प्रदेशसभाको बैठक पाँचौंपटक स्थगित «

प्रदेशसभाको बैठक पाँचौंपटक स्थगित

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६०७७ को बजेटको विरोध गर्दै प्रतिपक्षी अनुपस्थित हुँदा प्रदेश सभाको बैठक स्थगित भएको छ । बजेटमाथि छलफलका लागि आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभाको आइतबारको बैठकलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) ले बहिष्कार गरेका हुन् ।
प्रदेश सभाको बैठक प्रारम्भ हुनासाथ सभामुख अर्जुनबहादुर थापाले प्रतिपक्षीको उपस्थिति नभएकाले बैठकको कारबाही अगाडि नबढाइकन स्थगित भएको घोषणा गरे । प्रदेश सरकारको बजेटमाथि छलफल गर्न आह्वान गरिएको प्रदेश सभाको बैठक लगातार पाँचौं पटक स्थगित भएको हो । प्रदेश सभाको शुक्रबारको बैठकमा प्रतिपक्षी सांसदहरुले नाराबाजी गरेपछि स्थगित गरिएको थियो । यसअघि प्रतिपक्षीको विरोधका कारण असार ८ र ११ गतेको दुई वटा बैठक सूचना टाँसेर स्थगित गरिएको थियो भने असार ५ गते बजेट माथि छलफल गर्न पहिलो पटक आह्वान गरिएको बैठक शुरु हुनासाथ प्रतिपक्षी सांसदहरुले नाराबाजी गर्दै बाहिरिएपछि स्थगित भएको थियो । असार ५ गतेको बैठक बहिष्कार गरेका प्रतिपक्षी सांसदहरुले सो दिन रातो किताबसमेत जलाएका थिए ।
आइतबारको बैठकसमेत नचल्ने भएपछि सभामुख थापाले प्रदेश सभाको अर्को बैठक असार १७ गतेका लागि तोकेका छन् । कांग्रेस संसदीय दलका सचेतक टेकबहादुर रैकाले विरोधको शैली फेरेको बताए । बजेट संशोधन गर्न माग गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुसँग प्रदेश सरकारले छलफल गरिरहेको भएपनि सरकार गम्भीर ढंगले छलफल नगरेको प्रतिपक्षी दलको आरोप छ ।
प्रतिपक्षी दलहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी प्रदेश सरकारले बजेट संशोधन नगरेसम्म संसद चल्न नदिने धारण यसअघि नै सार्वजनिक गरेका छन् । आइतबार बिहान पनि मुख्यमन्त्री त्रिचोलन भट्टको संयोजनका सरकारका मन्त्रीहरुले प्रतिपक्षी सासंदहरुसँग छलफल गरेका थिए । दुबै दलका नेताहरुबीच छलफल भएपछि थप छलफल गरी निष्कर्षमा पुगेपछि सदन सञ्चालन गर्ने अनौपचारिक सहमति भएको बुझिएको छ ।
आइतबारकको बैठक स्थगित गर्ने र अर्को बैठकमा अवरोध नहुने गरी प्रतिपक्षीसँग सहमति गर्ने विषयमा पनि छलफल भएको र मुख्यमन्त्रीले सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङलाई सभामुखसँग समन्वय गरेर आइतबारका लागि सदन स्थगित गर्न भने पनि सभामुख थापासमक्ष यो सन्देश नपुगेका कारण सदन सुरु भएर स्थगित भएको नेकपाका एक सासंदले जनाए ।
सदनमा उपस्थित नभएर विरोध गर्ने शैलीमा फरकपन ल्याएको बताएका प्रतिपक्षी सांसद रैकाले असार १७ गतेको बैठक अगाडि नै सरकार प्रतिपक्षीसँग सहमतिमा आउने विश्वास लिएको बताए । उनले आइतबारको बैठक स्थगित गर्ने विषयमा मुख्यमन्त्रीसँग अनौपचारिक सहमति भएका कारण पनि आफूहरु सदनमा नगएको बताए ।

प्रतिक्रिया दिनुहोस्