ट्रम्प उत्तर कोरिया प्रवेश गर्ने पहिलो अमेरिकी राष्ट्रपति «

ट्रम्प उत्तर कोरिया प्रवेश गर्ने पहिलो अमेरिकी राष्ट्रपति

पान्मुन्जोम कोरिया- उत्तर कोरियाली नेता किम जोंग उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दुई कोरियाबीचको असैनिक क्षेत्रमा स्वागत गरेका छन् । अमेरिकी राष्ट्रपतिका रूपमा उत्तर कोरियाको भूमिमा पाइला टेक्ने ट्रम्प पहिलो भएका छन् ।

सन् १९५३ मा भएको कोरियाली युद्ध औपचारिक रूपमा नटुङ्गिएको अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पलाई उत्तर कोरियाली नेताका रूपमा स्वागत गर्नु आफैंमा ऐतिहासिक भएको छ । उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई समाप्त पार्न सहमति दिएपछि अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियाली नेतासँगको सम्बन्ध विस्तार गरेका थिए । यी दुई नेताले एक–अर्काका लागि पत्रको आदान प्रदान गरेका थिए ।
दक्षिण कोरियाली क्षेत्रको गाउँलाई स्वतन्त्र घर भनिएको छ । त्यहाँ उनीहरूको भेट भएको हो । किमसँगको भेटमा ट्रम्पले भने, “यो भूमिमा पाइला टेक्दा गौरव अनुभव भएको छ । यो संसारका लागि एक महान् दिन हो ।”
किमले पनि खुसी व्यक्त गर्दै भने, “विगतको दुर्भाग्यलाई समाप्त गरी नयाँ भविष्यको ढोका खोल्ने समयका रूपमा यो भेट भएको छ ।”
सिंगापुरमा पहिलो भेट भएयता धेरै सफलता भएको किमसँगको भेट हुनुअघि ट्रम्पले भनेका थिए । भियतनाम पछि यो दुई देशबीचको सम्बन्धमा मतभेद देखिएको थियो ।
ट्रम्पले भेटमा आफूले किमलाई अमेरिका भ्रमण गर्न निम्तो दिइरहेको बताए । किमले उचित समयमा उत्तर कोरियाली राजधानीको भ्रमण ट्रम्पले गरे त्यो आफूहरूका लागि सम्मानको विषय हुने अनुवादकमार्फत भन्न लगाएका थिए ।
सन् १९५३ मा कोरियाली युद्धयता पूर्वअमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले युद्धविराम लाइनको भ्रमण गरेका थिए । जर्ज एच डब्लू बुसले उपराष्ट्रपतिका रूपमा भ्रमण गरेका थिए ।
भिएतनाम शिखर वार्ता असफल भएपछि उत्तर कोरियाले कतिपय क्षेप्यास्त्रको प्रक्षेपण ग-यो । तर, अमेरिकी राष्ट्रपति ट्रम्पले त्यसलाई बेवास्ता गरेका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्प जापानको ओसाकामा सम्पन्न जी ट्वेन्टीको शिखर सम्मेलनमा भाग लिएर शनिबार अबेर दक्षिण कोरिया पुगेका थिए ।
दक्षिण कोरिया पुगेर उनले आफूहरू सीमाको असैनिक क्षेत्रमा भेट्न चाहेको ट्विटरमार्फत जनाएका थिए । यसको जवाफ उत्तर कोरियाली नेताहरूका तर्फबाट सकारात्मक रूपमा सार्वजनिक भएको केही घण्टामा दुवै नेता हात मिलाएर अपेक्षित भेटवार्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्