जैविक मल तथा विसादी उत्पादन उद्योग अलपत्र

भेरी नगरपालिका–१३ कुदुमा निर्माण भएको जैविक मल तथा जैविक विसादी उत्पादन उद्योग अलपत्र परेको छ ।प्रदेश सरकारको ५० लाख र कर्णाली वायोइनर्जी एण्ड आर्गानिक फर्टिलाइजर प्रालिले ५० लाख रुपैयाँसहित निर्माण थालेको जैविक मल तथा जैविक विसादी उत्पादन उद्योग अलपत्र परेको हो ।
आर्थिक वर्ष २०७७/०७८ को कर्णाली प्रदेशको बजेटबाट उक्त संरचना निर्माण भए पनि त्यहाँ जैविक मल तथा जैविक विसादी उत्पादन गर्न भैंसीपालन गर्नुपर्ने भए पनि अहिलेसम्म सो काम हुन सकेको छैन । भेरी करिडोरका साथै मध्यपहाडी लोकमार्गको बीचमा रहेको उक्त ठाउँमा कर्णाली प्रदेश सरकारबाट अनुदान ल्याएर संरचना निर्माण गरेर अहिले अलपत्र अवस्थामा रहेको छ । भौतिक संरचनाभित्र भैंसीपालन गरेर जैविक मल उत्पादन गर्ने लक्ष्य बीचमै तुहिएको छ ।
प्रदेश सरकारले भेरी नगरपालिकामार्फत् उपलब्ध गराएको ५० लाख रुपैयाँमा काम कम गरेको भन्दै नगरपालिकाले ४२ लाख रुपैयाँमात्र भुक्तानी दिएको छ । बाँकी प्रालि आफैंले व्यवस्थापन गरेर भैंसीपालन गरी जैविक मल तथा विसादी उत्पादन गर्नुपर्ने लक्ष्य भए पनि अनुदानको रकममात्र प्रयोग गरेर बाँकी लगानी नै नगरी बीचमै छाडेको छ । लाखौं रकम राज्यको अनुदानको नाममा ल्याएर तोकिएको काम सम्पन्न नगरी बीचमै छोडदा आर्थिक हानी हुनुका साथै उद्देश्यसमेत पूरा नहुँदा समस्य हुने गरेको छ ।
अनुदानका लागि मात्र विभिन्न कम्पनी खोल्ने कामले श्रमजीवी कृषक मारमा परेका छन् । पहुँचको भरमा ल्याइएका यस्ता खालका अनुदानको अनुगमन तथा निरीक्षण गर्ने निकायसमेत मौन बस्नुले रकम झ्याम पार्ने परिपाटी मौलाएको कृषकहरूको भनाइ छ । संरचनाभित्र हप्ता दिनसम्म मात्र भैंसी राखेर रकम भुक्तानी गरेको प्रालिका नजिकै घर भएका स्थानीयबासी बताउँछन् । अहिले सो संरचनाभित्र केही पनि नभएको अवस्था छ । यत्ता भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले अनुदान लिने तर काम नगर्ने परिपार्टी मौलाउँदै गएको बताए । सधैं निगरानी गर्न सकिँदैन, हामीले जिम्मा लगाएपछि किसान आफैंले सक्रिया भएर कम गर्ने हो उनले भने ।