वैदेशिक रोजगारीमा मृत्युदर घट्यो

विगत लामो समयदेखि उकालो लागेको वैदेशिक रोजगारीको मृत्यु र अंगभग दर चालू आर्थिक वर्षको पहिलो ६ महिनामा घटेको छ । जनचेतना र अभिमुखीकरण तालिम प्रभावकारी भएसँगै वैदेशिक रोजगारीका क्रममा हुने मृत्युदर घटेको हो ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य गरिएको पूर्वप्रस्थान अभिमुखीकरण कार्यक्रम प्रभावकारी बनाइएपछि मृत्युदर घटेको बताए ।
गत आर्थिक वर्षको साउनदेखि पुससम्म वैदेशिक रोजगारीका क्रममा ८१९ जना श्रमिकको मृत्यु भएको थियो भने १४४ श्रमिक अंगभंग भएका थिए । यो संख्या चालू आवको ६ महिनामा घटेको छ । चालू आवको साउनदेखि पुुससम्म ६१५ श्रमिकको मृत्यु भएको छ भने ११५ श्रमिक अंगभंग भएको बोर्डको तथ्यांक छ ।
मृत्यु र अंगभग हुने श्रमिकको संख्या घटेसँगै बोर्डले दिनुपर्ने अनिवार्य आर्थिक सहयोग रकमको भारसमेत घटेको छ । गत वर्षको सो अवधिमा बोर्डले मृत्यु र अंगभंग भएका श्रमिकको आर्थिक सहायताका लागि ४९ करोड २९ लाख रुपैयाँ खर्च गरेको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा भने आर्थिक सहायताका लागि ३५ करोड ४२ लाख रुपैयाँ वितरण गरेको छ ।
बोर्डले श्रमस्वीकृतिको समयभित्र विदेश वा स्वदेशमा मृत्यु भए मृतकका नजिकका हकवालालाई ७ लाख रुपैयाँ आर्थिक सहायता दिने गरेको छ । चालू आवको यो अवधिमा सबैभन्दा बढी मलेसियामा १२६, कतारमा १२२, यूएईमा १०७, साउदी अरबमा ८७ र अन्य देशमा १८५ जनाको मृत्यु भएको छ । यसैगरी अंगभंग हुनेको संख्या सबैभन्दा बढी साउदी अरबमा ३८, यूएईमा २३, कतारमा २२, मलेसियामा १६ र अन्य देशमा १६ जना छ ।
विदेशमा मृत्यु भएका तर सरकारबाट आर्थिक सहायता माग गर्ने मापदण्डमा नपरेको संख्या जोड्दा भने विदेशमा मृत्यु हुनेको संख्या केही बढी हुने विज्ञको भनाइ छ । गत आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा बढी नेपाली श्रमिकले विदेशी भूमिमा मृत्युवरण गरेको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदनअनुसार वैदेशिक रोजगारीको सिलसिलामा ४७ महिलासहित १ हजार ४७९ नेपाली श्रमिकको मृत्यु भएको थियो ।
विगत आवमा बिरामीका कारण ४६६, प्राकृतिक मृत्यु २३६, कोभिडबाट २१३, सडक दुर्घटनामा १३५ र हृदयघातबाट ९४ जनाको ज्यान गएको छ । सोही अवधिमा मृत्यु भएका ६१ जनाको कारण खुलेको छैन भने १०५ जनाले आत्महत्या गरेका छन् ।
कार्यस्थल दुर्घटनामा ५२ जना र अन्य कारणले ११७ जनाको मृत्यु भएको छ ।
यो अवधिमा सबैभन्दा बढी नेपाली श्रमिकको मृत्यु मलेसियामा ४११, साउदी अरबमा ३८९, कतारमा २९४, यूएईमा २०६, कुवेतमा ६५, कोरियामा १६ र अन्य देशमा ९८ जनाको भएको बोर्डले जनाएको छ । गत आवमा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका १ हजार ४३३ श्रमिकका आफन्तले ८३ करोड ६० लाख आर्थिक सहायता लिएका छन् ।
यसैगरी सोही शीर्षकमा आव २०७७/०७८ मा १ हजार २४२ श्रमिकका आफन्तले ८३ करोड ७७ लाख रुपैयाँ आर्थिक सहायता लिएका थिए । आव २०७६/०७७ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ६५६ श्रमिकका आफन्तले बोर्डबाट ७ लाख रुपैयाँको दरले ४१ लाख ८४ करोड आर्थिक सहायता लिएको तथ्यांक छ ।
सरकारको चासो रेमिटेन्स बढाउनेमा
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आवको ६ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार रेमिटेन्स आप्रवाह २४.३ प्रतिशतले वृद्धि भएको छ । सरकारले श्रमिकबाट प्राप्त रेमिटेन्स बढाउन विभिन्न योजना सार्वजनिक गर्दै आए पनि विदेशमा हुने श्रमिकको मृत्युदरलाई घटाउन भने कुनै योजना ल्याउन सकेको छैन ।
चालू आवको ६ महिनामा २४ प्रतिशत रेमिटेन्स वृद्धि भएर ५८५ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ । यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भई २ लाख ७५ हजार ६४३ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रमस्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २९८.१ प्रतिशतले बढेको थियो ।