‘पर्यटन प्रवद्र्धनका गर्न व्यवहार परिवर्तन गर्नुपर्‍यो’ «

‘पर्यटन प्रवद्र्धनका गर्न व्यवहार परिवर्तन गर्नुपर्‍यो’

वीरगन्जलाई पर्यटकीय सहर बनाई पर्यटनको विकास प्रवद्र्धन गर्नका लागि राज्य र नागरिकको व्यवहारमा परिवर्तन आउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । पर्यटक प्रहरी र होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले संयुक्त रूपमा आयोजना गरेको ‘पर्यटन प्रवद्र्धन र पर्यटन सुरक्षामा सरोकारवालाको भूमिका’ विषयक अन्तरकृया कार्यक्रममा सहभागी वक्ताहरूले पर्यटन विकासमा पर्यटक सुरक्षाको भूमिका नै महत्वपूर्ण हुने भएकाले पर्यटकसँग गरिने व्यवहारमा परिवर्तन नआएसम्म पर्यटकको सुरक्षा नहुने र पर्यटनको विकास पनि हुन नसक्ने औंल्याएका थिए ।

कार्यक्रममा बोल्दै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगन्जलाई पर्यटकीय सहर बनाउन महानगर लागिपरेको बताए । उनले भारतीय पर्यटकलाई आकर्षण हुनेगरी महानगरले काम गरिरहेको जानकारी दिँदै त्यसमा सबैले साथ दिन आह्वानसमेत गरे । उनले भने, “वीरगन्जमा धेरै आउने भनेको भारतीय पर्यटक नै हो, यहाँका पर्यटन व्यवसायी पनि भारतीय पर्यटकको पर्खाइमै रहेका हुन्छन्, त्यसैले हामीले पनि भारतीय पर्यटक बढी भित्र्याउन भनेर निर्वाचित भएर आएसँगै भारतीय सवारीसँग लिने गरिएको सवारी कर हटाइदियौं ।”

भारतीय सवारीसँग लिने गरिएको कर हटाउँदा महानगरको वार्षिक ६ करोड आम्दानी गुमेको भए पनि भारतीय पर्यटकको आगमनले पर्यटन क्षेत्रसँग सम्बद्ध व्यवसायीको आम्दानी हुने र रोजगारीको सृजना गर्न ठूलो मद्दत पुग्ने बताए । वीरगन्जका होटलहरू भारतीय पर्यटकमै निर्भर हुनुपर्ने भएकाले यहाँका होटल तथा पर्यटन व्यवसायीले पर्यटकको सुरक्षाको विषयमा संवेदनशील हुनुपर्ने र पाहुनासँग गरिने व्यवहारमा प्रहरी प्रशासन र स्थानीले पनि सुधार ल्याउनुपर्ने बताए ।

महानगरले माइस्थान मन्दिर सौन्दर्यकरण गरेर धार्मिक पर्यटनको मार्ग खुलाउन खोजेको भन्दै उनले अब १५० वर्षभन्दा बढी पुरानो नृसिंह पिपरा मठको पुनर्निर्माणमा आफूहरू लागिपरेको पनि बताए । आउँदो चैतसम्ममा वीरगन्जको मुहार फेर्ने गरी काम गरिरहेको भन्दै त्यसका लागि सबैको साथ आवश्यकता रहेको बताए । वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल पटवारी (अग्रवाल) ले भारतीय पर्यटकहरू नेपाल आउने भए पनि दुई चार हजार रुपैयाँ लिएर नेपालमा खर्च गर्न आउँदासमेत सीमानाकामा प्रहरीले धरपकड गर्दा पर्यटक आउन नचाहेको बताए ।

पछिल्लो समयमा नेपाल भारतको म्यारिज डेस्टिनेसनको रूपमा पनि विस्तार हुँदै गएकाले वीरगन्जलाई भारतीयहरूको म्यारिज डेस्टिनेसनको रूपमा स्थापित गराउन यहाँ पूर्वाधार संरचनाहरूको साथसाथै सेवा सुविधाको पनि गुणस्तर राम्रो हुनुपर्नेमा जोड दिए । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले स्थानीय शान्ति सुरक्षाको व्यवस्थाका लागि प्रतिबद्ध रहेको बताउँदै पर्यटकीय गन्तव्यको विकास गर्नका लागि पर्यटन क्षेत्रमा आबद्ध व्यवसायीसँग सहकार्य र समन्वय गर्न तयार रहेको बताए । राज्यले निर्धारण गरेका मापदण्ड र कार्यविधिलाई प्रभावकारी कार्यान्वयन गराउन स्थानीय सरकार, नागरिक समाज र सुरक्षा प्रशासनको समन्वय आवश्यक रहेकोमा जोड दिए ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष तथा होटल व्यावसायी महासंघ नेपालका केन्द्रीय सचिव हरि पन्तले वीरगन्जमा पर्यटन व्यवसायको सम्भाव्यता भएर पनि यसलाई विकास र प्रवद्र्धनमा अपुग रहेको बताए । उनले वीरगन्जमा पर्यटकीय गन्तव्यहरूको विकास संवद्र्धनमा ध्यान नपुग्दा बाह्य पर्यटकलाई आकर्षित गर्न नसकिएको भन्दै यसमा स्थानीय, प्रदेश र संघ तीन तहको सरकारको ध्यान जान आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्