सीएनआई कोसी एक्स्पो सुरु एक्स्पोमा जुम्लाको मार्सी चामलदेखि बंगलादेशको कपडाका स्टल «

सीएनआई कोसी एक्स्पो सुरु एक्स्पोमा जुम्लाको मार्सी चामलदेखि बंगलादेशको कपडाका स्टल

नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश–१ को आयोजनामा बिहीबारदेखि ‘सीएनआई कोसी एक्स्पो’ सुरु भएको छ । प्रदेश राजधानीमा १० दिनसम्म चल्ने एक्स्पोको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे । एक्स्पो उद्घाटनमा बटुकहरुद्वारा स्वस्तिक बाचन गरियो ।

शान्तिका दूतका रुपमा परेवा र बेलुन उडाइयो । उद्घाटन अघि विराटनगरको ट्राफिक चोकबाट सबै जातजातिको परम्परा र सांस्कृतिक पहिचान झल्किने पोशाकमा झाँकीसहितको  र्‍याली पनि निकालिएको थियो । महिलाको समूहले पञ्चेबाजा बजाएर झाँकीको सुरुवात गरेका थिए । झाँकीमा नेपाल पुलिसको ब्याण्डसहित थारु, झाँगडलगायतका जातजातिको समूह सहभागी भए । एक्स्पो उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री ओलीसहित संघीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, प्रदेश–१ का मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालगायत सहभागी थिए ।

एक्स्पोमा पाँचवटा मुख्य पेभिलियन रहेका छन् । अटोमोबाइल्सको पेभिलियनबाहेक चार वटालाई प्रमुख अग्ला हिमालहरु सगरमाथा, अन्नपूर्ण, मकालु र कन्चनजंघाको नामबाट नामाकरण गरिएका छन् । एक्स्पोका माध्यमबाट प्रदेश–१ को पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ सर्वोच्च शिखर सगरमाथासहितका अग्गा हिमालहरुको नाममा पेभिलियन राखिएको छ । विराटनगर–२ शंकरपुर मार्ग आयोजित एक्स्पो ऐतिहासिक बन्ने आयोजक समितिका अध्यक्ष भीम घिमिरेले विश्वास व्यक्त गरे ।

माघ २८ गतेसम्म आयोजना हुने एक्स्पोका लागि तीन सयजना बढी युवा जनशक्तिलाई रोजगारीको अवसर प्रदान गरिने दाबी गरिएको छ । एक्स्पोमा हिमालदेखि पहाडसम्मको भौगोलिकतालाई प्रदर्शन गरिनेछ । त्यसका साथै थारु जातिको सांस्कृतिक तथा जातीय परम्परागत घर पनि प्रदर्शनमा राखिएको छ । कोसी नदीको झल्को आउने गरी त्यसमाथि सेल्फी पुल निर्माण गरिएको छ । एक्स्पोमा नेपाली उत्पादन जुम्लाको मार्सी चामलदेखि बंगलादेशको रेडिमेड कपडा र पाकिस्तानको छालाबाट निर्मित विभिन्न सामग्रीका स्टल राखिएका छन् ।

एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानसहित ३७० भन्दा बढी औद्योगिक तथा कृषि सामग्री बिक्री गर्न स्टल राखिएका छन् । परिसंघका प्रदेश अध्यक्ष घिमिरेका अनुसार एक्स्पोमा एकै स्थानबाट एक सयभन्दा बढी प्रकारका औद्योगिक तथा कृषि सामग्री खरिद गर्न सकिन्छ । एक्स्पोका संयोजक राजेन्द्रकुमार राठीले औद्योगिक तथा व्यावसायिक क्षेत्रमा बैंक ब्याजदरलगायत कारणले जारी निराशाबीच आफूहरुले ठूलो तयारीसाथ विभिन्न वस्तुको प्रदर्शनी र बिक्रीवितरणको प्रबन्ध गरेको बताए ।

एक्स्पोमा नेपाली उत्पादन जुम्लाको मार्सी चालम, दाल, विभिन्न प्रकारको पिठो, कोदो, स्याउ बिक्री हुने स्टल राखिएको छ । झापाको कृषि उत्पादन अचारदेखि हस्तकलाका सामग्री, इलामको अर्गानिक चिया, तेह्रथुमको ढाकाका सामग्री, भोजपुरको खुकुरी, सप्तरी बरमझियाको पेडा, विराटनगरको जुट सामग्रीलगायत स्टल छन् । भारतबाट इन्जिनियरिङ तथा इलेक्ट्रिकका सामग्री र फिटनेसका सामग्री बिक्री हुने स्टलसमेत एक्स्पोमा राखिएको छ । एक्स्पोको उद्घाटन समारोहमा उद्योगी व्यवासायीले सरकारसामु आक्रोश व्यक्त गरे ।

बैंकहरु डामेर छोडेका साँढेजस्ता भएका छन् र उनीहरुले ८० प्रतिशत नाफा खाँदा पनि कारबाही नभएको भन्दै सिएनआई प्रदेश अध्यक्ष घिमिरेले काबारहीको माग गरे । उनले भने, “उद्योगीले उत्पादन गरेका वस्तुहरुमा २० प्रतिशतभन्दा बढी नाफा खाँदा हत्कडी लाग्छ । तर बैंकलाई चै डकैती गर्न दिइएको छ ।” घिमिरेले आत्महत्या गरेका व्यवसायीलाई सहिद घोषणा गर्नसमेत माग गरे । राजनीतिक दलका मान्छेहरु भीरबाट लड्दा पनि सहिद घोषणा गर्ने गरिएको दाबी गर्दै घिमिरेले उद्योग व्यवसाय चलाउन नसकेर आत्हत्या गरेकाहरुलाई पनि सहिद घोषणा गर्नुपर्ने जिकिर गरे ।

“अहिले पनि बैंकहरुले तत्कालीन पञ्चायती शासनमा शासकहरुले २४ र ३६ प्रतिशत ब्याज लिएजस्तो रातारात बैंकहरु धनी हुने उद्योगीहरु मर्ने, रोजगारी टुट्ने र राजस्व घट्ने अनि हामी सुसाइडको अवस्थामा पुग्ने वा पलायत हुने अवस्था छ,” घिमिरेले भने, “एक दर्जन उद्योगीले आत्महत्या गरिसकेकाले राष्ट्रनिर्माणमा लाग्दालाग्दै आत्महत्या गर्न बाध्य भएका उद्यमी र व्यवसायीलाई सहिद घोषणा गरिनुपर्छ ।” उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले पनि अहिलेको नकारात्मक वातावरणलाई समाधान गरेर व्यापारीले आत्महत्या गर्नुपर्ने अवस्था नआवस् भन्ने कुरामा सरकार सचेत हुनुपर्ने बताए ।

उनले अब उद्योगी व्यवसायीले पनि निराशा छोडेर आर्थिक गतिविधिमा लाग्नुपर्नेमा जोड दिए । “अहिलेको वातावरणलाई ठीक गर्नका लागि पहल गर्नुपर्छ,” उनले भने, “अहिले सरकारले चालेको कदमले आगामी तीन महिनामा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने संकेत मिलेको छ ।” कार्यक्रममा उद्योगीलाई सम्बोधन गर्दै उद्योग तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकारको नीतिगत प्राथमिकता र साझा कार्यक्रममा उल्लेख गरेका कुराहरुको आधारमा उद्योग क्षेत्रमा रहेका समस्या समाधान गर्ने बताएका थिए ।

आत्महत्याजस्तो हुतिहारा कुराको चर्चा धेरै नगरौं : ओली

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले अदालतको परमादेशपछि बनेको सरकारको कारण अर्थतन्त्र डामाडोल बनेको आरोप लगाए । उनले सोही अवधिमा अर्थतन्त्र ऋणात्मक पुग्न लागेको भन्दै आगामी दिनमा त्यसलाई सुधार गरिने बताए । ओलीले पुस १० गतेयताको सवा महिनामा देशको अर्थतन्त्र सुधारमा गएको दाबी पनि गरे । “हाम्रो जीवन जीविका चलाउन तथा राज्य सञ्चालनका लागि मात्रै पनि ऋणात्मक हुने अवस्थामा छौं । यो अत्यन्तै गम्भीर कुरा हो,” उनले भने, “पुस १० गतेसम्मको अवस्था अत्यन्तै निराशाको अवस्था हो ।

त्यही हिसाबले देश अगाडि जाने हो भने देश बर्बाद हुने अवस्था थियो । त्यसयताको सभा महिनामा गरेको प्रयासले केही सकारात्मक कदमहरु चाल्ने र अर्थतन्त्रलाई सकारात्मक दिशामा ल्याउन ठोस कदम चाल्ने काम भएको छ ।” उनले शेरबहादुर देउवा नेतृत्वको सरकारका विरुद्धमा आक्रोश व्यक्त गरे । “डेढवर्ष एउटा नालायक सरकार बन्यो । अर्थतन्त्र ध्वस्त भयो । यस्तो निराशा कहिल्यै आएको थिएन । अब फेरि अर्थतन्त्र उँभो लाग्छ ।

हाम्रा ऋषिमुनीहरु डेढ वर्ष त तपस्या गरेरै बिताउँथे । अलिअलि समस्या आयो भने आत्महत्यै गर्ने ?” उनले उद्योगीले गरेको आत्महत्याको कुराप्रति इंगित गर्दै भने, “कहिले कहिले त नोक्सान हुन्छ, कहिले कहिले घाटा पनि लाग्छ । सूर्यजस्तो चिजलाई त ग्रहण लाग्छ भने हाम्रो उद्योगलाई कहिले काँही लाग्यो होला ।” उनले परमादेशबाट आएको ग्रहणले डेढवर्ष छोप्यो भन्दैमा आत्महत्या गर्न नहुने पनि बताए । “दौडिँदा लड्यो भने, खेल्दा लड्यो भने घर गएर आत्महत्या गर्ने हो र ? जुरुक्क उठेर दौडनुपर्छ । फेरि खेल्नुपर्छ ।

म उद्योगी व्यवसायीलाई आत्महत्याको धेरै चर्चा नगर्न आग्रह गर्छु । अरुलाई पनि त्यसमा प्रोत्साहन हुन्छ । त्यो विषय पनि सोच्ने कुरा हो ? यस्तो सोच्न मिल्छ ? यस्तो हुतिहारा हौं हामी ?” उनले आफूले विताएका कष्टपूर्ण दिन सम्झँदै भने, “मलाई डेढ महिनासम्म केही पनि खान नदिएर प्रहरी हिरासतमा राखेर बुट र लाठी मात्रै हान्थे । त्यति गर्दा पनि कहिल्यै पनि हिम्मत हारिएन । ४ वर्ष चिसो सिंढीमा राखेर मन्त्री हुन लागेका होइन भन्दै लात्ताले हान्थे । हुन त प्रधानमन्त्री हुन परेको रहेछ ।” उद्योगी व्यापारीको समस्या समाधानका लागि आफूले निरन्तर छलफल गरिरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्