १० जना व्यक्तिहरूसँग अन्तर्वार्तामार्फत सम्पन्न गरेको उक्त सर्वेक्षणमा ८४.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा १० प्रतिशत मूल्यवृद्धि हुने अनुमान गरेका छन् । त्यसैगरी ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा १२ प्रतिशतसम्म मूल्यवृद्धि हुने अनुमान गरेका छन् ।

प्रतिवेदनअनुसार आगामी तीन महिनामा अहिलेको भन्दा उच्च मूल्यवृद्धि हुने अनुमान १८.१ प्रतिशतले गरेका छन् । अहिलेकै दरमा मूल्यवृद्धि हुने अनुमान गर्नेको संख्या ३४.५ प्रतिशत र अहिलेको भन्दा मूल्यवृद्धि घट्ने अनुमान गर्ने उपभोक्ताको संख्या ३२.१ प्रतिशत रहेको छ । यस्तै, मूल्य स्थिर रहने अनुमान गर्ने उपभोक्ता १४.३ प्रतिशत र घट्ने अनुमान गर्ने उपभोक्ता १.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । आगामी तीन महिनामा मूल्यवृद्धि हुने अनुमान गर्नेको संख्या असोजमा ८६.६ प्रतिशत र असारमा ९४.७ प्रतिशत रहेकोमा पुसमा घटेको छ ।

आगामी १ वर्षमा मूल्यवृद्धि अहिलेको भन्दा उच्च हुने अनुमान गर्ने सर्वसाधारण २८.१ प्रतिशत, अहिलेकै दरमा मूल्यवृद्धि हुनसक्ने अनुमान गर्ने सर्वसाधारण ४०.१ प्रतिशत र अहिलेको भन्दा मूल्यवृद्धि दर कम हुने अनुमान गर्ने उपभोक्ता २१.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, ६.५ प्रतिशतले मूल्यवृद्धि स्थिर हुने र १.१ प्रतिशतले आगामी १ वर्षमा अहिलेको भन्दा मूल्य घट्न सक्ने अनुमान गरेका छन् ।

राष्ट्र बैंकको सर्वेक्षणमा आगामी ३ महिनामा अपेक्षित मुद्रास्फीति १० प्रतिशत र एक वर्षमा १२ प्रतिशतसम्म हुन सक्ने अनुमान उत्तरदाताले गरेका छन् । गत असोजमा भएको सर्वेक्षण्मा पनि ३ महिनामा १० प्रतिशत र १ वषमा १२ प्रतिशत अपेक्षित मुद्रास्फीति हुने अनुमान उपभोक्ताको थियो ।

उपभोक्ताले अहिले पनि १२ प्रतिशत नै मूल्यवृद्धि रहेको अनुमान गरेको बताएका छन् । तर, राष्ट्र बैंकको तथ्यांकअनुसार भने २०७९ पुसको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत रहेको अनुमान गरेका छन् । असोजमा भएको सर्वेक्षणमा पनि उपभोक्ताले १२ प्रतिशत नै मुद्रास्फीति रहेको अनुमान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्