एकैरात १३ घरमा चोरी

देशकै पहिलो (घरबास) होमस्टे आँधीखोला गाउँपालिका–१ सिरुबारी गाउँमा एकै रात १३ स्थानमा चोरी भएको छ । वडा कार्यालयसहित एक बौद्ध गुम्बा, एक सहकारी र आठवटा निजी घरमा एकैरातमा चोरी भएको हो । राजास्वाँरादेखि सिरुबारी गाउँसम्मको दुई किलोमिटर क्षेत्रभित्र चोरी भएको स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले बताए ।
चोरी गर्नेले मुख्य गरेर सुन र नगदमा ध्यानमा दिएको देखिन्छ । बौद्ध गुम्बाको दान पेटिका लग्दा भित्र रहेका वर्षौंदेखिका पुराना बुद्धका मूर्तिमा भने केही नगरेको थापाले जानकारी दिए । चोरी गर्नेले तीन लाख ३६ हजार रुपैयाँ नगदसहित, साढे १० तोल सुन चोरी गरेका छन् । सबैभन्दा धेरै सम्पत्ति स्थानीय पूर्णबहादुर गुरुङको घरबाट चोरी प्रहरीको प्रारम्भिक अनुमान छ ।
गुरुङ परिवार पोखरा गएको मौका छोपी सुनबाट बनेको मङ्गलसूत्र, चन्द्रमा, नौगेडी, चुरा, बेरुवा औँठी गरी साढे १० तोला सुन र नगद दुई लाख पाँच हजार लगेको थापाले जानकारी दिए । यस्तै वडा कार्यालयबाट ३० हजार रुपैयाँ र पूर्णबहादुर बगालेकोबाट सीसीटीभी, मोनिटर र सीपीयू लगेका छन् ।
चोरीमा संलग्न चोरहरूले गंगाधर ढकालको किराना पसलबाट ७ हजार, मेखबहादुर दर्जीको पसलबाट २० हजार, लक्ष्मी शर्माको फेन्सी पसलबाट ७ हजार, कृष्णप्रसाद पौडेलको पसलबाट सात हजार, मित्रलाल अधिकारी र दिगो बहुउद्देश्यीय सहकारीबाट एक/एक हजार नगद, ख्यामबहादुर दर्जीको घरबाट दुई केजी सुकुटी चोरी गरेका छन् ।
मानिस नभएको घर र पसलबाट चोरी भएकाको कारण चोरी गर्ने नजिकैका वा चिने जानेकै मान्छे हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार वडा कार्यालयबाट राजस्वको खाममा रहेको ८८ हजार र अफिसका ल्यापटप, कम्प्युटर केही नगरेको देखिन्छ ।
चोरीमा संलग्नको खोजी कार्यलाई प्रहरीले तीव्रता दिएको छ । सिरुबारीबाट पोखरा, पर्वत र स्याङ्जाकै दक्षिण भेगका नाकामा व्यापक रूपमा प्रहरी परिचालन गरी खोजीकार्य गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए ।