टर्कीमा अत्यावश्यक सामग्री पठाइने «

टर्कीमा अत्यावश्यक सामग्री पठाइने

टर्कीमा गएको विनासकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दशौं बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने बताए । उनले भने, “टर्की हाम्रो असल मित्रराष्ट्र हो । हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको हो । टर्की सरकारको दुःखमा हामीले पनि सहयोग गर्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौं ।”

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मालगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित थिए । बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ ।

टर्की र सिरियाको सीमा क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या बुधबार बेलुकासम्म ११ हजार नाघेको दुवै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । घाइतेको संख्या ४० हजारभन्दा बढी छ ।

यसैगरी, सिरियामा कम्तीमा १२ सय ५० जनाको मृत्यु हुनुका साथै दुई हजारभन्दा बढी घाइते भएका छन् । दुवै देशमा गरी मृत्यु हुनेको संख्या २० हजार पुग्ने अनुमान संयुक्त राष्ट्रसंघका अधिकारीहरुले गरेका छन् । धेरै देश र विश्वव्यापी सहायता एजेन्सीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार टोली र राहत सामग्रीहरू प्रदान गरिरहेका छन् ।

नेपाल पनि हालैमात्र भूकम्प भोगेको देश हो । २०७२ वैशाखमा गएको भूकम्पमा साढे ८ हजारभन्दा बढीको मृत्यु भएको थियो भने करिब २२ हजार घाइते भएका थिए । भूकम्पबाट आठ लाखभन्दा बढी निजी घर, साढे सात हजारभन्दा बढी सार्वजनिक विद्यालय, करिब १२ सय स्वास्थ्य संस्था, करिब ९ सय पुरातात्विक सम्पदा, ४ सय सरकारी भवन तथा सोही संख्यामा सुरक्षा निकायका भवनमा पूर्ण तथा आंशिक क्षति पुगेको थियो ।

भूकम्पलगत्तै विभिन्न देश तथा अन्तर्राष्ट्रिय दातृ निकायले उद्धार तथा राहतमा सहयोग गरेका थिए भने पुर्निर्माणका लागि पनि ठूलो रकम प्राप्त भएको थियो । यसकै कारण भूकम्पपछिको पुनर्निर्माण अपेक्षाकृत रुपमा छिटो सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्