नेपाल र जापान सम्बन्धमा कोशेढुङ्गा

नेपाल र जापानबीचको सम्बन्धको इतिहास छोटो छैन । भनिन्छ, दुई मुलुकबीचको सम्बन्ध १८ औं शताब्दीबाटै सुरु भएको थियोे । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध गाँसिएको भने ६० वर्ष पुग्न थालेको छ । कूटनीतिक सम्बन्ध गाँसिएको ५० वर्ष पुगेको उपलक्ष्यमा सन् २०१६ मा दुई मुलुकले ‘डायमन जुवली’ मनाएका थिए ।
सन् १९५६ मा स्थापित दुई मुलुकबीचको सम्बन्ध अहिलेसम्म सुमधुर बनिरहनुमा धेरै बहुआयामिक पक्षहरू जोडिएका छन् । समयक्रमसँगै दुई मुुलुकबीचको सम्बन्ध निकै प्रगाढ बन्दै आएको छ । नेपालको राजनीतिक, सामाजिक र आर्थिक (पोलिटिकल, सोसल र इकोनोमिक) विकासमा जापानले महत्वपूर्ण सहयोग दिँदै आएको छ । विश्वका विभिन्न मित्रराष्ट्रमध्ये जापान हाम्रो घनिष्ठ मित्रता भएको मुलुक हो ।
करिब ६ दशक लामो सम्बन्धमा धेरै पटक उच्चस्तरीय भ्रमणहरू भएका छन् । यस्ता भ्रमणले आपसी सम्बन्धलाई झनै प्रगाढ बनाउन भूमिका खेलेका छन् । दुई मुलुकबीच विभिन्न किसिमका सहयोग आदानप्रदानका लागि सम्झौताहरू पनि भएका छन् । यस्ता सम्झौताबाट नेपालले धेरै फाइदा लिन सकेको छ ।
जापान हाम्रो मित्रराष्ट्र मात्र होइन, नेपालको विकासको साझेदार पनि हो ।
जापानले प्रत्येक वर्ष नेपाललाई विभिन्न किसिमका अनुदान, सस्तो ब्याजदरमा ऋण, प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । २०१५ मा आएको महाभूकम्प र यसको पुनर्निर्माणका लागि मात्र जापानले २६ बिलियन रकम सहयोग गरेको थियो । नेपालले जापानकै सहयोगमा पहिलो पटक राजधानी उपत्यकामा सुरुङमार्ग बनाइरहेको छ । पूर्वाधारसँगै जापानले नेपालको जनशक्ति विकास, कृषिक्षेत्रको विकास, स्वास्थ्य र वातावरण संरक्षणलगायतमा पनि सहयोग गर्दै आएको छ । वैदेशिक व्यापारका क्षेत्रमा पनि दुई मुलुकबीच महत्वपूर्ण साझेदारी हुँदै आएको छ ।
जापानका केही उद्योगी–व्यवसायीहरूले यहाँका विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् । जापानबाट प्रत्येक वर्ष प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आउने गरेको तथ्यांक छ । जापानले केही वर्ष अगाडिदेखि विभिन्न माध्यमबाट नेपाली युवायुवतीलाई रोजगारी दिएको छ भने केही नेपाली नागरिक जापानका विभिन्न पेसा–व्यवसायमा संलग्न पनि छन् ।
दुई मुलुकबीच राम्रो सम्बन्ध प्रगाढ बनाउन दुवै मुलुकका उच्च पदाधिकारीहरूको बेला–बेलामा हुने भ्रमण र छलफलले सहयोग पुर्याउँदै आएको छ । पछिल्लो पटक पूर्वपरराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सन् २०१८ मा जापानको भ्रमण गरेका थिए भने जापानका परराष्ट्र मन्त्री तारा कोनो २०१९ मा नेपालको भ्रमणमा आएका थिए । उच्चपदस्थ पदाधिकारीहरूको यस्तै भ्रमणको सिलसिलामा गत पुस अन्तिम साता जापानको सत्तारुढ दल ‘लिबरल डेमोक्रेटिक’ का सांसद तथा पूर्वराज्यमन्त्री ताइरा मासाकीसहितको टोलीले नेपालको तीनदिने भ्रमण गरेको थियो ।
उक्त भ्रमणका क्रममा टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली तथा माधव नेपालसहित अन्य व्यक्तिहरूसँग भेट गरेको थियो । भेटमा दुई मुलुकबीचको सम्बन्ध, जापानले नेपालको सामाजिक–आर्थिक पक्षमा गर्दै आएको सहयोग र आगामी दिनमा गर्न सक्ने सहयोगका बारेमा छलफल भएको थियो । जापानी सांसद मासाकीको यो भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई झन् मजबुत बनाउन सहयोग पुर्याएको छ ।
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष, संरक्षक तथा टीबीआई पब्लिकेसन्सका अध्यक्ष भवन भट्टको निमन्त्रणमा यो जापानी टोली नेपाल आएको हो । जापानी टोलीको राजनीतिक नेताहरूसँगको भेटमा अध्यक्ष भट्टले नेपाल र जापानको ऐतिहासिक सम्बन्ध, यसबाट दुवै मुलुकले पाइरहेको सहयोगलगायतका विषयमा जानकारी गराएका थिए । जापानका विभिन्न क्षेत्रमा लगानी गर्दै आएका अध्यक्ष भट्टले दुई मुलुकबीचको लामो सम्बन्धलाई आगामी दिनमा विकासको साझेदारका रूपमा विकास गर्न सके नेपालले झनै फाइदा लिन सक्ने धारणा राखेका थिए ।
मासाकी टोलीको प्रधानमन्त्री दाहालसँग भेट

जापानको सत्तारुढ पार्टी ‘लिबरल डेमोक्रेटिक’ का सांसद तथा पूर्वराज्यमन्त्री ताइरा मासाकीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको थियो । नेपाल–जापान सम्बन्धलाई अझै फराकिलो बनाउने उद्देश्यले पुस २७ मा नेपाल आएको तीन सदस्यीय टोलीले प्रधानमन्त्री दाहालसँगको भेटमा विभिन्न विषयमा छलफल भएको थियो ।
त्यस अवसरमा प्रधानमन्त्री दाहालले जापान नेपालको सबैभन्दा पुरानो मित्र रहेको बताउँदै नेपालको आर्थिक–सामाजिक विकासमा जापानले निरन्तर रूपमा सहयोग गर्दै आएकोमा धन्यवाद दिएका थिए । जापान सरकारसँगै जाइकालगायतका संस्थाबाट नेपालले धेरै सहयोग पाएको उनको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले नेपाल अहिले विकासको चरणमा प्रवेश गरेको छ भन्दै आगामी दिनमा पनि जापानको सहयोग धेरै महत्वपूर्ण हुने बताए । नेपालमा लगानीका लागि अनुकूल वातावरण बनाइएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले जापानी व्यवसायीलाई नेपालमा लगानी गर्न आउने गरी वातावरण तयार गरिदिन आग्रह गरे ।
गत वर्ष आफूले जापानको भ्रमण गर्दा कृषि, विज्ञान र प्रविधिको क्षेत्रमा जापानले गरेको विकासबाट निकै प्रभावित बनेको भन्दै दाहालले नेपालमा पनि यस्तै सीप र प्रविधिको विकास गर्न चाहेको बताए । जापानमा वैज्ञानिक रूपमा गरिएको कृषि खेतीबाट आफू निकै प्रभावित बनेको दाहालको भनाइ थियो ।
यस्तै दाहालले जापानले नेपाली नागरिकलाई विभिन्न क्षेत्रमा काम गर्ने मौका दिइरहेको र आगामी दिनमा यो संख्या बढाउने गरी सहयोग गर्न आग्रह गरेका थिए । सांसद मासाकीले जापानको सरकारमा आईटी, मेनपावर, स्पेसलगायतका क्षेत्र हेर्ने जिम्मेवारी पाएका छन् । यही जिम्मेवारी देखेर प्रधानमन्त्री दाहालले उनलाई नेपालको मेनपावर धेरै लैजाने व्यवस्था गर्न आग्रह गरेका हुन् ।
सांसद मासाकीले माओवादी पार्टी र यसको झुकाव चीनतर्फ रहेको बारेमा राखेको जिज्ञासामा प्रधानमन्त्री दाहालले आफ्नो पार्टी पूर्ण रूपमा प्रजातन्त्रमा विश्वास राख्ने भएको जानकारी दिए । “म आफंै चार पटक निर्वाचन लडेर आएको व्यक्ति हुँ,” प्रधानमन्त्री दाहालले भने, “हाम्रो पार्टी न प्रो–चाइना हो, न त प्रो–इन्डिया नै । हामी प्रो–नेपाली मात्र हौं ।” प्रधानमन्त्री दाहालले आफूले ९९ प्रतिशतभन्दा बढी सांसदबाट विश्वासको मत पाएर प्रधानमन्त्री बनेको जानकारी दिँदै आफूलाई जापानबाट पनि पूरापूर सहयोगको अपेक्षा राखेका थिए ।
त्यस अवसरमा सांसद मासाकीले नेपालमा जलस्रोत, पर्यटनलगायतका क्षेत्रमा लगानी आउन सक्ने आफूले देखेको जानकारी गराएका थिए । उनले आगामी दिनमा ग्रिन इनर्जीमा जानुको विकल्प नभएको भन्दै यसका लागि नेपाललाई जापानले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नेपाली कांग्रेस सभापति देउवासँग भेट

नेपाल भ्रमणमा आएको जापानी टोलीले संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरेको थियो । त्यस अवसरमा पार्टी सभापति देउवाले जापानले नेपालको विकासमा लामो समयदेखि निरन्तर सहयोग गर्दै आएकामा धन्यवाद दिएका थिए ।
देउवाले बजेटरी सहयोगका अतिरिक्त कोभिड, भूकम्प, बाढीपहिरोलगायतका दैवी प्रकोपका घटनामा पनि जापानले मन खोलेर सहयोग गर्दै आएकामा मुलुक र आफू आभारी भएको बताएका थिए ।
सभापति देउवाले पछिल्ला वर्षहरूमा बिग्रँदो वातावरणीय प्रभावका कारण विश्वका विभिन्न स्थानमा समस्या देखिन सुरु गरेको र नेपालमा पनि समस्या आइरहेको भन्दै यी समस्या न्यूनीकरणमा जापानको सहयोग आवश्यक रहेको बताए ।
त्यस अवसरमा जापानी सांसद मासाकीले आफूले नेपालमा जलस्रोतको विकासको उच्च सम्भावना देखेको भन्दै जापानको आर्थिक र प्राविधिक सहयोगमा यस क्षेत्रको विकास गर्नुपर्ने बताएका थिए । नेपालमा उत्पादित बिजुली भारत र बंगलादेशमा निर्यात गर्न सके नेपाललाई फाइदा पुग्ने मासाकीको धारणा थियो ।
एमाले अध्यक्ष ओलीसँग भेट

जापानको सत्तारुढ पार्टी ‘लिबरल डेमोक्रेटिक’ का सांसद तथा पूर्वराज्यमन्त्री ताइरा मासाकीसहितको टोलीले नेपालका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको छ । नेपाल–जापान सम्बन्धलाई अझै दरिलो बनाउने उद्देश्यले पुस अन्तिम साता नेपाल आएको टोलीले ओलीसँग भेट गरी विभिन्न विषयमा छलफल गरेको हो ।
भेटमा सांसद तथा पूर्वराज्यमन्त्री मासाकीले दुई मुलुकबीच आर्थिक साझेदारीसहितको सम्बन्धलाई झनै बलियो बनाउनुपर्नेमा जोड दिएका थिए । नेपालमा पर्यटन, जलस्रोतलगायतका क्षेत्रको विकासका लागि लगानी गर्ने उच्च सम्भावना रहेको आफूले पाएको पनि त्यस अवसरमा उनले बताएका थिए । पछिल्ला वर्षहरूमा जापानमा जनसंख्या वृद्धिदर घटिरहेको बताउँदै जापानी प्रतिनिधिसभाका सांसद मासाकीले जापानमा दक्ष जनशक्तिको माग रहेको जानकारी दिए । “अहिले केही नेपाली नागरिकले जापानमा काम गरिरहेको अवस्था छ ।
आगामी दिनमा नेपालबाट दक्ष जनशक्तिलाई पनि काम गर्न जाने मौका छ,” उनले भने । मासाकीले जापानमा नेपाली कामदार र दक्ष जनशक्ति भित्याउन आफूले संसद्मा आवाज उठाउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
सत्ता गठबन्धनको सबैभन्दा बलियो साझेदार नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले आफू जापान जाँदा त्यहाँ देखेको विकास, समृद्धि र संस्कृतिका बारेमा स्मरण गरेका थिए ।
अध्यक्ष ओलीले नेपालको कृषि, जलस्रोत, पर्यटनलगायतका पूर्वाधार विकासका लागि जापानले धेरै सहयोग गरेको भन्दै सराहना प्रकट गरेका थिए । “नेपालका विकास साझेदारहरूमध्ये बिनासर्त सहयोग गर्ने मुलुकहरू धेरै कम छन्,” अध्यक्ष ओलीले भने, “त्यसमध्ये कुनै पनि सर्त नराखेर सहयोग गर्दै आएको मुलुक जापान हो । म यसका लागि धेरै धन्यवाद दिन चाहन्छु ।” अध्यक्ष ओलीले नेपाल अहिले विकास र समृद्धिको बाटोमा लागेको र यसका लागि धेरै वित्तीय स्रोतको आवश्यकता पर्ने हुँदा विगतमा जस्तै आगामी दिनमा पनि जापानले सहयोग जारी राख्नेमा आफू आशावादी भएको बताए ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेट

नेपाल भ्रमणमा रहेको जापानी टोलीसँगको भेटमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नवीनतम प्रविधि र सीपका लागि जापान संसारमा नै सबैभन्दा माथि रहेको भन्दै यस्तो प्रविधि र सीप नेपालमा पनि भित्याउनुपर्नेमा जोड दिएका थिए । अध्यक्ष नेपालले दुई मुलुकबीचको राजनीतिक, सामाजिक र आर्थिक सम्बन्ध धेरै पुरानो र मजबुत रहेको भन्दै आगामी दिनमा पनि यसलाई कायम राख्न यस्ता भेटघाट महत्वपूर्ण हुने बताएका थिए ।
अर्थमन्त्री पौडलसँग भेट

नेपाल भ्रमणमा आएको सांसद मासाकीको टोलीले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी विभिन्न विषयमा छलफल गरेको थियो । उक्त भेटमा मासाकीले नेपालको छिमेकी मुलुक भारतले विभिन्न परियोजनाका लागि जापानबाट सस्तो ब्याजदरमा ऋण सहयोग लिएको जानकारी दिएका थिए ।
उनले जापानबाट यस्तो ऋण लिनका लागि पहल गर्न नेपाललाई आग्रह गरेका थिए । त्यस अवसरमा अर्थमन्त्री पौडेलले विकास आयोजनाहरूमा स्रोत अभाव रहेको जानकारी दिँदै जापानको सस्तो दरको ऋण सहयोग लिन आफूले तत्काल पहल गर्ने बताएका थिए ।
यस्तै अर्थमन्त्री पौडेलले नेपालमा विदेशी लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउने जानकारी दिँदै जापानका लगानीकर्तालाई यहाँ ल्याउन सहयोग गर्न आग्रह गरेका थिए ।
भ्रमणले सार्थकता पाएको छ

नेपाल र जापानको सम्बन्ध धेरै पुरानो हो । दुवै मुलुकबीच कूटनीतिक सम्बन्ध गाँसिएको पनि आधा शताब्दीभन्दा धेरै भइसकेको छ । यसबीचमा भएका उच्चस्तरीय भ्रमण र छलफलले सम्बन्धलाई मजबुत बनाउन भूमिका खेल्दै आएको छ । यही क्रममा जापानका पूर्वराज्यमन्त्री तथा सत्तारुढ दलका सांसद ताइरा मासाकीसहितको एक उच्चस्तरीय टोलीले नेपालको भ्रमण गरेको छ ।
गत पुस अन्तिम साता आएको यो टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा समाजवादीका अध्यक्ष माधव नेपालसहितका उच्च तहका नेता तथा अन्य व्यक्तिहरूसँग भेटघाट र छलफल गरेको थियो ।
केही वर्षअघि प्रधानमन्त्री दाहालले जापानको भ्रमण गर्दा सांसद ताइराले सहजीकरण गरेका थिए । त्यस बेलादेखि नै दुवैबीच राम्रो सम्बन्ध रहेकाले अहिलेको भेटमा खुलेर छलफल भएको छ । त्यस क्रममा नेपालमा जापानी लगानी र नीतिगत विषयमा छलफल गरिएको छ । भ्रमणको मुख्य उद्देश्य नेपाल र जापानको अर्थव्यवस्थालाई कसरी जोड्ने भन्ने विषयमा केन्द्रित थियो । अहिले पनि जापानले खर्बौं डलरबराबरको लगानी भारतमा गरिरहेको छ । भारतको अहिलेको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विकास साझेदार जापान हो ।
यही कारण भारतले जापानलाई राम्रो कूटनीतिक सम्मानसमेत दिने गरेको छ । जापानले भारतमा गरेको जस्तो लगानी र सहयोग नेपालमा पनि ल्याउन सकिने सम्भावनामा यो भ्रमण फलदायी बनेको छ । भ्रमणले दुई देशको आर्थिक विषयलाई जोड्न ठूलो भूमिका खेलेको छ । नेपालका प्रधानमन्त्रीको जापानमा स्टेट भिजिट गराउने लक्ष्य पनि छ । हालसम्म नेपालका कुनै पनि प्रधानमन्त्रीको राजकीय भ्रमण नभएको अवस्थाले आगामी भ्रमण तय गर्ने योजना छ ।
जापानले अहिलेसम्म कुलेखानी हाइड्रोपावरदेखि अन्तर्राष्ट्रिय विमानस्थल, टेलिकम, सडक तथा सुरुङमार्ग र जिल्ला–जिल्लामा जाइकामार्फत विद्यालयहरूमा लगानी भएको छ । यति धेरै क्षेत्रमा नेपाललाई सहयोग गर्दै आएको जापानलाई धन्यवाद भन्नसमेत नेपालको उच्चस्तरीय भ्रमण गएको अवस्था छैन ।
जापानी टोलीमा पूर्वराज्यमन्त्रीका साथै हालको त्यहाँको सरकारको नीति निर्माणमा काम गरिरहेका व्यक्ति तथा विभिन्न क्षेत्रमा लगानी गरेका व्यवसायी थिए । जापानी प्रविधि नेपालमा भित्याउन, वैदेशिक रोजगारीमा जान चाहने युवालाई जापान लैजाने सम्बन्धमा काम अघि बढाउन सकिनेबारेमा छलफल भएको थियो । रोजगारीमा युवा जापान पठाउन सकियो भने पारिश्रमिकसमेत उच्च पाउने हुँदा नेपाल भित्रिने रेमिटेन्ससमेत उच्च हुन सक्छ । जापानमा वार्षिक ४ लाखभन्दा बढी श्रमिकको माग हुने गरेको छ ।
हाल जापानमा काम गर्ने मान्छे नभएर होटल बन्द रहेका र सञ्चालनमा रहेका होटलसमेत बन्द हुने अवस्थामा पुगेका छन् । हाल जापानमा १ लाख ३० हजार नेपाली छन् । उनीहरूका गतिविधिले त्यहाँको अर्थतन्त्रलाई थप चलायमान बनाउन सहयोग गरिरहेको छ । नेपालीले जापानमा पैसा मात्र कमाउने काम गरेका छैनन्, देशको विकासमा योगदानसमेत गरेका छन् । जापानमा विदेशीमध्येका सबैभन्दा अब्बल नेपालीलाई मानेर उनीहरूले सम्मान पनि दिएका छन् । नेपाली मेहनती भएका कारण जापनिज र नेपालीले एक अर्कोलाई धेरै मन पराउने गरेका छन् ।
जापानबाट पूर्वराज्यमन्त्री, स्टेट मिनिस्टरको नेतृत्वमा केही व्यवसायी आउनुले नेपाल र जापानबीचको आर्थिक तथा कूटनीति सम्बन्धमा थप सहयोग पुग्ने देखिन्छ । नेपालका लागि जापान अभिन्न मित्र भएकाले यो भ्रमणले दुई देशबीचको सहयोग आदानप्रदान अझ बढ्ने देखिन्छ । यो भेटबाट जापान र नेपालबीच सम्बन्ध अझ अघि बढ्ने, लगानी तथा अन्य प्राविधिक क्षेत्रको सहयोगमा सहकार्य हुने देखिएको छ ।
यो भ्रमणले नेपालका तर्फ बाट उच्चस्तरीय भ्रमण गराउन ढोका खुलेको छ । आगामी दिनमा हुने भ्रमणका अवसरमा जापानले दिने न्यून ब्याजको ऋण सहयोग लिन नेपालले पहल गर्नुपर्ने देखिन्छ । नेपालले ऋणमात्र नभई जापानी प्रविधिसमेत भित्याउन सक्ने अवस्थाको सुरुवात भएको छ । यसका लागि हामी एउटा टोली निर्माण गर्ने तयारी गरिरहेका छौं ।