पाँच वर्षमा १ खर्ब ३७ अर्बका मोबाइल आयात «

पाँच वर्षमा १ खर्ब ३७ अर्बका मोबाइल आयात

पछिल्लो पाँच वर्षमा मुलुकमा १ खर्ब ३७ अर्ब रुपैयाँबराबरको मोबाइल आयात भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार विगत ५ आर्थिक वर्षमा १ खर्ब ३७ अर्ब तथा प्रतिवर्ष करिब २७ अर्ब ४६ करोड रुपैयाँबराबरको मोबाइल आयात भएको हो ।

मोबाइल आयातबाट गत पाँच वर्षमा सरकारलाई २१ अर्ब ६४ करोड ८७ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ । प्रतिवर्ष औषत ४ अर्ब ३३ करोड राजस्व प्राप्त हुने गरेको प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्ष (२०७८/०७९) मा ५५ लाख ८६ हजार ५७८ थान मोबाइल सेट आयात भएको प्राधिकरणको तथ्यांक छ । चालू आर्थिक वर्षको प्रथम चौमासिकमा भने २६ लाख १ हजार ७८० मोबाइल सेट भन्सारबाट आयात भएका छन् । प्रतिमहिना औसतमा ६ लाख ५० हजार ४४५ मोबाइल सेट आयात भएको तथ्यांक रहे पनि मोबाइलको अवैध आयातको तथ्यांकसमेत डरलाग्दो रहेको यस क्षेत्रका व्यवसायीहरु बताउँछन् ।

मोबाइल आयातकर्ता संघ नेपालका अध्यक्ष दीपक मल्होत्राका अनुसार नेपालमा वार्षिक १२ देखि १५ अर्ब रुपैयाँसम्मको मोबाइल भन्सार राजस्व नबुझाई विभिन्न माध्यमबाट आयात भइरहेको अनुमान छ । वार्षिक करिब ४० अर्ब रुपैयाँ हाराहारीका मोबाइल आयात हुने गरे पनि भन्सार विभाग र प्राधिकरणको तथ्यांकमा २७ अर्बको मात्र आयात हुने गरेको उनको भनाइ छ ।

मोबाइलको अवैध आयात निरुत्साहित गर्न तथा चोरीपैठारी रोक्न ‘एमडीएमएस’ लागू भए पनि सर्वसाधारणको चर्को विरोधपछि सरकारले यो निर्णय फिर्ता लिएको छ । विदेशबाट फर्कने नेपालीलाई पनि निश्चित संख्यामा मात्र मोबाइल सेट ल्याउन पाउने व्यवस्थालाई खुकुलो बनाइएको छ । यसका कारण अवैध आयातले झनै प्रश्रय पाउने दाबी अध्यक्ष मल्होत्राको छ । “एमडीएमएस र भन्सारको व्यवस्थाले वैधानिक रुपमा व्यवसाय गर्नेलाई मात्र नभई सरकारलाई पनि राजस्वमा धेरै योगदान पुग्ने अवस्था थियो तर त्यसमा समेत अवरोध गरिएको छ,” उनले भने ।

दूरसञ्चार ऐन २०५३ को व्यवस्थाअनुसार प्राधिकरणले नेपाल भित्रने मोबाइल सेटको आईएमईआई नम्बर दर्ता गर्ने गर्छ । चालू आवको पहिलो चार महिनामा १४ लाख ५२ हजार ४५० मोबाइलको आईएमईआई दर्ता गरेको प्राधिकरणले गत आवमा १ करोड २४ लाख ९३ हजार ९२०, आव २०७७/०७८ मा १ करोड ९ लाख १६ हजार २५७ तथा आव २०७६/०७७ मा ७६ लाख १४ हजार १९५ आईएमईआई नम्बर दर्ता गरेको छ ।

प्राधिकरणका अनुसार प्रायः मोबाइलमा दुईवटा सिमकार्ड हुने भएकाले सोही तथ्यका आधारमा प्रतिमहिना दर्ता भएका आईएमईआई नम्बरको अनुपातमा अनुमानित मोबाइलको संख्या निकाल्ने गरिएको छ । दूरसञ्चार सेवा तथा दूरसञ्चारसम्बन्धी यन्त्र तथा उपकरणहरुको स्तर तोक्ने, गुणस्तर निर्धारण गर्ने तथा स्वीकृत गर्ने काम नेपाल दूरसञ्चार प्राधिकरणको हो । जसअनुसार प्राधिकरणबाट टाइप एप्रुभलसम्बन्धी व्यवस्था जारी भएको छ । यसैले मोबाइल सेटको आयात तथा बिक्री गर्नुपूर्व प्राधिकरणबाट अनिवार्य रुपमा टाइप एप्रुभल प्रमाणपत्र लिनुपर्ने प्रावधान रहेको छ ।

एनसेल नेटवर्कमा बढी सेट
प्राधिकरणका अनुसार नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)को नेटवर्कमा १ करोड ५७ लाख ८४ हजार ७२३ मोबाइल सेट सक्रिय रहेको पाइएको छ । मोबाइलको ब्रान्ड मोडल तथा उत्पादक कम्पनीको आधारमा मुख्य गरी ५२ प्रकारका मोबाइल ह्याण्डसेट टेलिकममा रहेको देखिन्छ । यस्तै, एनसेल प्रालिले उपलब्ध गराएको विवरणअनुसार उक्त सेवाप्रदायकको नेटवर्कमा देखिएको कुल मोबाइल सेट संख्या १ करोड ७० लाख ३९ हजार ३५ रहेको छ ।

जसमध्ये २८.३१ प्रतिशत बारफोन र ६९.७३ प्रतिशत स्मार्टफोन रहेका छन् भने मोबाइलका ब्रान्ड, मोडल तथा उत्पादक कम्पनीको आधारमा मुख्य गरी ५१ प्रकारका मोबाइल ह्याण्डसेट एनसेलमा रहेको देखिन्छ । स्मार्ट टेलिकम प्रालिमा भने ८ लाख ७८ हजार ८२५ मोबाइल सेट सक्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्