चार वर्षमा नवीकरणीय ऊर्जामा ४० अर्बको स्रोत परिचालन

४ वर्षको अवधिमा नवीकरणीय उर्जाको क्षेत्रमा ४० अर्वको वित्तीय स्रोत परिचालन भएको छ । नेपालको नवीकरणीय ऊर्जाको प्रवद्र्धन कार्यलाई थप विस्तार गर्नका लागि ४० अर्वको वित्तीय स्रोत परिचालन भएको हो ।वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीको ४ वर्षे कार्यकाल सकिएर बिदाई हुने क्रममा ४ वर्षको अवधिमा भएको भौतिक तथा आर्थिक प्रगति पनि सार्वजनिक गरेका छन् ।
यो अवधिमा विद्युत पहुँच वृद्धि, खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि (क्लिन कुकिङ्ग टेक्नोलोजी) को विस्तार, संस्थागत बायोग्यास तथा ठूला क्षमताका व्यावसायिक/नगर फोहरबाट ऊर्जा परियोजना भएको छ । यसैगरी उत्पादकत्व विकास, लघु तथा मझौला उद्योग, बाह्य पहुँच तथा अनुदान परिचालन, ऊर्जा दक्षता, च्यालेञ्ज फण्ड, जलवायु परिवर्तन तथा कार्बन व्यापार, अनुगमन तथा गुणस्तर सुनिश्चितता जस्ता परिजनाहरुको क्षेत्रगत विकास भएको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले बताएको छ ।
“देशको कूल ऊर्जा खपतमा नवीकरणीय ऊजाको योगदान २.५ प्रतिशतबाट ४ प्रतिशत पुगेको छ, थप ३ लाख घरधुरीमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट विद्युत पहुँच (करीब २० मेगावाट) र क्लिन कुकिङ्ग सेवा विस्तार भएको छ,” बिदाइ कार्यक्रममा उनले भने, “नविकरणीय उर्जाको लागि ४ वर्षको अवधिमा ४० अर्व स्रोत परिचालन भएको छ ।” अधिकारीका अनुसार यो अवधिमा नेपाल मिनीग्रिड कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकार र विश्व वैंकबीच ५.६१ मिलियन अमेरिकी डलर बराबरको अनुदान सम्झौता र २ मिलियन अमेरिकी डलर बराबरको ऋण सम्झौता सम्पन्न भई कार्यक्रम कार्यान्वयन भइरहेको छ ।
“जर्मन सहयोग बैंक (के.एफ.डब्ल्यू) सँग फोटोभोल्टेक पम्पिङ्ग प्रणाली (सौर्य खानेपानी तथा सौर्य सिंचाइ), ग्रिड कनेक्टेड सौर्य प्रणाली तथा सौर्य मिनीग्रिड आयोजना कार्यान्वनको लागि ९ मिलियन युरो बराबरको सम्झौता भएको छ,” उनले भने, “ग्रामीण क्षेत्रको लागि नवीकरणीय ऊजा कार्यक्रमको दोस्रो चरणको कार्यक्रमको लागि जिआईजेटसँग ४ मिलियन युरो सहमति भई कार्यक्रम हाल प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा कार्यान्वयन भइरहेको छ ।” नेपाल र बेलायत सरकारको संयुक्त सहयोगमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम कार्यान्वयनमा रहेको उनले जानकारी दिए ।
४.५ वर्ष अवधि रहेको सो कार्यक्रममा बेलायत सरकारले १८ मिलियन पाउण्ड सहयोग गरेको छ । यो कार्यक्रम मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा लागू भएको छ । फोहरबाट ऊर्जा उत्पादनका लागि अबुधावी फण्ड फर डेभलप्मेन्टबाट १० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहयोग प्राप्त भएको छ ।
केन्द्रले नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम, दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग कार्यक्रम, नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम, मिनीग्रिड ऊर्जा पहुँच कार्यक्रम, जस्ता विकास साझेदारसँग सहकार्य भइरहेको बताएको छ ।
सबैलाई विद्युतको पहुँच, वितरित नवीकरणीय ऊर्जा प्रणालीमार्फत ऊर्जा सम्मिश्रण गरी ऊर्जा प्रणालीलाई दिगो, भरपर्दो बनाउने ऊर्जाको दक्ष प्रयोग गरी कम ऊर्जाबाट बढी उत्पादकत्व गर्ने केन्द्रको लक्ष्य रहेको छ । यसका लागि संघीय संरचनामा नवीकरणीय ऊर्जाको विकास र विस्तारका लागि प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय तथा सहकार्य गरिरहेको छ ।
स्रोत – वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र
चार वर्षको अवधिमा भएको मुख्य भौतिक प्रगति
प्रविधि प्रविधि उपलब्धी
लघु तथा साना जलविद्युत किलोवाट ५५७५
सौर्य घरेलु प्रणाली संख्या ९०,१००
मिनीग्रिड किलोवाट २,३६६
रुफटप सौर्य प्रणाली किलोवाट १०,०८०
संस्थागत सौर्य विद्युत प्रणाली संख्या १,८२४
सौर्य सिंचाइ तथा खानेपानी प्रणाली संख्या १,७६५
सौर्य सडक बत्ती संख्या ३,३०९
धार्मिकस्थल, मठ मन्दिर तथा होमस्टेको लागि सौर्य प्रणाली संख्या ४,५११
सौर्य कुकर तथा ड्रायर संख्या २,४६४
घरायसी बायोग्यास संख्या २०,०२६
ठूला क्षमताका बायोग्यास तथा फोहरबाट ऊर्जा परियोजना संख्या १०८
फलामे सुधारिएको चुला संख्या २०,४८२
रकेट चुला संख्या १८,०६८
विद्युतीय चुलो संख्या ४०,६९९
ऊर्जाको उत्पादन मुलक उपयोग संख्या १,६९७
ऊर्जाको उत्पादन मुलक उपयोग संख्या २००