आधा वर्षमा ७६ अर्ब बढ्यो डलर सञ्चिति

केही समय अघिदेखि समस्यामा रहेको वित्तीय क्षेत्रमा क्रमशः सुधार देखिन थालेको छ । मुलुकको केन्द्रीय बैंकले सोमबार प्रकाशित गरेको चालू आवको ६ महिनाको तथ्यांकले वित्तीय क्षेत्र क्रमशः सुधार हुँदै गएको देखाएको हो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पुस महिनासम्ममा विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा ८ प्रतिशतले बढेको छ । डलरमा यस्तो सञ्चिति १० अर्ब ३० करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । गत असारमा डलरमा सञ्चिति ९ अर्ब ५४ करोड रहेकोमा पुससम्ममा ८ प्रतिशतले बढेको छ ।
यस्तै, नेपाली रुपैयाँमा पनि विदेशी विनिमय सञ्चिति १० प्रतिशतले बढेको छ । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चालू आवको पुस मसान्तसम्ममा १३ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९÷०८० को ६ महिनाको आयातलाई आधार मान्दा अहिले उपलब्ध विदेशी विनिमय सञ्चितिले ९.१ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको देखिन्छ । यस्तै, १०.४ महिनाको वस्तु आयात धान्न सो सञ्चिति पर्याप्त रहने राष्ट्र बैंकको भनाइ छ । गत मंसिरमा उपलब्ध डलर सञ्चिति ८.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त थियो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा पुस मसान्तमा ११ खर्ब ८३ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । गत असार मसान्तको तुलनामा अहिले १२ प्रतिशत बढी डलर सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ । गत असार मसान्तमा राष्ट्र बैंकसँग यस्तो सञ्चिति १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो ।
यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग पुस मसान्तमा १ खर्ब ५३ अर्ब ९१ करोड रुपैयाँ डलर सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ । असार मसान्तमा बैंकहरूसँग १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ डलर सञ्चिति रहेकोमा अहिले ३.४ प्रतिशतले घट्न गएको हो ।
चालू आवको पुससम्म आइपुग्दा शोधनान्तर स्थितिमा पनि क्रमशः सुधार देखिएको छ । पुस मसान्तमा शोधनान्तर स्थिति ९७ अर्ब १० करोड रुपैयाँले बचतमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधानान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोड रुपैयाँले घाटामा थियो ।
राष्ट्र बैंकका अनुसार पुस मसान्तमा अमेरिकी डलरमा शोधानान्तर ७३ करोड ४४ लाखले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधानान्तर स्थिति २ अर्ब २ करोड रुपैयाँले घाटामा थियो ।
गत वर्षको पुस मसान्तको तुलनामा चालू आवको पुस मसान्तमा रेमिटेन्समा पनि उल्लेख्य वृद्धि देखिएको छ । गत आवको पुस मसान्तमा ५ प्रतिशतले घटेको रेमिटेन्स चालू आवको पुस मसान्तमा २४.३ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार पुस मसान्तमा रेमिटेन्स ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ भित्रिएको हो । अमेरिकी डलरमा पनि रेमिटेन्स १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।
चालू आवको पुस मसान्तमा सरकारको चालू खाता ३७ अर्ब ९१ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २ खर्ब ९८ अर्ब ५१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालू खाता चालू आवको पुस मसान्तमा २९ करोड ७२ लाखले घाटामा रहेको छ ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले राष्ट्र बैंकले लिएको नीतिगत व्यवस्थाहरूका कारण अहिले डलर सञ्चिति सुविधाजनक अवस्थामा रहेको बताए । कारोबार दैनिकसँग उनले भने, “राष्ट्र बैंकको नीतिगत व्यवस्थाहरूका कारण वित्तीय क्षेत्र क्रमशः सुधार हुँदै गइरहेको छ ।”
चालू आवको पुस मसान्तसम्ममा आयातमा उल्लेख्य नियन्त्रण भएका कारण डलर सञ्चिति सुविधाजनक अवस्थामा रहेको उनले बताए । राष्ट्र बैंकका अनुसार चालू आवको पुस मसान्तमा कुल वस्तु आयात २०.७ प्रतिशतले कमी आई ७ खर्ब ९२ अर्ब ६७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५१.१ प्रतिशतले बढेको थियो । आयात नियन्त्रण गर्दा डलर सञ्चिति सहज हुन पुगेको प्रवक्ता भट्टले बताए ।
उनका अनुसार चालू आवको पुस मसान्तसम्ममा मुलुकमा रेमिटेन्स पनि उल्लेख्य मात्रामा भित्रँदा डलर सञ्चितिमा सहज भएको हो ।
उनले भने, “भोलि आर्थिक गतिविधि थप विस्तार हुँदै गर्दा आयात बढ्न सक्छ, आयात बढ्दै जाँदा डलर सञ्चितिमा फेरि दबाब हुन सक्छ, यसप्रति हामी सजग रहनुपर्ने हुन्छ ।” उनले समग्र अर्थतन्त्रको दिगो व्यवस्थापनका लागि आन्तरिक उत्पादन वृद्धितर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।
केही समयका लागि सहज अवस्था
राष्ट्र बैंकले समयमै नीतिगत व्यवस्थाहरू गर्न सकेका कारण वित्तीय क्षेत्रमा क्रमशः सुधार हुँदै गएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ बताउँछन् । उनले उच्च ब्याजदरका कारण कर्जा प्रवाह कम भएको र त्यसले आयात नियन्त्रित गर्न सहज बनाएको भन्दै त्यसको प्रभाव अहिले वित्तीय क्षेत्रमा देखिएको उल्लेख गरे ।
“पछिल्लो समय विप्रेषण आप्रवाह पनि राम्रो रहेको देखिन्छ, यसकारण पनि मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको हो,” कार्यकारी निर्देशक श्रेष्ठले भने । वित्तीय क्षेत्रको यो सुधार अझै केही समय रहने बताउँदै उनले भने, “अहिलेको अवस्था रहिरहे अबको ६ महिना अर्थात् यो आवसम्म अर्थतन्त्र सन्तोषजनक अवस्थामा रहने देखिन्छ ।”