पूरक बजेट ल्याएर सुझाव «

पूरक बजेट ल्याएर सुझाव

अर्थविद्हरुले पूरक बजेट ल्याएर शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताएका छन् । मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै अर्थविज्ञहरुले वर्तमान सरकारले चलायमान अर्थतन्त्र बनाउनको लागि औचित्य पुष्टि हुनेगरी तत्काल पूरक बजेट ल्याउन आवश्यक रहेको सुझाव दिएका हुन् ।

उनीहरुले पछिल्लो समय बैंकिङ प्रणालीमा तरलताको अभाव तथा ब्याजदर उच्च वृद्धि भएकाले बजारमा तरलता सहज बनाउनको लागि पूरक बजेट जरुरी रहेको औंल्याएका छन् । अर्थविद्हरुले सरकारले ल्याएका नीतिगत प्राथमिकता र साझा न्युनतम कार्यक्रम प्रभावकारी कार्यान्यनकोे लागि भएपनि पूरक बजेट आवश्यक रहेको बताए । उनीहरुले अहिलेको बजेटमा सरकारका साझा न्युनतम कार्यक्रम समावेश नभएको भन्र्दै साझा कार्यक्रम कार्यान्वयन गर्नेगरी पूरक बजेट आवश्यक रहेको बताए ।

सरकारले बजारमा लगानीयोग्य रकम सहज बनाउन र अघिल्लो सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटलाई मध्यावधिक समिक्षामार्फत आर्थिक वृद्धिदर, मूल्यवृद्धिको लक्ष्यमा परिमार्जन गर्नुपर्ने बताए । उनीहरुले सरकारले पूरक बजेट ल्याएर पुँजीगत खर्च बढाएर तीव्ररुपमा काम गर्नसके आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन सक्ने बताए । अर्थविद् डा.डिल्लीराज खनालले अहिलको बजेटमा राखिएको राजस्व संकलनको लक्ष्य समेट भेटाउन मुस्किल रहेकाले सरकारले पूरक बजेट ल्याउन आवश्यक रहेको बताए ।

उनले सरकारले पूरक बजेटको नाममा जथाभावी,मनपरि ढंगले अर्को बेथिति निम्त्याउने र वित्तीय अराजकता सिर्जना गरेर थप समस्या बढ्न नदिने गरी अहिलेकै बजेट भित्र पुनःसंरचना गरेर पूरक बजेट ल्याउन आवश्यक रहेको तर्क गरे ।
खनालले सरकारले ल्याएको नीतिगत प्राथमिकता र साझा कार्यक्रम कार्यान्वयन गर्नेगरी पूरक बजेट ल्याउँदा मात्रै औचित्य पुष्टि गर्ने बताए । डा.खनालले बजेटमा राखिएको राजस्व संकलन लक्ष्य अनुसार २ खर्ब बढीले राजश्व भेटिन नसक्ने आँकलन रहेको बताए ।

“अर्थतन्त्रमा समस्या रहेकाले सरकारले खर्च कटौती गर्नु आवश्यक छ भने बजेटको आकार घटाउनुपर्छ । वर्तमान सरकारले नीतिगत प्राथमिकता र न्युनतम साझा कार्यक्रम ल्याएको छ” उनले भने, “साझा न्युनतम साझा कार्यक्रमलाई पूरा गर्ने गरी पूरक बजेट ल्याउनु आवश्यक छ ।” खर्च कटौति गर्न पनि पूरक बजेट आवश्यक रहेको भन्दै उनले वर्तमान सरकारले कानूनको शासन र त्यसभित्र सुशासन कायम गरी अहिलको बेथिति, विकृति, भ्रष्टाचारलाई ब्रेक थु्र गर्नेगरी सुशासनको परिपाटीलाई चुस्तदुरुस्त गर्नेगरी जानुपर्ने बताए ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालले सरकारले बजारमा लगानीयोग्य रकम बजारमा पठाउन अर्थमन्त्रीले पूरक बजेट ल्याउनुपर्ने बताए । पूरक बजेट नल्याए मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने भन्दै उनले वर्तमान सरकारले जसरी भएपनि बजारमा पैसा पठाउने काम गर्नुपर्ने देखिएकाले पूरक बजेट ल्याउन आवश्यक रहेको बताए । नेपालले अघिल्लो सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटलाई मध्यावधिक समिक्षा गरेर आर्थिक वृद्धिदर, मूल्यवृद्धिको लक्ष्यमा परिमार्जन गर्न आवश्यक रहेको औंल्याए ।

डा. नेपालले वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा ८ प्रतिशत आर्थिक वृद्धि हुने र मुद्रास्फिति लक्ष्य अनुसार कायम राख्ने अवस्था नदेखिएको तर्क गरे । उनले अहिले सरकारले अर्थतन्त्रलाई जबर्जस्ति दबाएर राखेको भन्दै बजारमा लगानीयोग्य रकम नभएर व्यवसायीहरुले चाहेर पनि लगानी गर्न नसकेको बताए । “सरकारले उद्योगी व्यवसायीहरुको मागहरु सुनेको देखिन्छ । सरकारले जसरी सकिन्छ बजारमा पैसा पठाउने काम गर्नुपर्छ” उनले भने, “सरकारले बजारमा लगानीयोग्य रकम बजारमा पठाउन अर्थमन्त्रीले पूरक बजेट ल्याउनुपर्छ । अघिल्लो सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटलाई मध्यावधिक समिक्षा गरेर आर्थिक वृद्धिदर,मूल्यवृद्धिको लक्ष्यमा परिमार्जन गर्नुपर्छ ।

वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा ८ प्रतिशत आर्थिक वृद्धि हुने अवस्था छैन ।” राष्ट्र बैंकले क्षमता अनुसार बजारमा लगानीयोग्य रकम पठाउने उपाय गरेपनि अपुग भएकाले सरकार सक्रिय हुन आवश्यक रहेको उनको भनाइ छ । सरकारले अनौपचारिक रुपमा हुने खर्च वृद्धि गर्न दिन नहुने भन्दै पूर्व गभर्नर नेपालले औपचारिक क्षेत्रमा पैसा नहुनु र अनौपचारिक क्षेत्रमा भएको पैसा बजारमा चलायमान हुनाले अनौपचारिक क्षेत्र खर्च बढ्दै गएको बताए । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले अर्थतन्त्रलाई चलायमान बनाउने मौका सरकारले चुकाउन नहुने बताए ।

उनले वर्तमान सरकार सबै राजनीतिक पार्टीको साथ रहेकाले प्रधानमन्त्रीले समेत अर्थतन्त्र बलियो बनाउने काममा बढी केन्द्रित हुन आवश्यक रहेको बताए । पूर्वगभर्नर क्षेत्रीले अघिल्लो सरकार हुँदासँग मुलुकको अर्थतन्त्र बिग्रियो, भत्किहाल्यो भन्ने गरिएपनि वर्तमान सरकार आएसँगै अर्थतन्त्रमा केही सकारात्मक सुधार देखिएको तर्क गरे । क्षेत्रीले सरकारले तीव्ररुपमा काम गर्नसके ८ प्रतिशत आर्थिक वृद्धि हुनसक्ने आँकलन गरे । पछिल्लो समय अर्थतन्त्रका मुख्य सूचक रेमिट्यान्स बढ्ने, व्यापार घाटा कम हुने र विदेशी मुद्रा सञ्चितीमा सुधार भएको उनको दावी छ ।

“यो अपूर्व मौकालाई प्रधानमन्त्रीले पनि चुकाउन दिनुहुँदैन उपयोग गर्नुपर्छ” उनले भने, अघिल्लो सरकार हुँदासँग मुलुकको अर्थतन्त्र बिग्रियो,भत्किहाल्यो भन्ने अवस्था थियो । अहिले सुधार भइरहेकाले सरकारले दिलो ज्यान दिएर भ्रष्टाचार न्युनिकरणका निम्ति शुन्य सहनशिलतामा सरकारले अगाडि बढ्नुपर्छ । सीमित स्रोत र साधनलाई अधिकतम प्रयोग गरी पुँजीगत खर्च कसरी खर्च बढाउने भनेर टास्क फोर्स बनाउनुपर्छ ।” तर, अर्थमन्त्री विष्णु पौडेल पूरक बजेट ल्याउने पक्षमा देखिएका छ्रैनन् । उनले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने दाबी गर्दै बजेट समीक्षामार्फत चालु खर्च अझै घटाउने संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्