नेपालगन्जको तरकारीमा अत्याधिक विषादी

बाँकेको नेपालगन्जस्थित रानी तलाउ मण्डी थोक तथा खुद्रा तरकारी बजारबाट बिक्री हुने तरकारीमा अत्याधिक विषादीको प्रयोग हुने गरेको पाइएको छ । विषादी अवशेष दृत विश्लेषण प्रयोगशाला एकाई नेपालगन्जले गरेको परीक्षणमा तरकारीमा अत्याधिक विषादीको प्रयोग हुने गरेको पाइएको हो ।
प्रयोगशालामा मंगलबार बिहान मण्डीबाट बिक्री वितरण भएको गोलभेंडा परीक्षण गर्न नमुना लगिएको थियो । उक्त नमुना परीक्षणमा अत्याधिक विषादी प्रयोग भएको प्रयोगशालाका ना.प्रा.स. ल्याब सहायक गौरव गौधरीले बताए । “यहाँबाट लिइएको नमुनामध्ये ५२ प्रतिशत विषादी भेटिएको छ” उनले भने, “तरकारीमा ३५ प्रतिशत भन्दा कम विषादी भएको खण्डमा मात्र खान लायकको हुन्छ ।”
३५ देखि ४५ प्रतिशत देखिएको खण्डमा २ देखि ३ दिन क्वारेन्टाइनमा राखेपछि पुन जाँच गर्दा खान योग्य हुन सक्ने ल्याव सहायक चौधरीको भनाइ छ । पुन चेक गर्दा पनि ३५ प्रतिशत भन्दा कम नआएमा भने खान नहुने उनले सुझाव दिए । रानी तलाउ तरकारी बजारमा मंगलबार खान अयोग्य फेला परेको त रकारी नष्ट गरिएको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमदका अनुसार विषादीयुक्त तरकारी खाँदा तत्काल असर नदेखिएपनि पछि विस्तारै रोगहरुको सिकार हुनुपर्ने हुन्छ । जटिल अवस्थाका बिरामी, अंगभंग हुने, अपांगता भएका बच्चा जन्मिने लगायतका थुप्रै समस्या देखा पर्ने उनले बताए । अत्याधिक विषादी हालेर बिक्री गर्न ल्याउने किसानको पहिचानको टुंगो नलागेकाले खोजी कार्य जारी रहेको ज्ञान केन्द्रले जनाएको छ ।