जलविद्युतले उकास्यो नारच्याङबासीको जीवनस्तर
हाइड्रो भिलेजको रूपमा परिचित अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा धमाधम जलविद्युत आयोजना निर्माणले स्थानीयबासीको जीवनस्तर सुधार गरेको छ । जलविद्युत आयोजना निर्माणले नारच्याङका युवाले रोजगार र आयोजनामा सेयरसँगै आयोजनाबाट पाउने बोनस रकमले जीवनस्तर सुधारसँगै पछिल्लो समय विदेश जानेक्रम घटाएको छ ।
२०४४ सालबाट जलविद्युतको सम्भावना उजागर गरेको नारच्याङले अन्नपूर्ण गाउँपालिकासँगै म्याग्दीको हाइड्रोको सम्भावना उजागर गर्दै कालिगण्डकी, म्याग्दी र रघुगंगालगायतको नदीमा दुई दर्जन जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छन् । कालिगण्डकी नदीसँगै अन्नपूर्ण र नीलगिरि हिमालबाट बग्ने मिस्त्री, घलेम्दी, नीलगिरि, रेलेखोलालगायतका खोलामा धमाधम जलविद्युत आयोजना निर्माणले पछिल्लो सयम नारच्याङ भूगोल र स्थानीयबासीको जीवनस्तरमा फड्को मारेको छ ।
हाइड्रोमा सम्भावना देखेपछि बेनी–जोमसोम सडकदेखि कालिगण्डकी माथि नारच्याङ पुग्ने पक्की पुल निर्माणले नारच्याङको समृद्धिको ढोका खुलेको थियो । जलविद्युत आयोजना भित्रिएसँगै गाउँका युवा विदेश जानेक्रम कम हुँदै गएको अन्नपूर्ण युवा क्लबका अध्यक्ष टंकबहादुर पुलने बताए । “पहिले गाउँमा रोजगार नहुदाँ विदेश, विदेश भन्थे, अहिले धमाधम जलविद्युत आयोजनाले युवाहरूलाई रोजगारी दिनाले दैनिकी सहज भएको छ,” क्लब अध्यक्ष पुलने भने । “विद्युत उत्पादन गरेको मिस्त्री खोला जलविद्युत आयोजनाले स्थानीयलाई एक कित्ता बराबर १ सय रुपैयाँ हाल्न लगाएको थियो । अहिले १ कित्ता बराबर छोटो समयमा ८ सय भएको छ ।”
२०४४ सालमा नारच्याङमा २ मेगावाटको तातोपानी जलविद्युत आयोजना निर्माण भएको थियो । त्यसपछि ४० मेगावाटको मिस्त्रीखोला, ५ मेगावाटको घलेम्दी जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिसकेका छन् भने, १ सय ७ मेगावाटको नीलगिरि खोला १ र नीलगिरि खोला २ ले कामलाई अन्तिम चरणमा पु¥याएका छन् । ६ मेगावाटको रेलेखोला, ९ मेगावाटको सुपर घलेम्दी, ५२ मेगावाटको मध्यकालिगण्डकी, २ सय मेगावाटको कालिगण्डकी ग्रजले निर्माणाधीन आयोजनामा स्थानीयले क्षमताअनुसारको रोजगारी पाएका छन् ।
रोजगारी र व्यवसाय सुरक्षित देखेर अन्नपूर्ण–५ पाउद्वारदेखि नारच्याङमा बसाइँसराइ गरेर आएको नारच्याङबासी फक्तबहादुर तिलिजाले बताए । उनले पोखरा, काठमाडौंलगायतको सहरमा जान नसकिने, आफ्नो रोजगारी र परिवारको सुरक्षित भविष्यका लागि हाइड्रो भिलेजको परिचित नारच्याङ बसाइँसराइ गरिआएको बताए । जलविद्युतसँगै गाउँमै इन्जिनियर उत्पादन गर्ने प्राविधिक शिक्षा संचालनले रोजगारसँगै गुणस्तर शिक्षाले पछिल्लो समयम बसाइँसराइ रोक्दै बसाइँसराइ गरेर आउने संख्या पनि बढाएको छ । जलविद्युतले जग्गाको मूल्य राम्रो पाएका छन्, पुराना घर हट्दै नयाँपक्की घर बनेका छन् । स्थानीय होटल गरेका छन् ।
उत्पादन गरेको कृषिजन्य वस्तुले बजार पाएको छ । पछिल्लो समय जलविद्युत आयोजनाले बसाइँसराइ गरेर जाने क्रम रोकिएको अनुभव स्थानीय प्रभा माविका अध्यक्ष तेज गुरुङले बताए । “बसाइँसराइ गरेर आउनेक्रम बढेको छ किनभने जलविद्युत आयोजनामा रोजगारी, गुणस्तर प्राविधिक शिक्षा पढ्न पाउने र सेवासुविधा थपिएका कारण बसाइँसराइ गरेर आउनेक्रम पनि बढाएको छ,” स्थानीय अगुवा तेज गुरुङले बताए । अन्नपूर्ण र नीलगिरि हिमालको काखमा रहेको नारच्याङमा ५ सय घरधुरी बसोबास छ । नारच्याङबासीलाई जलविद्युतले आर्थिक समृद्धिका लागि हाइड्रो पर्यटनको सम्भावना उजागरसमेत गरेको छ ।