तरकारीको लागत मूल्य नपाउँदा किसान मर्कामा

पछिल्लो समय स्थानीय बजारमा भारतीय हरियो तरकारी धेरै आयात हुँदा स्वदेशी स्थानीय किसान मर्कामा परेका छन् । भारतबाट आयातीत तरकारीसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेपछि लागत किसान मर्कामा परेका हुन् । तरकारीको आयात बढ्दा बजारमा तरकारीको मूल्य घटेपछि स्वदेशी किसानले लागत मूल्य समेत नपाएका हुन् ।
तरकारीको उत्पादन लागत मूल्य समेत नपाएपछि शुक्रबार चितवनका किसानले सडकमा तरकारी समेत फालेका थिए । विगत ७ वर्षदेखि १० विगाह जमिनमा व्यवसायी तरकारी खेती गर्दै आएका चितवन भरतपुर महानगरपालिका वडा नम्बर ७ का मनोज कोइरालाले उत्पादन लागत मूल्य समेत नपाएपछि सरकारको ध्यान आक्रर्षण गर्न सडकमा तरकारी फाल्न किसान बाध्य भएका बताए । भारतबाट धेरै तरकारी आायत हुँदा स्वदेशी किसानको २० रुपैयाँ लागत परेको तरकारीलाई ८ रुपैयाँमा बिक्री गर्नु परेको उनको गुनासो छ ।
गोल्भेडादेखि फर्सी काउली सिमी ,बन्दा, गाजर, आलु, प्याजलगातका अधिकाशं तरकारी भारतबाट आउने हुँदा स्थानीय उत्पादनले बजार नपाएर खेतमै कुवाउनु परेको उनले बताए । गोल्भेडा, गाजर बन्दा हला चिवतनमा १० रुपैयाँमा बिक्री हुने पनि मुस्किल भएको कृषक कोइरालाले कारोबार दैनिकसँग भने ।
यस्तै, विगत १६ वर्षदेखि १० विगाह जमिनमा व्यावसायी तरकारी खेती गर्दै आएका चिवतन रत्ननगरका वडा नम्बर १० का राजेन्द्र राइमाजीको गुनासो पनि कोइरालाको भन्दा फरक छैन । भारतबाट धेरै तरकारी आयात हुँदा स्थानीय कृषकको उत्पादनले मूल्य नपाएर सडकमा तरकारी फाल्नु परेको बताउँछन् । राइमाजी भन्दछन्, “एक किलो गोल्भेंडा, काउली, उत्पादन गर्दा किसानको लागत २० रुपैयाँ बढी लाग्छ । तर, किसानले अहिले १० रुपैयाँ पनि मूल्य पाएका छैन । लागत मूल्य नपाउँदा किलोमै १२ रुपैयाँ घाटा खाएर व्यापारीलाई तरकारी बिक्री गर्नुपरेको छ ।
कृषक राजेन्द्र राइमाजीका अनुसार चितवनका किसानले प्रतिकेजी २० देखि २५ रुपैयाँ लागतमा उत्पादन गरेको हरियो तरकारी ८÷१० रुपैयाँमा बिक्री गर्नु परेको छ । ३० रुपैयाँ लागत पर्ने सिमी भारतबाट धेरै आयात हुँदा १५÷२० रुपैयाँ किलो बिक्री गर्नुपरेको छ । गाजर ५/७ रुपैयाँ पनि बिक्री नभएको किसानको गुनासो छ । कृषकका अनुसार गाजर भने स्थानीय उत्पादन नै धेरै हुँदा मूल्य नभएको बताउँछन् ।
पछिल्लो समय भारतबाट ठूलो मात्र हरियो तरकारी आयात भएकाले स्थानीय उत्पादनले बजार नपाउँदा नेपाल फलपूmल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए । कालिमाटी फलपूmल तथा तरकारी बजारमा मात्र दैनिक २ सय टन हरियो तरकारी भित्रिने गरेको अध्यक्ष घिमिरेले जानकारी दिए ।
उनका अनुसार भारतबाट दैनिक कालिमाटी तरकारी बजारमा दैनिक २ सय टन, बल्खुमा ३ सय टुकुच्चामा १ सय तिनकुने, बानेश्वर र जटिबुटीमा तरकारी बजार गरी १ सय ५० टन भारतीय तरकारी भित्रिने गर्छ । भारतबाट धेरै तरकारी आएकै कारणले स्थानीय किसानले तरकारीको मूल्य नपाएर मर्कामा परेको अध्यक्ष घिमिरेले बताए ।
भारतबाट धेरै तरकारी आयात हुँदा स्थानीय किसान मर्कामा परेको हुँदा व्यवसायीलाई भारतबाट हरियो तरकारी आयात नगर्ने आग्रह गरेको उनले बताए । पछिल्लो समय भारतबाट गोल्भेंडा, काउली, बन्दा सिमी, भिन्डी धेरै आउँदा स्थानीय उत्पादनको खपत कम भएको उनको भनाइ छ । आयातीत तरकारी भन्दा सस्तो हुने हुँदा पनि स्थानीय तरकारीले मूल्य नपाएको उनले बताए । स्थानीय किसानले तरकारी उत्पादन गरी वैकल्पिक बाटो नखोज्दा हरेक वर्षको सिजनमा मूल्य नपाएर सडकमा तरकारी फाल्नु परेको उनले बताए । उत्पादनलागत उठाउन किसानले वैकल्पिक खोज्नु आवश्यक रहेको उनको भनाइ छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भारतको तरकारीको लागत कम हुने र स्थानीय तरकारीको लागत बढी हुुँदा भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली कृषक मर्कामा परेको उनले बताए । भारतबाट पनि धेरै आउन भएको स्थानीय उत्पादन पनि धेरै भएका कारण बजार माग कम भएकाले तरकारी मूल्य घटेको उनले बताए ।
भारतबाट आयात हुने तरकारीको मूल्य समेत घटेको उनले जानकारी दिए । सूचना अधिकारी श्रेष्ठकाअनुसार भारतबाट बन्दा गोल्भेडा,काउली धेरै आएकै कारणले किसान मर्कामा परेका छन् । यो समस्या हरेक वर्षको तरकारी सिजनमा हुन्छ । यसको समस्या समाधान गर्न राज्यले नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ । सधै स्वदेशी उत्पादनले बजारको माग धान्न नसक्ने हुँदा सिजनको समयमा भारतबाट आउने हरियो तरकारी रोक्न पनि समस्या हुने सूचना अधिकारी श्रेष्ठले बताए ।