जुम्लाको जडिबुटीलाई कौडीको भाउ «

जुम्लाको जडिबुटीलाई कौडीको भाउ

उत्तरी छिमेकी मुलुक चीनले कोरोनाको बहानामा नाका बन्द गरेपछि कर्णालीका बासिन्दा कौडीको भाउमा जडिबुटी बेच्न बाध्य भएका छन् ।

कर्णाली प्रदेशको जुम्ला जडिबुटीका हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला हो । साविक कर्णालीका मुगु, डोल्पा, हुम्ला र जुम्लाका हिमाली भेगका नागरिकको मुख्य आयस्रोत नै जडिबुटी संकलन र बिक्री हो । त्यसमा पनि पातारासी र गुठीचौर क्षेत्रका बासिन्दाको जीवन अझै बढी जडिबुटी संकलन र बिक्रीमा निर्भर छ ।

यहाँ संकलित जडिबुटी चीन निर्यात हुँदै आएको छ । तर, कोरोनाको कारण देखाएर चीनले हिल्सा नाका बन्द गरेपछि जडिबुटी संकलन र बिक्री दुवै बन्दजस्तै भएको छ । नाका बन्दका कारण निर्यात रोकिएपछि स्थानीयले जडिबुटीको संकलन पनि कम गरेका छन् । कर्णालीको बहुमूल्य जडिबुटीलाई बजार अभाव भएपछि स्वाभावैले यसको मूल्यमा गिरावट आएको छ । अहिले मूल्य होइन, बेच्न ग्राहक पाए हुन्थ्यो भन्ने मानसिकतामा सबै छन् ।

अहिलेसम्म स्थानीय बासिन्दाले जडिबुटी संकलन गर्ने र त्यसलाई गाउँमै आउने व्यापारीलाई बेच्दै आएका थिए । चीन जाने नाका बन्द भएपछि स्थानीयवासीले संकलन गरेको जडिबुटी किन्न आउने व्यापारी पनि कम भएका छन् ।

कर्णालीको जडिबुटी सबैभन्दा बढी निर्यात हुने उत्तरी छिमेकी मुलुक चीनमा हो । साविक कर्णालीका व्यापारीले नेपाल–चीनबीचको उत्तरी हिल्सा नाकाबाट जडिबुटीको व्यापार गर्दै आएका छन् । अन्य व्यापारीले तातोपानी नाकाबाट चीनमा र सिधै भारतमा पनि जडिबुटीको व्यापार गर्ने गरेका छन् । तर, कोरोनापछि नेपाल–चीनको उत्तरी हिल्सा नाका पूर्ण बन्द भएको छ । करिब साढे २ वर्ष नाका बन्दको प्रभाव कर्णालीको जडिबुटी व्यापारमा देखिएको हो ।

कोरोनापछि नाका खुल्ने अनिश्चित भएपछि कर्णालीको जडिबुटीको निर्यात घट्नुका साथै मूल्यमा गिरावट र संकलनमा कमी आएको व्यापारी धनलाल बोहोरा बताउँछन् । उनी भन्छन्, “दुई वर्षपहिले ५ सय किलो सेतक चिनी (खिरौला) चीन पु¥याएको थिएँ । कमाइ पनि राम्रै भएको थियो । यसपालि व्यापारै ठप्प भयो । नाका खुल्ने टुंगो थिएन । कृषकले मूल्य कम पाउने चिन्ताले संकलन पनि थोरै गरेपछि विगतको तुलनामा यस वर्ष जडिबुटी निकै कम निर्यात भएको छ ।”

विगतका वर्षहरुमा किसानलाई उचित मूल्य दिएर पनि आफूलाई राम्रै फाइदा हुँदै आएको थियो । अहिले घाटा व्यहोर्नुपरेको अर्का व्यापारी ऐनबहादुर रोकायाले गुनासो गरे । पुष्पकमल दाहाल प्रधानमन्त्री भएलगत्तै हिल्सा नाका खुलेकाले व्यवसायीहरु केही आशावादी देखिएका छन् ।

पातारासी गाउँपालिका–५ का तारा बोहोराको मुख्य आम्दानीको स्रोत जडिबुटी संकलन र बिक्री हो । बोहोरा परिवारलाई जडिबुटीकै आम्दानीले लुगाफाटो, छोराछोरीको पढाइ र चाडवाडमा मिठो मसिनो खान र घर खर्च चल्दै आएको छ । विगतका वर्षमा जडिबुटी बेचेर ४/५ लाख रुपैयाँ कमाउँदै आएको परिवारले यस वर्ष मुस्किलले १ लाख ५० हजार आम्दानी भएको बोहोराले बताए ।

उनले भने, “विगतमा संकलन पनि बढी नै गरिन्थ्यो । कोरोनापछि व्यापारीले अन्तर्राष्ट्रिय बजार छैन भन्दै उपयुक्त मूल्य पनि नदिने र आम्दानी पनि नहुने भएपछि थोरै संकलन गर्‍यौं । एकातिर संकलन कम र अर्कोतिर व्यापारीले मूल्य घटाएर दिएपछि आम्दानी गुम्यो ।”

उनका अनुसार यार्सागुम्बाको विगतमा प्रतिकिलो ४० हजारभन्दा बढी र प्रतिपिसको १ हजारसम्म पाइन्थ्यो भने गुच्ची च्याउ ६–७ सय प्रतिकिलोमा बिक्री हुँदै आएको थियो । कोरोनापछि प्रतिकिलो ५ सय पनि पाउन मुस्किल छ । यस्तै सेतक चिनी, धुपी, तितेपाती, पदमचाल, वन लसुन, सुगन्धवालजस्ता जडिबुटीको मूल्य प्रतिकिलो ३ देखि ५ सय रुपैयाँ घटेको बोहोराको भनाइ छ ।

व्यापारीहरुका अनुसार आर्थिक २०७७/०७८ मा बहुमूल्य जडिबुटी यार्सागुम्बा प्रतिकिलो ४० हजार रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भएको थियो । अहिले यो घटेर प्रतिकिलो ३० हजार र प्रतिपिस ६ सय रुपैयाँमा झरेको छ ।

यस्तै, विगतमा प्रतिकिलो ७ सय रुपैयाँमा गुच्ची च्याउ बिक्री हुने गरेको थियो । अहिले बजार अभावमा ५ सय किलोमा दिँदा पनि यो च्याउ बिक्री भएको छैन । जुम्लाबाट करिब २२ प्रकारका जडिबुटी निर्यात हुने गरेको छ ।

व्यापारी र किसानहरुका अनुसार सेतक चिनी, सुगन्धवाल, पदमचाल, वन लसुन, रातो च्याउलगायतका करिब दुई दर्जनभन्दा बढी जडिबुटीको मूल्य तीन वर्षयताको तुलनामा निकै खस्केको छ । यी सबै जडिबुटीको मूल्य प्रतिकिलो ५ सय रुपैयाँभन्दा बढीले घटेको छ ।

जडिबुटीको मूल्यसँगै यसको निर्यात पनि खस्केको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी खड्कबहादुर महतका अनुसार गत आर्थिक वर्ष २ सय १ टन जडिबुटी चीनतर्फ निर्यात भएको थियो । यो वर्ष ७६ टनमात्र निर्यात भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा जुम्लाबाट २ सय २ टन जडिबुटी निर्यात भएको देखिन्छ, जुन अहिलेसम्मकै उच्च हो । उनले पछिल्लो तीन वर्षमा जुम्लाबाट ४ सय ७९ टन जडिबुटी निर्यात भएको बताए ।

राजस्व १ करोड
जडिबुटी संकलनबापत डिभिजन वन कार्यालय जुम्लाले तीन वर्षमा १ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । जडिबुटी संकलन र निर्यातबाट राजस्व असुली हुँदै आएको छ ।

चालू आर्थिक वर्षमा ७६ टन जडिबुटी संकलन गर्दा १५ लाख ११ हजार राजस्व संकलन भएको छ । आव २०७७/०७८ मा २ सय २ टन जडिबुटी संकलन र निर्यात गर्दा २९ लाख ७४ हजार रुपैयाँ राजस्व उठेको थियो । गत आवमा ३५ लाख ५८ हजार रुपैयाँ राजस्व उठेको छ ।

प्रतिक्रिया दिनुहोस्