एक लाख राशीको गुरिल्ला म्याराथनको उपाधी बुढालाई
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको पाँचाैं सानीभेरी–मौराखारा–गुरिल्ला म्याराथनको उपाधी दुर्गाबहादुर बुढाले प्राप्त गरेका छन् । पुरुषतर्फको ४६ किलोमिटर दुरीको म्याराथनमा ६१ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै रुकुमका बुढाले प्रथम स्थान प्राप्त गरे ।
उनले चार घण्टा ५८ मिनेटको समयमा तोकिएको दुरी पार गरे । बुढाले उपाधीसंगै एक लाख पुरस्कार राशी पनि प्राप्त गरहेका छन् । त्यसैगरी भोजपुरका उमेश राईले पाँच घण्टा चार मिनेटमा निर्धारित दुरी पार गरेर दोस्रो स्थान र रुकुम पश्चिमका अर्जुन कुमार बस्नेत पाँच घण्टा ११ मिनेटमा उक्त दुरी पार गरेर तेस्रो स्थान र पाँच घण्टा २१ मिनेटमा पार गरेर रुकुम पूर्वका हिमाल बुढाले चौथो स्थान हाँसिल गरे ।
दोस्रो, तेस्रो र चौथो स्थान प्राप्त गर्न सफल धावकहरुलाई क्रमैसँग ७५ हजार, ४५ हजार र १५ हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढोथोकीले जानकारी दिए । प्रतियोगिताको दशौ स्थानसम्म आउने प्रतियोगीहरुलाई जनही तीन हजार पुरस्कार दिइएको बताइएको छ ।
त्यसैगरी महिला तर्फको म्याराथनमा जुम्लाकी मञ्जु रावत प्रथम भएकी छिन् । उनले निर्धारित ३४ किलोमिटरको दुरीमा २१ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै तीन घण्टा २४ मिनेटमा पार गरेकी हुन् । त्यसैगरी खोटाङकी प्रिया राईले तीन घण्टा ३४ मिनेटमा दुरी पार गरेर दास्रो, जुम्लाकी राज्य लक्ष्मी रावतले तेस्रो, सुर्खेतकी बिन्दु हमालले चौथो स्थान प्राप्त गरेकी छिन् ।
प्रथम, दोश्रो, तेस्रो र चौथो स्थान प्राप्त गर्न सफल धावकहरुलाई क्रमश ६० हजार, ४० हजार, २० हजार र १० हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । महिला तर्फ पनि दशौ स्थान सम्म प्राप्त गर्ने प्रतियोगिहरुलाई जनही तीन हजार पुरस्कार प्रदान गरिएको छ ।
जनयुद्धको स्मरण र अग्लो स्थानमा रहेको पर्यटकिय स्थलको प्रचारको लागि गाउँपालिकाले हरेक वर्ष मौराखारा गुरिल्ला म्याराथन प्रतियोगिता सञ्चालन गर्दै आइरहेको गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले जानकारी दिए । उनका अनुसार तत्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्धताका माओवादी गुरिल्लाहरु हिडेको बाटोमा धावकलाई दौडाइएको हो । म्याराथनको पाँचौं संस्करणको लागि राष्ट्रिय खेलकुद परिषद्ले १५ लाख र गाउँपालिकाको आठ लाख रुपैयाँ लगानी गरेको थियो ।