सहकारीको धेरै लगानी व्यापार र घरजग्गामा «

सहकारीको धेरै लगानी व्यापार र घरजग्गामा

सिद्धान्तअनुसार सहकारीले गरिबी निवारण, स्वावलम्बन प्रवद्र्धन, स्थानीय सीप एवं छरिएर रहेको पुँजीको उपयोग गरी सामाजिकदेखि आर्थिक विकासका क्षेत्रमा लगानी गर्नुपर्ने हो । तर, अधिकांश सहकारीले सिद्धान्त र मर्मविपरीत अनुत्पादक क्षेत्रमा बढी लगानी गरेका छन् । यो समस्या काठमाडौंदेखि गाउँसम्म उस्तै देखिएको छ ।

कास्कीका पशुपालन, दूध उत्पादन बहुउद्देश्यीय र बचत तथा सहकारीको लगानी हेर्दा पनि यस्तै तस्बिर आएको छ । कास्कीको पोखरा रोयल बचत तथा ऋण सहकारी र फूलबारी काहुँकोट देउराली कल्याणकारी बहुउद्देश्यीय सहकारीले कुल लगानीमा सबैभन्दा धेरै अनुत्पादक क्षेत्रमा गरेका छन् । पोखरा रोयलको ऋण लगानी १ अर्ब ८२ करोड रुपैयाँ छ । यसमध्ये सबैभन्दा धेरै व्यापार, वैदेशिक रोजगार र आवास क्षेत्रमा लगाएको देखिन्छ ।

उत्पादनमूलक क्षेत्रमा कम लगानी गरेको छ । यो सहकारीको तथ्यांकअनुसार यस वर्ष १ अर्ब ८२ करोड रुपैयाँ ऋण लगानी भएकामा ७० करोड २९ लाख रुपैयाँ व्यापार क्षेत्रमा दिइएको छ । यस्तै, १० करोड २० लाख रुपैयाँ वैदेशिक रोजगार र व्यवसाय निन्तरतामा ७ करोड ५ लाख ऋण लगानी गरिएको छ । यो संस्थामा १ हजार ८ सय ९६ सदस्य छन् भने सेयर पुँजी २१ करोड १० लाख र कुल सम्पत्ति २ अर्ब २६ करोड ९० लाख रुपैयाँ छ ।

यो सहकारीले ५ करोड ६२ लाख रुपैयाँ घरजग्गामा लगानी गरेको छ । लघुवित्तमा ६ करोड ८४ लाख र कृषिमा ५ करोड ३९ लाख रुपैयाँ ऋण लगानी छ । सहकारीका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले अन्य क्षेत्रभन्दा उत्पादक क्षेत्रमा नाफा कम हुने भएकाले कर्जाको माग नै नआएको बताए । धेरैभन्दा धेरै ऋण व्यापार–व्यवसाय गर्नेहरुको आउने हुँदा सहकारीको लगानी पनि व्यापारमै धेरै देखिएको उनको भनाइ छ । उनका अनुसार सहकारीको सिद्धान्त र मर्मअनुसार उत्पादक क्षेत्रमा बढी लगानी गरी समाजलाई आर्थिक उन्नतितर्फ लैजानुपर्ने हो । तर, सहकारीहरू त्यसमा चुकेको उनले बताए ।

अन्य क्षेत्रभन्दा कृषिमा ऋण लिन आउनेलाई १ प्रतिशत ब्याज छुटको सुविधा दिएको तर कृषिमा लगानी गरी नाफा नहुने भन्दै ऋण लिन कम आउने गरेको उनले बताए । यस्तै, कास्कीकै फूलबारी काहुँकोट देउराली कल्याणकारी बहुउद्देश्यीय सहकारीले पनि कृषिमा लगानी गरेको पाइँदैन । यो सहकारीले चालू वर्ष ३३ करोड ८९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसमध्ये कृषि फार्मलाई ३ करोड १३ लाख रुपैयाँ कर्जा दिएको र अन्य सबै लगानी व्यापार व्यवसायदेखि घरजग्गामा गरेको छ । यो सहकारीमा १ हजार ७३ जना सेयर सदस्य छन् ।

यसको सेयर पुँजी ७० करोड ४९ लाख रुपैयाँ छ भने चालू पुँजी ३० करोड ८ लाख रुपैयाँ छ । सरकारीले कृषि फार्मलाई दिएको कर्जा पनि कुनै किसानलाई दिएको होइन । सहकारी आफैंले ३ करोड १३ लाख रुपैयाँ लगानीमा ८४ वटा गाईभैंसी किनेर पालेको हो । ती गाईभैंसीबाट दैनिक ३ सय लिटर दूध उत्पादन हुने गरेको सहकारीका सचिव दीपक प्रकाश आचार्यले जानकारी दिए । फार्मबाट उत्पादन भएको दूध सहकारीले आफ्नै सेयर सदस्यलाई प्रतिलिटर १४४ रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताए । कृषिमा लगानी गर्दा फाइदा नहुने भएपछि सहकारीले अन्य क्षेत्रमा लगानी गर्न थालेको उनको भनाइ छ । सहकारीले व्यापार–व्यवसायदेखि घरजग्गामा समेत ऋण लगानी गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्