बैंक तथा वित्त क्षेत्रले संरक्षक गुमायो

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको आइतबार ९५ वर्षको उमेरमा निधन भएको छ । विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित जबराको उपचारकै क्रममा आइतबार नर्भिक अस्पतालमा निधन भएको हो ।
उनी केही सातादेखि नर्भिक अस्पतालमा उपचारका क्रममा थिए । सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन उनको जन्म भएको थियो । संयोगवश उनी स्वस्थानी पूर्णिमाकै दिन अस्ताएका छन् । उनकी छोरी संगीता थापाले आफ्नो फेसबुक पेजमा लेखेकी छन्, ‘आज स्वस्थानी पूर्णिमाकै दिन बुबाको निधन भएको छ ।’
नेपाल राष्ट्र बैंकको स्थापनापछि तत्कालीन राजा महेन्द्रले राणालाई गभर्नर नियुक्त गरेका थिए । २९ वर्षको उमेरमा नै उनी केन्द्रीय बैंकको संस्थापक गभर्नर बनेका थिए । प्रथम गभर्नर राणा हिमालयन बैंकका समेत संस्थापक हुन् । ९५ वर्षको उमेरमा समेत २ वटा किताब प्रकाशनको तयारीमा थिए उनी । उनका दुई छोरा र दुई छोरी छन् ।
राणा नेपाल सरकारका पूर्व अर्थसचिव पनि हुन् । मुलुकमा राष्ट्र बैंकको स्थापनाअघि राणा सचिव थिए । केन्द्रीय बैंकको आवश्यकता महसुस गरी यसलाई सञ्चालन गर्न राणा सक्रियतापूर्वक लागेका थिए । त्यसपछि आवश्यकताले नै उनलाई मुलुककै केन्द्रीय बैंकको प्रथम गभर्नर बनाएको थियो ।
बैंक र वित्तीय दुवै क्षेत्रका समर्थक
प्रथम गभर्नर राणा बैंक तथा वित्त दुवै क्षेत्रका संरक्षक हुन्, अभिभावक हुन् । उनी नेपालको प्रथम गभर्नरमात्र हैन, नेपालकै प्रथम अर्थसचिव समेत हुन् । प्रजातन्त्र स्थापनापछि उनी पहिलो अर्थसचिव र नेपाल राष्ट्र बैंकका गभर्नर बनेका थिए । २६ अप्रिल १९५६ देखि ७ फेब्रुअरी १९६१ सम्म उनले नेपाल राष्ट्र बैंकमा गभर्नरको भूमिका निर्वाह गरेका थिए ।
राणा बैंकिङ तथा वित्तीय क्षेत्र दुवैको संरक्षक एवं अभिभावक भएको पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री बताउँछन् । मुलुकमा राणा शासनको अन्त्यपछि अर्थसचिव भएर ५ वर्ष काम गर्दा उनले नै अर्थ मन्त्रालय मातहतका निकायहरू स्थापना गर्न भूमिका खेलेका थिए । त्यसकारण पनि बैंक तथा वित्तीय क्षेत्रले राणालाई संरक्षक र अभिभावकको रुपमा लिने गरेका छन् ।
राष्ट्र बैंकको छापदेखि नोटमा पहिलो हस्ताक्षरसम्म
राष्ट्र बैंकले नेपाल सरकारको आर्थिक सल्लाहकारको कर्तव्य निर्वाह गर्दा नेपाल सरकारलाई सत् परामर्श दिनुपर्छ भन्ने मान्यता राख्थे उनी । जसअनुसार नै उनले राष्ट्र बैंकको छापमा ‘असतोमा सद्गमय’ भन्ने निर्देशक वचन राख्न लगाएका थिए । वि.सं. २०१३ सालसम्म नेपालमा द्वैध मुद्रा प्रचलनमा रहेका थिए । मुलुकमा एउटै मुद्रा चलनचल्तीमा हुनुपर्छ भन्ने मान्यता र उद्देश्यले नेपाल राष्ट्र बैंकको स्थापना गरिएको राणाले बताउने गरेका थिए ।
राष्ट्र बैंक स्थापनापछि ‘बैंक अफ इंग्ल्याण्ड’ लगायतका अन्तर्राष्ट्रिय बैंकमा खाता खोलिएको थियो । तत्कालिन ब्रिटिस गोर्खालीहरू पेन्सनका लागि ‘पाउण्ड’ साट्न राष्ट्र बैंक आउन थाले । जसले गर्दा विदेशी विनिमय सञ्चितिमा नेपाल क्रमशः बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर युवराज खतिवडा सम्झन्छन् ।
जुद्ध शमशेरको पालामा पहिलोपल्ट नेपाली नोट निष्काशन भएको थियो । त्यसबेला कागजको मुद्रा निष्काशन गर्दा सुरक्षण राख्नुपर्ने प्रावधान थिएन । राष्ट्र बैंक स्थापना भएपछि नोट निष्काशनको प्रबन्धसमेत गरिएको थियो । नोट च्यातिएपछि वा मैलो भएपछि साट्ने व्यवस्था राणाले नै गरेका थिए ।
उनी राष्ट्र बैंकको गभर्नर हुँदा भारतसँग स्थिर विनिमयदर कायम भएको थियो । त्यतिबेला अध्ययन गरेर १६० रुपैयाँ तोकिएको स्थिर विनिमय दर अझै पनि कायम छ । जसकारण पनि राणालाई दूरदर्शी अर्थविज्ञको रुपमा चिन्छन् पूर्वगभर्नर क्षेत्री ।
यतिमात्रै नभएर राष्ट्र बैंकबाट निष्काशन भएका नोटमा प्रथम गभर्नर राणाको हस्ताक्षर थियो । राष्ट्र बैंकले २०१६ सालबाट नोट निष्काशनको अधिकार पाएको थियो । त्यसपछि निष्काशन भएको नोटमा उनै गभर्नर राणाको हस्ताक्षर थियो । त्यसअघि सदर मुलुकी खानाबाट नोट निष्काशन हुने गथ्र्यो । त्यसमा खजाञ्जीको नाम हुन्थो, तर हस्ताक्षर भने हुँदैनथ्यो ।
कसले कसरी सम्झिए ?
अग्रणि मार्गदर्शक गुमायौं
महाप्रसाद अधिकारी, गभर्नर
प्रथम गभर्नरको निधनले नेपाल राष्ट्र बैंकले एक अभिभावक, देशले एक कुशल अर्थविद् तथा नेपालको वित्तीय क्षेत्रले एक अग्रणि मार्गदर्शक गुमाएको छ । नेपाली अर्थतन्त्रको विकासका निम्ति नीतिगत, संरचनागत एवं व्यवस्थापकीय पूर्वाधारका कुशल निर्माता एवं प्रवद्र्धक जबराको निधनबाट नेपाल राष्ट्र बैंकले एक अभिभावक, देशले एक कुशल अर्थविद् तथा नेपालको वित्तीय क्षेत्रले एक अग्रणि मार्गदर्शक गुमाएको हामीले अनुभव गरेका छौं ।
नेपाली अर्थतन्त्रको दिगो विकासका निम्ति केन्द्रीय बैंकको गभर्नरको रूपमा जबराले नेपाली नोटको चलनचल्तीमा ल्याउने, नेपाली रुपैयाँको भारतीय मुद्रासँग विनिमयदर कायम गर्ने, नेपालमा बैंकिङ प्रथाको विकास गर्ने जस्ता गहन तथा आधारभूत मौद्रिक एवम् बैंकिङ पूर्वाधार निर्माण गर्नुभएको छ । नेपालको वित्तीय क्षेत्रको दायरा विस्तार एवं व्यापक बनाउने र औद्योगिक विस्तार कार्यमा समेत जबराको महत्वपूर्ण योगदान रहेको छ ।
उहाँसँग धेरै सहकार्य भएको सम्झना छ
युवराज खतिवडा, पूर्व गभर्नर
प्रथम गभर्नर जबराले मलाई निकै माया गर्नुहुन्थ्यो । राष्ट्र बैंक स्थापना भएको तीन महिनापछि म जन्मिएको थिएँ । मेरो जन्मभन्दा अगाडिको गभर्नर उहाँ हुनुहुन्थ्यो । म १५ औं गभर्नर बनेपछि उहाँसँग धेरै सहकार्य गरेको सम्झना आइरहेको छ । उहाँले मलाई अत्यन्तै माया गर्नुहुन्थ्यो । उहाँको वैवाहिक एनिभर्सरी मनाउँदा मलाई पनि पारिवारिक रुपमा सम्झनुहुन्थ्यो ।
नेपाल विश्व व्यापार संघ (डब्ल्यूटीओ) को सदस्य हुने कि नहुने भनेर जबराको नेतृत्वमा अध्ययन समिति बनाइएको थियो । त्यो कार्यदलमा म पनि सदस्य थिएँ ।
करिब ३ महिना उहाँसँग सोसम्बन्धी राष्ट्रिय प्रतिवेदन बनाउन सहकार्य गरेको थिएँ । प्रथम गभर्नर राणा स्पष्ट विचारका व्यक्ति हुनुहुन्थ्यो । गभर्नर भएपछि उहाँले गरेका कतिपय काम अहिले पनि उत्तिकै सान्दर्भिक छन् । राणा परिवारमा जन्मिए पनि सधैं प्रजातन्त्र र लोकतन्त्रको पक्षमा जबरा उभिनुभएको थियो । जसले गर्दा उहाँको परिचय सामाजिक अभियन्ताको रुपमा समेत रहेको छ ।
वित्त र मौद्रिक नीतिको अगुवा हुनुहुन्थ्यो
दीपेन्द्रबहादुर क्षेत्री, पूर्वगभर्नर
प्रथम गभर्नर राणाको निधनले बैंकिङ क्षेत्रले असल एवं अग्रणि संरक्षक गुमाएको छ । वित्त नीति र मौद्रिक नीतिको अगुवाको रुपमा रहेका राणा निकै दूरदर्शी हुनुहुन्थ्यो । उहाँ गभर्नर हुनुभएपछि नेपालको बैंकिङ प्रणाली व्यवस्थित मात्रै भएन, थप विस्तारित समेत भयो । भारतसँगको स्थिर विनिमय दर त अझै कामय छ, जसले उहाँ दूरदर्शी हुनुहुन्थ्यो भन्ने देखाउँछ । जबराले सधैं कामलाई प्राथमिकतामा राखेको म सम्झन्छु ।