गौरवका आयोजनाको गति कम «

गौरवका आयोजनाको गति कम

सरकारले प्राथमिकतामा राखेर अघि बढाएका राष्ट्रिय महत्वका आयोजनाकै अवस्था नाजुक देखिएको छ । राष्ट्रिय गौरवका भनिएका केही आयोजना निर्माण सुरु भएको दशकौं बित्दा पनि सम्पन्न हुन सकेका छैनन् ।

केही आयोजना भने निर्माणको प्रारम्भिक चरणमै रुमलिइरहेका छन् । निर्माण सुरु भइसकेका आयोजनामा लागत बढ्दो छ । राष्ट्रिय गौरवका आयोजनाको उपलब्धि न्यून देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले ती आयोजनाको आफैंले अनुगमन गर्ने भनेका थिए । तालुक मन्त्रालय र आयोजना प्रमुखहरुसँग पनि सोधखोज थालिएको छ । चालू आर्थिक वर्षका लागि करिब १ खर्ब रुपैयाँबराबर बजेट पाएका यी आयोजनाको खर्च पनि निकै न्यून देखिन्छ ।

आर्थिक वर्ष २०४५/०४६ मा निर्माण सुरु भएको बबई सिँचाइ आयोजना २०८२/०८३ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । तर, हालसम्म यसको ६२.२३ प्रतिशत भौतिक र ५८.८४ प्रतिशत वित्तीय प्रगति भएको छ । आर्थिक वर्ष २०७८/०७९ सम्म राष्ट्रिय गौरवका आयोजनामा ४ खर्ब २९ अर्ब ६५ करोड लगानी भएको देखिन्छ । ८० प्रतिशत वा सोभन्दा माथि समष्टिगत भौतिक हासिल गर्ने आयोजनाहरू ६ वटा छन् । त्यस्तै, ५०–८० प्रतिशत समष्टिगत प्रगति हासिल गर्ने आयोजना ५ वटा छन् ।

छनोट भएका आयोजनाहरुको प्रष्ट नीति तथा दीर्घकालीन योजना बजेटको विनियोजन पर्याप्त नहुँदा पनि लामो समयसम्म गौरवका आयोजनाले गति लिन नसकेको पूर्वाधार विज्ञ कमल पाण्डेले बताए । उनले भने,“दबाब र प्रभावमा अयोजना छनोट गर्नुभन्दा आवश्यकता र स्रोतको सुनिश्चत गरेर आयोजना छनोट गरेमा आयोजनाले गति लिने थियो ।” माथिल्लो तामाकोशी, गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भने सम्पन्न भई सञ्चालनमा आइसकेका छन् ।

८० प्रतिशत वा सोभन्दा माथि समष्टिगत भौतिक प्रगति हासिल गर्ने आयोजना ६ वटामध्ये मेलम्ची खानेपानी आयोजना (प्रथम चरण) को समष्टिगत भौतिक प्रगति ८९.४७ प्रतिशत भएकोमा बाढीबाट हेड वक्र्सलगायत मुख्य संरचना क्षतिग्रस्त भएकोले मर्मत कार्य हुँदैछ । त्यसैगरी १२ वटा आयोजनामा ५० प्रतिशत वा सोभन्दा कम समष्टिगत वित्तीय प्रगति हासिल भएको राष्ट्रिय योजना आयोगले प्रकाशित गरेको राष्ट्रिय गौरवका आयोजनाहरुको संक्षिप्त प्रगति विवरणमा उल्लेख छ ।

आर्थिक वर्ष २०७८/०७९ मा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसहित १२ वटा आयोजनाको वार्षिक भौतिक प्रगति ८० प्रतिशत वा सोभन्दा बढी रहेको छ भने ५०–८० प्रतिशत भौतिक प्रगति हासिल गरेका आयोजना ६ वटामात्र छन् । ५० प्रतिशत वा सोभन्दा कम भौतिक प्रगति हासिल गर्ने आयोजना ३ वटा छन् । पश्चिम सेती जलविद्युत आयोजना र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको भने कत्ति पनि भौतिक प्रगति हुन सकेको छैन ।

सिक्टा सिँचाइ आयोजनाले पुस मसान्तसम्म १९.७१ प्रतिशत बजेट खर्च गरेको छ । यो आयोजनामा चालू आर्थिक वर्षमा एक अर्ब ८८ करोड ६१ लाख रूपैयाँ बराबर विनियोजन भएकामा हालसम्म ३७ करोड २० लाख रूपैयाँ बराबर खर्च भएको देखिएको हो । आयोजनाको आर्थिक वर्ष २०७८/०७९ सम्म १९ अर्ब ३५ करोड रुपैयाँ खर्च भएको छ भने २५ अर्ब २ करोण संशोधित कुल लागत रहेको छ । आयोजनाको हालसम्म भौतिक प्रगति ७२.५० प्रतिशत र वित्तीय प्रगति ७५.९ प्रतिशत हासिल गरेको छ ।

२०६१/०६२ सालमा निर्माण शुरु भएको आयोजना आर्थिक वर्ष २०८९/०९० सालमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । बबई सिँचाइ आयोजनाको आर्थिक वर्ष २०४५/०४६ मा निर्माण शुरु भएर आर्थिक वर्ष २०८२/०८३ मा निर्माण सम्पन्न गर्न लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७८/०७९ सम्म ११ अर्ब १५ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाको छ भने १८ अर्ब ९६ करोड संसोधित लागत रहेको छ । हालसम्म ६२.२३ प्रतिशत भौतिक र ५८.८४ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।

चालू आर्थिक वर्षमा एक अर्ब ५२ करोड २८ लाख ४० हजार बराबर विनियोजन भएकामा हालसम्म ३१.५१ प्रतिशत अर्थात् ४८ करोड १६ लाख ३४ हजार बराबर खर्च भएको छ । रानीजमरा कुलरिया सिँचाइ आयोजनाको हालसम्म १६ अर्ब १५ करोड खर्च भएको छ भने आर्थिक वर्ष २०७८/०७९ सम्म ५८.७० भौतिक प्रगति र ५८.५९ वित्तीय प्रगति हासिल भएको छ । आर्थिक वर्ष २०६७/०६८ सालमा निर्माण सुरु भएर आर्थिक वर्ष २०८०/०८१ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । हालसम्म १२ अर्ब ३७ करोड खर्च भएको आयोजनाको संसोधित लागत २७ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।

चालू आर्थिक वर्षमा दुई अर्ब ९० करोड रूपैयाँ बराबर बजेट विनियोजन भएकोमा १६.२७ प्रतिशत खर्च भएको छ । सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा आर्थिक वर्ष २०७३/०७४ मा सुरु भएर आर्थिक वर्ष २०८०/०८१ सालमा निर्माण समापन गर्ने लक्ष्य लिएको छ । हालसम्म ३ अर्ब ४९ करोड रूपैयाँ खर्च भएको आयोजनको ४६ अर्ब १९ करोड रुपैयाँ संसोधित लागत रहेको छ । २०७८/०७९ सम्म ७.६० प्रतिशत भौतिक प्रगति र ७.५७ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।

चालू आर्थिक वर्ष दुई अर्ब ७१ करोड ६२ लाख बजेट विनियोजन भएकामा पुस मसान्तसम्म ८७.९९ प्रतिशत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । भेरी–बबई डाइर्भसन बहुउद्देश्यीय आयोजनाको १५ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको छ भने संसोधित लागत अनुमान ३६ अर्ब ८० करोड रुपैयाँ रहेको छ । आयोजनाको चालू आर्थिक वर्षमा दुई अर्ब २७ करोड ७८ लाख रूपैयाँ बराबर बजेट छुट्याइएकामा पुस मसान्तसम्म १४.४३ प्रतिशत खर्च अर्थात ३२ करोड ८७ लाख रूपैयाँ बराबर खर्च भएको छ । २०६८/०६९ मा निर्माण शुरु भएर २०७९/०८० को आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

बूढीगण्डकी जलविद्युत आयोजनामा हालसम्म (आर्थिक वर्ष २०७८/०७९) ४१ अर्ब ४८ करोड रुपैयाँ खर्च भएको छ । २ खर्ब ६० अर्ब रुपैयाँ लगानी रहेको आयोजनाको २०६९/०७० मा निर्माण सुरु भएर आर्थिक वर्ष २०८३/०८४ मा निर्माण पूरा गर्ने लक्ष्य लिएको छ । आयोजनाको भौतिक प्रगति २२ प्रतिशत र वित्तीय प्रगति १५.९५ प्रतिशत पूरा भएको छ । आयोजनाको चालू आवका लागि सात अर्ब ९३ करोड २३ लाख बराबर विनियोजन गरेको थियो भने हालसम्मको खर्च भने १५.८५ प्रतिशत खर्च गरेको छ । सरकारले आयोजनालाई गति दिनको लागि बूढीगण्डकी कम्पनी स्थापना गरेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको अवस्था छ ।

आर्थिक वर्ष २०६७/०६८ सालमा निर्माण सुरु गरेको विद्युत प्रसारण आयोजना (मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति)आर्थिक वर्ष २०८४/०८५ सालमा पूरा गर्ने लक्ष्य लिएको छ । आयोजनाको कुल लागत ६१ अर्ब २६ करोड रुपैयाँ लागत रहेको छ । हालसम्म आयोजनको ३ अर्ब ७ करोड रुपैयाँ खर्च भएको भने भौतिक प्रगति ५ प्रतिशत र वित्तीय प्रगति ५ प्रतिशत मात्र रहेको छ । सरकारले चालू आवमा नौ अर्ब २५ करोड ३४ लाख बजेट विनियोजन गरेको थियो भने वार्षिक विनियोजनको ०.४३ प्रतिशत मात्र रहेको छ ।

रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाका आर्थिक आर्थिक वर्ष२०६७/०६८ मा निर्माण सुरु भएर आर्थिक वर्ष २०८६/०८७ मा निर्माण पूरा गर्ने लक्ष्य लिएको छ । कुल लागत ९ खर्ब ५५ अर्ब २२ करोड रुपैयाँ रहेको छ । हालसम्म २७ अर्ब ४८ करोड रुपैयाँ खर्च भएको छ भने भौतिक प्रगति ३८.५ र ३८.९२ प्रतिशत वित्तीय प्रगति भएको छ । चालू आवमा पाँच अर्ब ५२ करोड ८७ लाख रूपैयाँ विनियोजन भएकामा २१.५३ प्रतिशत खर्च भएको छ ।

आर्थिक वर्ष २०६६/०६७ मा सुरु भएर आर्थिक वर्ष २०८०/०८१ मा निर्माण सम्पन्न गर्न लक्ष्य राखिएको हुलाकी राजमार्गको हालसम्म ५२ अर्ब १८ करोड रुपैयाँ खर्च भएको छ । आयोजनाको ६५ अर्ब २० करोड रुपैयाँ लागत रहेको छ तर, हालसम्मको भौतिक प्रगति ८०.९० प्रतिशत र वित्तीय प्रगति ८०.०३ प्रतिशतमात्र हासिल गरेको छ । चालू आवमा हुलाकी राजमार्गका लागि ६ अर्ब सात करोड २० लाख विनियोजन भएकोमा पुस मसान्तसम्म ३८.५८ प्रतिशत खर्च भएको छ ।

पुष्पलाल मध्यपहाडी लोक मार्ग आयोजनाको आर्थिक वर्ष २०६४/०६५ मा निर्माण सुरु भएको थियो आर्थिक वर्ष २०७९/०८० मा निर्माण पूरा गर्ने लक्ष्य लिएको आयोजनाको हालसम्म भौतिक प्रगति ६४.१६ र ६९.७९ प्रतिशत वित्तीय प्रगति मात्र हासिल भएको छ । ८४ अर्ब ३३ करोड रुपैयाँ लागत भएको आयोजनाको हालसम्म ५८ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको छ । आयोजनाको चालू आवमा नौ अर्ब ३३ करोड १६ लाख रुपैयाँ विनियोजन भएकोमा १६.४९ प्रतिशत खर्च भएको छ ।

उत्तर दक्षिण (कोशी कोरिडोर) लोकमार्गको आर्थिाक वर्ष २०६५/०६६ मा शुरु भएर आर्थिक वर्ष २०८७/०८८ मा समापन गर्ने लक्ष्य लिएको छ । जसको हालसम्म्म ४ अर्ब ३८ करोड खर्च भएको छ । भौति प्रगति ४१ र ३६ प्रतिशत वित्तीय प्रगति भएको छ। काठमाडौँ–तराई मधेस फास्ट ट्रयाकको ३४ अर्ब २९ करोड रुपैयाँ खर्च भएको आयोजनाको आर्थिक वर्ष २०७३/०७४ मा निर्माण शुरु भएर आर्थिक वर्ष २०८०/०८१ मा पूरा गर्ने लक्ष्य लिएको आयोजनाको जम्मा भौतिक प्रगति २१ प्रतिशत र वित्तीय प्रगति १९ प्रतिशतमात्र रहेको छ ।

चालू आवका लागि ३० अर्ब सात करोड ८६ लाख बजेट छुट्याएकोमा पुस मसान्तसम्ममा लक्ष्यको ५.१३ प्रतिशत खर्च गरेको छ । आर्थिक वर्ष २०५५/०५६ सालमा निर्माण सुरु भएर आर्थिक वर्ष २०८०/०८१ मा निर्माण गर्ने लक्ष्य लिएको थियो । आयोजनाको ३१ अर्ब २ करोड रुपैयाँ खर्च भएको आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत र वित्तीय प्रगति ९५ प्रतिशत रहेको छ । चालू आवमा ८० करोड ७० लाख बराबरको बजेट विनियोजन भएको आयोजनाको कुल खर्च २०.११ प्रतिशत खर्च भएको छ ।

पशुपति क्षेत्र विकास कोषको १ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको छ । आयोजनाको आर्थिक वर्ष २०७८/०७९ मा निर्माण पूरा गर्ने लक्ष्य लिएको भएपनि भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति ६२ प्रतिशत मात्र रहेको छ। लुम्बिनी विकास कोषको ७ अर्ब २ करोड रुपैयाँ खर्च भएको छ भने भौतिक प्रगति ८७ प्रतिशत र वित्तीय प्रगति ५२ प्रतिशत मात्र रहेको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको १२ अर्ब ८ करोड रुपैयाँ खर्च भएको कार्यक्रममको भौतिक प्रगति ४.९९ प्रतिशत र वित्तीय प्रगति ४.८४ प्रतिशतमात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्