बजारको आवश्यकता अनुसार कच्चा सुन दिन प्रतिवद्ध छौँ : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारको आवश्यकता अनुसार कच्चा सुन तथा चाँदी उपलब्ध गराउने व्यवस्था मिलाउन राष्ट्र बैंक प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलसँगको भेटपछि गभर्नर अधिकारीले बजारको आवश्यकता अनुसार सुनचाँदी जस्ता वस्तुको कच्चा पदार्थ उपलब्ध गराउने व्यवस्था गर्न राष्ट्र बैंक प्रतिवद्ध रहेको बताएका हुन् । भेटका क्रममा गभर्नर अधिकारीले व्यवसायीलाई बजारमा सुनचाँदीको विद्यमान अवस्था, माग र आपूर्ति व्यवस्था, सुनको वितरण प्रणाली, खपत, पुराना सुनको रिसाइक्लिङलगायत विषयमा जानकारी लिएका थिए ।
त्यसक्रममा उनले सुनको आयात, बिक्री वितरण प्रणाली, बैंकिङ कारोबार र त्यसक्रममा उत्पन्न हुने समस्या जस्ता विषयलाई आपसी छलफल र सर–सल्लाहका आधारमा सम्बन्धित निकायबाट नै निराकरण गर्न सकिने सुझाव दिए ।