वैदेशिक रोजगारी ठगीका उजुरी मन्त्रालयसम्म «

वैदेशिक रोजगारी ठगीका उजुरी मन्त्रालयसम्म

वैदेशिक रोजगारीका नाममा चरम ठगी हुन थालेपछि यसको गुनासो वैदेशिक रोजगार विभागमा मात्र नभई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा समेत पर्न थालेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढेसँगै यसका नाम हुने व्यक्तिगत र संस्थागत (मेनपावर) ठगी बढेपछि वैदेशिक रोजगार विभागमा गर्नुपर्ने उजुरी मन्त्रालयमा समेत पर्न थालेको हो । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले ठगीका उजुरी मन्त्रालयमा समेत गर्न थालेको जानकारी दिए ।

चालू आवको ६ महिनामा वैदेशिक रोजगारीको व्यक्तिगत ठगी उजुरी ३९ करोड रुपैयाँ पुगेको विभागले जनाएको छ । यो रकम गत वर्ष १९ करोड रुपैयाँ थियो । गत वर्ष पुससम्म ३३८ जना पीडितको उजुरी परेकोमा यो वर्षको सोही अवधिमा उजुरी संख्या ४८६ पुगेको छ । सरकारले वैदेशिक रोजगारीको प्रक्रियामा एजेन्ट राख्न नपाउने निर्णय गरेको भए पनि चालू आर्थिक वर्षको ६ महिनामा व्यक्तिगततर्फको ठगी लगभग २० करोड रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको पुससम्म वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३८ वटा व्यक्तिगत उजुरीमा साढे १९ करोड रुपैयाँबराबर ठगीको उजुरी परेको थियो ।

विभागले गत वर्ष ३८ वटा उजुरीविरुद्ध अदालतमा मुद्दा दायर गरेकोमा चालू आवमा यो संख्या ३३ रहेको छ । सरकारले स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गरी श्रम बजारमा प्रवेश गर्ने युवा जनशक्तिलाई रोजगारीको प्रत्याभूति दिने कुरालाई प्राथमिकता नदिँदा वैदेशिक रोजगारीका नाममा विकृति बढेको छ । श्रम बजारमा आपूर्ति भइरहेका जनशक्तिको तुलनामा आन्तरिक रोजगारीको पर्याप्त अवसर सिर्जना हुन नसकेका कारण वैदेशिक रोजगारी बाध्यात्मक हँुदा यसमा विकृति बढेको विज्ञको भनाइ छ ।

श्रम मन्त्रालयले वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन विभिन्न नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधारका कार्यहरु गरिरहेको जनाउँदै विभिन्न समयमा सूचना जारी गरे पनि ठगी भने नियन्त्रण हुन सकेको छैन । व्यक्तिगत तथा संस्थागत रुपमा वैदेशिक रोजगारीमा जान चाहने युवालाई विभिन्न व्यक्ति तथा संस्थाबाट विविध प्रकारका प्रलोभन देखाई ठगी गर्ने गरेको उजुरी, गुनासा आएको भन्दै सरकारले सचेत हुन आह्वान गरे पनि नियन्त्रणका उपाय भने गरेको देखिँदैन । मन्त्रालयले विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीमा गएकै सिलिसिलामा समेत नेपालीले नेपालीलाई र रोजगारदाताले नेपाली श्रमिकलाई ठगी गर्ने गरेको मन्त्रालयमा गुनासो तथा उजुरीहरु आएको जनाएको छ ।

ठगी बढेपछि मन्त्रालयले वैदेशिक रोजगारीमा जान चाहने जनशक्तिले कामको प्रकृति, आफूसँग भएको सीप, रोजगारदाताले उपलब्ध गराउने सुविधा एवं वैदेशिक रोजगारीमा जानका लागि लाग्ने शुल्क र वैदेशिक रोजगारीमा पठाउने इजाजत प्राप्त व्यवसायी, कम्पनीजस्ता आधारभूत विषयमा पूर्ण रुपमा जानकारी लिएर मात्र प्रक्रिया थालनी गर्न अनुरोध गरेको छ । मन्त्रालयले शुल्क बुझाउँदा व्यक्तिलाई नभई संस्थालाई बुझाई रकम बुझाएको प्रमाण अनिवार्य रुपमा लिन सूचना नै जारी गरेको छ । मन्त्रालयले जारी गरेको सूचनामा वैदेशिक रोजगारीमा पठाउन इजाजतप्राप्त व्यवसायीहरुबाट समेत कानुनी एवं नीतिगत व्यवस्थाको परिपालना गरी पेशागत इमान्दारिताका साथ काम गर्न अनुरोध गरिएको छ ।

व्यक्तिगत श्रमस्वीकृति मार्फत वैदेशिक रोजगारमा जान चाहने नागरिकले सरकारी राजस्व बाहेक कुनै पनि व्यक्ति वा संस्थालाई कुनै पनि प्रकारको शुल्क बुझाउनु नपर्ने भए पनि विभिन्न प्रलोभनमा पारी युवासँग पैसा असुल्ने गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्