Logo

गरिबी पहिचान तथा परिचयपत्र वितरण गरिने

लमजुङमा गरिब घरपरिवार पहिचान तथा गरिव परिचयपत्र वितरण हुने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजना र जिल्ला समन्वय समिति लमजुङको समन्वयमा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो ।
चालू आर्थिक वर्षबाटै जिल्लाका आठवटै स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने जिल्ला समन्वय समिति लमजुङले जनाएको छ । कार्यक्रमका बारेमा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिलाई अभिमुखीकरणसमेत गरिएको छ । परिचयपत्र वितरणपछि सामाजिक सुरक्षालगायत सरकारी तथा गैरसरकारी पक्षबाट प्रदान गरिने सेवा सहज हुने विश्वास गरिएको जिल्ला समन्वय अधिकारी फडिन्द्र दाहालले बताए ।
“सरकाले घोषणा गरेको कार्यक्रम हो, यसलाई अभियानकै रूपमा लिएका छौं,” दाहालले भने “पहिचान र परिचयपत्र वितरणपछि गरिवी परिवारको पहुँच सुनिश्चित हुने तथा गरिव परिवार पहिचान गरी उनीहरूको जीवनस्तर उकास्न मद्दत पुग्ने विश्वास गरेका छौं ।”
गरिब घर परिवार पहिचान तथा गरिव परिचयपत्र वितरण कार्यक्रमका लागि लमजुङका सबै स्थानीय तहमा ४१ जना गणक र आठ जना सुपरिवेक्षक छनोट गरिएको कार्यक्रम फोकल पर्सन विजयराज पौडेलले बताए । छनोट भएका सुपरिवेक्षक तथा गणकलाई शुक्रबारदेखि पाँचदिन प्रशिक्षण गराई कार्यक्षेत्रमा खटाइने जिल्ला समन्वय समिति लमजुङले जनाएको छ । करिव पाँच महिनाको अवधिमा जिल्लाका सबै घरधुरीमा गणक तथा सर्वेक्षक पुग्ने कार्ययोजना बनेको छ ।

प्रतिक्रिया दिनुहोस्