नोयडा अटो एक्सपोमा ५० भन्दा बढी विद्युतीय र हाइब्रिड सवारी आउने

नयाँदिल्ली । यसै साता भारतमा अटो एक्सपो २०१८ हुँदैछ । उक्त अटो एक्सपोमा नयाँ सवारी सार्वजनिक गर्नेमा भारतीयदेखि विभिन्न देशका सवारी उत्पादक कम्पनीहरूबीच होड नै चल्ने छ । ग्रेटर नोयडामा हुने अटो एक्सपोमा ५० भन्दा बढी इलेक्ट्रिक तथा हाइब्रिड कार सार्वजनिक हुने भएका छन् । यसले भारत सरकारले राखेको विद्युतीय सवारी अनिवार्य गर्ने लक्ष्यलाई राहत पुग्ने विश्वास गरिएको छ ।
विभिन्न कम्पनीले सार्वजनिक गर्ने सवारी सबै अहिले नै सडकमा देख्न पाइने छैन । अटो एक्सपोमा कन्सेप्ट, तथा सोकेसका लागि अधिकांश इलेक्ट्रोनिक तथा हाइब्रिड कार सार्वजनिक हुनेछन् । उक्त कारहरू अबको दुईदेखि ३ वर्षमा बजारमा आउने जनाइएको छ । कन्सेप्टका रूपमा आउन लागेका अधिकांश सवारीहरू भारतीय उपभोक्ताले खरिद गर्न सक्ने मूल्यमा आउने छन् । सरकारले सन् २०३० देखि विद्युतीय सवारीमात्र दर्ता गर्न पाइने नीति लिएकाले उक्त नीतिले सवारी उत्पादकहरूलाई थप सहजता प्रदान गरिने विश्वास गरिएको छ । बढ्दो प्रदूषण न्यूनिकण गर्न र कच्चा तेल आयात कम गर्न भारत सरकारले विद्युतीय सवारी अनिवार्य गर्न लागेको हो ।
अटो एक्सपोमा सवारी उत्पादक कम्पनीहरू मारुती सुजुकी, हुन्डाई, महिन्द्रा एन्ड महिन्द्रा, टाटा, टोयोटा, रेनो, बीएमडब्लू र मर्सिडिज–बेन्जले विद्युतीय सवारीको प्रविधि सार्वजनिक गर्ने भएका छन् । स्वीडेनको इलेक्ट्रिक मोविलिटी विज्ञ कम्पनी स्वीडिस युनिटी तथा दुईपांग्रेमा होन्डा मोटरसाइकल तथा स्कुटरले पनि अटो एक्सपोमा आफ्ना सवारी ल्याउने छन् । भारतीय सवारी उत्पादक कम्पनी मारुती सुजुकीले २०२० मा आफ्नो विद्युतीय कार बजारमा ल्याउने योजना बनाएको छ । उक्त योजना अनुरुप कम्पनीले यो वर्षको अटो एक्सपोमा कन्सेप्ट कार इ–सर्भाइभर सार्वजनिक गर्दैछ । मारुती सुजुकीले जापानमा सुजुकीले नेक्स्ट–जेनेरेसन हाइब्रिड प्रविधिको सोलियो पनि सार्वजनिक गर्ने भएको छ । मारुती सुजुकीले सवारीको विद्युतीकरणमा ध्यान दिइरहेको र नितान्त विद्युतीयमात्र नभई वैकल्पिक (हाइब्रिड) सवारीको विकासमा पनि केन्द्रीत रहेको मारुती सुजुकीका म्यानेजिङ डिरेक्टर किनिची आयुकावाले बताए । उपभोक्ताले कस्ता सवारी खोज्छन् भन्नेमा पनि ध्यान दिनुपर्ने भन्दै उनले भने, “विद्युतीय सवारी उत्पादनमा केन्द्रीत हुँदै नयाँ उत्पादन हुने सवारीबाट कसरी प्रदूषण कम गराउन सकिन्छ भन्नेतर्फ पनि हाम्रो ध्यान रहेको छ ।” कम्पनीले बजारमा सर्भे गर्ने र आवश्यकता अनुसार विद्युतीय सवारी उत्पादनका लागि साझेदारसँग समन्यव गरेर उत्पादन गर्ने उनले बताए ।
हुन्डाई मोटर इन्डियाले इओनिक रेन्जको विद्युतीय तथा हाइब्रिड सवारी सार्वजनिक गर्नेछ । हुन्डाईले मारुती सुजुकीले भन्दा एक वर्ष पहिले २०१९ मा विद्युतीय सवारी बजारमा ल्याउने भएको छ । हुन्डाई मोटरले भारतीय बजारमा विद्युतीय सवारीको स्वीकार्यता परिक्षण गर्न लागेको कम्पनीका म्यानेजिङ डिरेक्टर वाइके कूको भनाइ छ ।
महिन्द्रा एन्ड महिन्द्रा र टाटा मोटर्सले अटो एक्स्पोमा आधा दर्जन भन्दा बढी विद्युतीय सवारी सार्वजनिक गर्ने बताएका छन् । त्यस्तै टोयोटा किर्लोस्कर मोटर्सले एउटा विद्युतीय र दुई वटा हाइब्रिड, किया मोटर्सले पनि एउटा विद्युतीय र दुईवटा प्लग–इन हाइब्रिड गाडी ल्याउन लागेका छन् । फ्रान्सेली कार निर्माता कम्पनी रेनोले जेरो इ–स्पोर्ट, बीएमडब्लूले आइएट र आइथ्रीएस र मर्सिडिज बेन्जले इक्यू कन्सेप्ट कार सार्वजनिक गर्दैछन् । २०१६ मा भएको अटो एक्सपोमा महिन्द्राले मात्र विद्युतीय सवारीको प्रदर्शन गरेको थियो । तर २०१८ को संस्करणमा करिब सबैजसो सवारी उत्पादक कम्पनीहरूले विद्युतीय सवारी प्रदर्शनीका लागि राख्दै छन् ।
अबको समय विद्युतीय सवारीकै भएकाले कुनै पनि सवारी उत्पादकले त्यो अवसर छोड्न नसक्ने महिन्द्राका म्यानेजिङ डिरेक्टर पवन गोयन्काले बताए । पश्चिमा विश्वले उत्पादन गरेको विद्युतीय सवारी भारतीय सडकका लागि त्यति उपयोगी नहुने गोयन्काको भनाइ छ । पश्चिमी विद्युतीय सवारी उत्पादकहरूले ३ सय किलोमिटर रेन्जका सवारी बनाइरहेकाले त्यो सवारी भारतयि बजारका लागि त्यो उपयोगी नहुने उनले बताए ।