Logo

जडिबुटीमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ फार्म सञ्चालनमा

गोरखा-जडिबुटीमा देशलाई आत्मनिर्भर बनाउने उद्देश्यले गोरखा नगरपालिका–१४ देउरालीको गोर्बुङमा गोरखा अर्गानिक हर्बल फार्म सञ्चालन भएको छ । वन विभागका पूर्व सहसचिव डाक्टर खेमराज भट्टराईसहित मणिध्वज जोशी, रामहरि सुवेदी र भगवती मैनालीले फार्म नै सञ्चालन गरेर व्यावसायिक रूपमा जडिबुटी खेती सुरु गरेका हुन् ।
गोरखा जडिबुटी खेतीका लागि उपयुक्त ठाउँ भएकाले व्यावसायिक रूपमा खेती सुरु गरेको फार्मका सञ्चालक डाक्टर भट्टराईले बताए । “गोरखामा तराई, पहाड र हिमाली तीनै प्रकारको हावापानी छ,” उनले भने, “यहाँको वातावरण जडिबुटीका लागि उपयुक्त छ । यसैले हामीले आयात रोक्ने र यहाँ चाहिने जडिबुटी यही उत्पादन गर्ने सोचका साथ व्यवसाय सुरु गरेका हौं ।” एक वर्ष अघिबाट स्थापना भएको फार्मको डेढ सय रोपनी क्षेत्रफलमा ९० प्रकारका जडिबुटी खेती भएको छ । फार्ममा घिउकुमारी, लज्जावती झार, भृङ्गीराजदेखि विश्वमै सबैभन्दा बढी मूल्यमा बिक्री हुने अगार उडसम्मका जडिबुटी छन् ।
६८ प्रकारको एन्टी अक्सिडेन्टयुक्त वनस्पति मोरिङ्गा, अत्यधिक पोषकतत्व पाइने चियासिड, क्यान्सर किलरका रूपमा चिनिने सावर सप, माटोलाई मलिलो बनाइदिने करन्ज नामको जडिबुटी पनि फार्ममा छन् । यी जडिबुटी कम्तीमा ५ वर्षमा हुर्कने छन् । फार्ममा तुलसी, निम, अमला, दुधेझार, पुननर्वा, सिमली, पारिजात, अश्वगन्धा, दालचिनीलगायतका जडिबुटी पनि लगाइएको छ । एक वर्षको अबधिमा फार्ममा ४ करोड रुपैयाँ लगानी भैसकेको डाक्टर भट्टराईले बताए । “हामीले लगानीसँगै जडिबुटी खेती पनि विस्तार गर्दैछांंै,” उनले भने, “देउरालीकै मस्र्याङ्गदी किनारमा पनि भाडामा एक सय रोपनी जति जग्गा लिएर हावापानी सुहाउँदो जडिबुटी लगाउँदैछौं ।” गोरखा आयुर्वेद कम्पनीको सञ्चालक मध्येका एक समेत रहेका भट्टराईले आगामी पाचँ वर्षभित्र उद्योगलाई आवश्यक धेरै जडिबुटी फार्मबाट उपलब्ध गराउन सकिने विश्वास व्यक्त गरे । “अहिले उद्योगले सयभन्दा बढी आयुर्वेदिक औषधि बनाउँछ । तर जडिबुटीमा भारतको भर छ,” उनले भने, “केही वर्षमा उद्योगलाई चाहिने ९० प्रतिशत जडिबुटी फार्मबाट दिन सक्छौं । यसले आयात घट्छ भने जडिबुटीमा आत्मनिर्भरको बाटो खुल्छ ।”
सरकारले कृषिउपज सरह जडिबुटीलाई मान्यता नदिँदा बिक्री वितरणका लागि किसानलाई समस्या परेको उनले बताए । वन नियमावलीमा विद्यमान व्यवस्था संशोधन गरी जडिबुटीलाई पनि कृृषिउपज सरह मान्यता दिनुपर्ने उनको भनाइ छ । तथ्याकंअनुसार जडिबुटी आयातको तुलनामा निर्यात अत्यन्त कम रहेकाले जडिबुटी खेतीलाई प्रोत्साहन गर्ने निति आवश्यक रहेको उनले बताए । “गत वर्षकै तथ्यांक अनुसार ११ अर्ब ६५ करोडको जडिबुटी आयात र १ अर्ब ३४ करोडको जडिबुटी निर्यात भएको छ,” उनले भने, “केही नीतिगत व्यवस्था गरे आयात घटाउन सकिन्छ । जडिबुटी खेतीमा अनुदान, बिमा, मल, बीउलगायतका क्षेत्रमा सरकारले सहयोग गर्नुपर्छ ।” नेपालमा जडिबुटी खेतीसम्बन्धी पूर्ण जानकारी पाउने ठाउँ नरहेको उनले दुखेसो गरे । “जडिबुटीको बीउ कहाँ पाइन्छ भन्यो भने देखाउने ठाउँ पनि छैन,” उनले भने, “हामीलाई चाहिने धेरैजसो विरुवा भारतबाट ल्याएका छौं । माटो परीक्षण पनि सहज छैन ।”’ सरकारी अनुदान वास्तविक किसानको पहुँचमा नरहेको भन्दै उनले वास्तविक किसानलाई सहयोग गर्न तिन तहका सरकारले नै नीति बनाउनुपर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्