रारामा पर्यटक होइन चराको विचरण «

रारामा पर्यटक होइन चराको विचरण

नेपालका पर्यटकीय गन्तव्यमध्येको एक आकर्षक गन्तव्य हो मुगुको राराताल । रारामा अहिले भने पर्यटक होइन, विभिन्न किसिमका चराहरुले विचरण गरिरहेका छन् । पर्यटकका लागि यो चिसो मौसम हो । तर, कतिपय चराचुरुंगीका लागि भने अहिले राराको मौसम अनुकूल बनेको छ ।

अहिले राराभन्दा धेरै चिसो मौसम भएका स्थानबाट यहाँ चरा आएका हुन् । रारा समुद्र सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेकोे छ । रारातालको लम्बाइ ५ किलोमिटर, चौडाइ तीन किलोमिटर र गहिराइ १६७ मिटर छ । यहाँ भारत, तिब्बतको मानसरोवर, साइबेरियालगायत स्थानबाट चिसो छल्नका लागि दर्जनौं हाँस तथा जलेउ प्रजातिका चराहरु आएका छन् । यसले राराको सौन्दर्य थप बढाएको छ ।

रारा राष्ट्रिय निकुञ्ज हुटुका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठका अनुसार चिसो मौसममा विश्वभर नै चराहरु एक ठाउँबाट अर्को ठाउँमा पुगेर ४–५ महिना बस्ने अनि फेरि पुरानै स्थानमा सर्ने चलन छ । अहिले यहाँको भन्दा चिसो मौसममा रहेका चराहरु रारामा आएका हुन् । केही महिना बसेपछि फर्कनेछन् ।

खासगरी रारातालमा पाहुना चरा साइबेरियाबाट मंसिरदेखि आउन सुरु गर्छन् । तर, यो वर्ष माघबाट हिउँ परेको हुँदा चिसो छल्न हाँस, जलेवालगायत ४९ प्रजातिका चरा आएका छन् । यी चरा वैशाखसम्म रारामा बस्छन् । गर्मी बढेपछि फेरि आफ्नै ठाउँमा फर्कन्छन् । अहिले रारातालमा ७५ प्रतिशत चराहरु पानीमा खेलिरहेका देखिन्छन् ।

धेरै स्थानबाट आएका चराले राराको सौन्दर्य बढाएको रारा राष्ट्रिय निकुञ्ज राजापुर मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष जनकबहादुर रोकायाले बताए । स्थानीय रारा राष्ट्रिय निकुञ्जमा पाइने चिल, कालिज, वन कुखुरालगायत अन्य विभिन्न प्रजातिका चराहरुको आगमन पनि गत वर्षहरुमा भन्दा अहिले बढेको छ ।

हिउँदको चिसो समयमा बाहिरबाट रारामा आउने चराहरुको संख्या पनि निकै बढी रहेको स्थानीय बिर्खबहादुर रोकायाले बताए । उनले भने, “पहिला एकै प्रकारका हाँसमात्र देखिने गरेकामा पछिल्लो समय कालो, सेतोलगायत विभिन्न प्रकारका हाँसहरु देखिन थालेका छन् । अहिले पानीमा खेल्ने ५–६ प्रजातिका हाँस रारामा छन् ।”

प्रतिक्रिया दिनुहोस्