Logo

पर्यटकीय क्षेत्र मौराखारामा गाउँ कार्यपालिका बैठक

पश्चिमको सानीभेरीे गाउँकार्यपालिकाको ११औं बैठक पालिकाकै पर्यटकीयस्थल मौराखारा लेकमा बसेको छ । पालिकास्तरका पर्यटकीय स्थलहरूको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले कार्यपालिकाको बैठक मौराखारा लेकमा आयोजना गरिएको गाउँपालिकाका प्रवक्ता पहलसिंह घर्ती मगरले जानकारी दिए ।

उनका अनुसार सोमबार सानीभेरीको मौराखारामा बसेको गाउँकार्यपालिका बैठकले पालिकामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित ११ बुँदे घोषणापत्र जारी गरेको छ । आगामी दिनमा पनि सम्भव भएसम्म कार्यपालिकाका सबै बैठक पर्यटकीय क्षेत्रमै पुगेर गर्ने योजना अघि सारिएको छ । बैठकले मौराखारा पर्यटकीय क्षेत्र विकासका लागि बजेट माग गर्ने, आवधिक योजना निर्माण गर्ने र त्यसका लागि निर्देशक समिति गठन गर्ने, आवधिक योजना निर्माण तर्जुमा गर्नका लाीि तथ्यांक पेस गर्न सम्बन्धित वडाहरूबाट विवरण संकलन गर्ने समयसीमा सहितको निर्णय पारित गरेकोे छ ।

यस्तै हिउँदे गाउँसभाको मिति तोक्ने र गुरिल्ला म्याराथनको पुरस्कार राशी निर्धारण गर्ने, सरकारले गर्ने भनेको सेवा प्रवाहलाई चुस्तदुरुस्त गर्ने र भ्रष्टाचारलाई शून्य सहनशिलतामा अगाडि बढाउने निर्णय गरेको छ । त्यसैगरी समुद्री सतहबाट २९ सय मिटर उचाइमा रहेको मौराखारा क्षेत्रलाई ईको टुरिज्मको रूपमा विकास गर्ने, मौराखारा क्षेत्रको जैविक विविधतालाई समुदायद्वारा संरक्षण क्षेत्रको रूपमा विकास गर्ने, मौराखारा क्षेत्रमा रहेको वन, वन्यजन्तु, जडिबुटी, चराचुरुङ्गीलगायतका प्राकृतिक स्रोत साधनको सही सदुपयोग गर्ने निर्णय गरेको छ ।

यसैगरी पर्यटन प्रवद्र्धनमार्फत् उत्पादनशील रोजगारी सिर्जना गर्न तयार गरिएको विस्तृत परियोजना (डीपीआर) पारित गर्ने, मौराखारा क्षेत्रको जैविक विविधता बचाइराख्नका लागि नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, यस क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय तथा राष्ट्रिय सरकारी तथा गैरसरकारी संघ सस्थाहरु तथा विकास साझेदार निकायहरु जिल्ला स्थित वन कार्यालयसँग समन्वय र सहकार्य गर्ने निर्णय पनि गरेको छ । त्यस्तै मौराखारा क्षेत्रमा जैविक पदमार्गको विकास गरी पर्यटन प्रवद्र्धन गर्न सानीभेरी चार टुरा वडा नम्बर ३ को कमैदे र ५ को हाँसपोखरी भन्दा उपल्लो भेगमा मोटरबाटो विस्तार नगर्ने साथै उक्त भूभागको वास्तविक अवस्था बचाइराख्न आठबिसकोट नगरपालिकासँग आवश्यक समन्वय सहकार्य गर्ने जस्ता निर्णय भएको प्रवक्ता घर्तीले जानकारी दिए ।

मौराखारा क्षेत्रलाई पर्यावरणसँगै युद्ध पर्यटनको रूपमा विकास गर्न आवश्यक पूर्वाधार विकासका लागि संघ प्रदेश र पालिकाको साझेदार गर्ने, विस्तारै संघ र प्रदेशको विशेष अनुदानमा यस क्षेत्रलाई पूर्वाधार निर्माणका लागि प्राथमिकीकरण गर्ने, मौराखारा क्षेत्रमा धार्मिक पर्यटन विकास गर्ने मठमन्दिरको सरंचना निर्माण गर्ने, एग्रो फरेस्टीमार्फत् कृषि पर्यटन विकास गर्न आवश्यक अध्ययन अनुसन्धान गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्धनका लागि सानीभेरीको कमैदे टुरा र हाँसुपोखरी क्षेत्रमा सानीभेरीको पहिचान झल्काउने आवास सुविधासहितको होमस्टे विकास गर्ने पनि निर्णय गरेको छ । त्यस्तै वन पैदावार चोरी निकासी नियन्त्रणका लागी र वनको हैसियत जोगाउन विभिन्न निकायसँग समन्वय साझेदार गर्ने, गुरिल्ला म्याराथनलाई सानीभेरीको ब्राण्डको रूपमा विकास गर्ने र त्यसको मुख्य क्षेत्रको रूपमा मौराखारा क्षेत्रलाई व्यवस्थित गर्ने बैठकमा निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्