हावाहुरीले ८० प्रतिशत केराखेती सखाप «

हावाहुरीले ८० प्रतिशत केराखेती सखाप

करोडौं क्षति हुँदा पनि सरकारबाट कुनै सहयोग नपाएको गुनासो

धनगढी-कञ्चनपुरका किसान सुरेन्द्र चौधरीले चार बिघा जग्गामा केरा खेती गर्दै आएका छन् । उनले यस वर्ष सात हजार केराका बोट रोपेका थिए । तर जेठ २३ गतेको हावाहुरीले उनका ८० प्रतिशत केराका बोट पूर्ण रूपमा क्षति ग¥यो । उनले बचेका बोटबाट पनि केरा उत्पादन हुनेमा शंका रहेको बताए ।
कैलालीको गोदावरी नगरपालिका–६, बडेहामा १२ विघा जमिनमा केराखेती गरेका किसान लक्षिराम आचार्यले बारीमा १६ हजार बढी केराका बोट रोपेको थिए । ती मध्ये १४ हजार बोट हावाहुरीले ढालेर सखाप पा¥यो । आचार्यले हावाहुरीबाट करिब २५ लाख रुपैयाँ बराबरको क्षति बेहार्नुपरेको बताए ।
कैलालीका ८ सय ५० परिवार र कञ्चनपुरका ५ सय ५८ परिवारले व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन् । केरा फार्ममा प्रत्यक्ष रूपमा ८ सय ८३ जनाले रोजगारी पाइरहेका छन् भने केराको थोक तथा खुद्रा व्यवसायमा २ हजार ६ सय संलग्न छन् ।
गत जेठ २३ गते साँझको हावाहुरीले कैलाली र कञ्चनपुरका केराखेती क्षतविक्षत बनाएको छ । हावाहुरीबाट केराखेती नास भएपछि किसानले पटक–पटक क्षतिपूर्ति र राहतका लागि सम्बन्धित स्थानीय र प्रदेश सरकारसँग माग गरे, तर अहिलेसम्म कहीँकतैबाट कुनै सुनुवाइ भएको छैन ।
गत वर्ष पनि हावाहुरीका कारण दुई जिल्लाका केराखेती किसानले निकै क्षति बेहार्नुपरेको थियो । “प्रत्येक वर्ष केराखेतीमा प्राकृतिक प्रकोपका कारण ठूलो क्षति भइरहेको छ,” किसान आचार्यले भने, “तर किसान अझैं पनि क्षतिपूर्तिको प्रतिक्षामा छौं ।” उनले राहतका लागि प्रहरीले मुचुल्का उठाएर कागजपत्रसहित स्थानीय तहदेखि प्रदेशको विषयगत मन्त्रालयसम्म बुझाएको बताए । गत वर्ष राहत नपाएको स्मरण गर्दै आचार्यले भने, “यो वर्ष पनि राहत दिन्छ भन्ने आशा छैन ।”
केराखेती उत्पादक किसानका अनुसार हावाहुरीको क्षतिका कारण यस वर्ष केरा उत्पादनमा निकै ह्रास आउने देखिएको छ । कैलाली र कञ्चनपुरमा वार्षिक ४० हजार मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ । एकातिर कैलाली र कञ्चनपुरमा केराखेती गर्ने किसान भारतबाट आयात हुने केराका कारण हतोत्साहित रहँदै आएका छन् । त्यसैमा हावाहुरीले पु¥याएको क्षतिका कारण उनीहरू निकै विचलित भएका छन् ।
किसान सुरेन्द्रले सरकारले अहिलेसम्म केराखेतीमा भएको क्षतिबारे किसानलाई राहत प्रदान गर्न कुनै पहल नगरेको गुनासो गरे । “स्थानीय तहदेखि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसम्म क्षतिको विवरण बुझाएका छौं,” उनले भने, “तर अहिलेसम्म मन्त्रालयबाट आश्वासन मात्रै पाएका छौं ।”
गत वर्ष १८ लाख रुपैयाँ बराबरको केरा उत्पादन गरेका किसान सरकारले यस वर्ष ६ लाख रुपैयाँको पनि केरा उत्पादन नहुने देखिएको बताए । केराखेती गर्ने किसानका अनुसार कैलालीमा एक हजार र कञ्चनपुरमा पाँच सय गरी एक हजार पाँच सय हेक्टरमा केरा खेती हुने गरेको छ । गत जेठ २३ गतेको हावाहुरीका कारण करिब ८० प्रतिशत केराखेतीमा क्षति पुगेको केराखेती किसानहरूको अनुमान छ ।
हावाहुरीपछि सुदूरपश्चिम प्रदेश सरकारले बालीनाली तथा पशुपन्छीमा भएको क्षतिको विषयगत मन्त्रालयले मापदण्ड बनाएर कार्यान्वयन गर्नुपर्ने निर्णय गरेको थियो । कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी डा. विश्वेश्वरप्रसाद खनालले सुदूरपश्चिम मन्त्रिपरिषद्को निर्णयअनुसार मन्त्रालयले मस्यौदा तयार गरेर कानुन मन्त्रालयमा बुझाएको जानकारी दिए । उनले यससँगै मन्त्रालयले क्षतिको विवरण संकलन गरिरहेको बताए । उनले छिट्टै राहत वितरण गरिने समेत दाबी गरे ।

मुकेश चौधरी

प्रतिक्रिया दिनुहोस्