विद्यार्थीको रोजाइ प्राविधिक शिक्षा «

विद्यार्थीको रोजाइ प्राविधिक शिक्षा

पछिल्लो समय विद्यार्थीहरुले सुरक्षित भविष्यका लागि प्राविधिक शिक्षा रोज्न थालेका छन् । अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले चाहनाअनुसारको प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढेको पाइन्छ । राम्रो वैदेशिक रोजगारीका लागि अभिभावकले पहिले महँगो खर्च गरेर निजी विद्यालय रोज्ने चलन बढेको थियो ।

पछिल्लो समय स्वदेश तथा विदेशमा रोजगारीका लागि भाषासँगै सिपमूलक शिक्षामा अभिभावक र विद्यार्थीको ध्यान जान थालेको छ । गण्डकी प्रदेश सरकारले आवास सुविधासहितको निःशुल्क प्राविधिक शिक्षाको रूपमा एक पालिका एक प्राविधिक शिक्षाअनुसार २०७६ सालमा जलविद्युत गाउँको रूपमा चिनिएको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा इलेक्ट्रिकल इन्जिनियरिङको पढाइ सुरु भएको थियो ।

नौवटा जलविद्युत आयोजना निर्माणाधीन रहेको नारच्याङ पढाइसँगै प्रत्यक्ष रूपमा अभ्यासमा सहभागी शिक्षा पढ्नका लागि अन्नपूर्ण गाउँपालिकासँगै रघुगंगा गाउँपालिका, बेनी नगरपालिका, पर्वत, बागलुङ र पोखराबाट विद्यार्थीहरू आउने गरेका छन् । भविष्यमा गाउँमै जलविद्युत आयोजनामा काम गर्ने लक्ष्यसहित नारच्याङकी रितु पुर्जाले कक्षा ९ देखि इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा अध्ययन सुरु गरेकी छन् । उनी जस्तै रघुगंगा गाउँपालिकाका प्रज्ज्वल थापाले कक्षा १० मा, पर्वत जलजला गाउँपालिकाकी आदिति गुरुङले कक्षा १२ इलेक्ट्रिक इन्जिनियर पढिरहेका छन् ।

सामान्य शिक्षामा भविष्य असुरक्षित देखेपछि प्राविधिक शिक्षातर्फ लागेको कक्षा १० मा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययरत नारच्याङकी सोनी थकाली बताउँछिन् । उनले गाउँमै दर्जनजति जलविद्युत आयोजना निर्माण भइरहेका छन् । भविष्यमा जलविद्युतमा काम गर्नका लागि इलेक्ट्रिकल इन्जिनियर रोजेको उनले सुनाइन । त्यस्तै पोखरा पढदै गरेका अन्नपूर्ण गाउँपालिका–६ घारका नवराज वरुवालले विद्यालयमा कक्षा ९ भर्ना भएर अहिले १२ मा इलेक्ट्रिकल इन्जिनियर पढ्दै आएका छन् । बरुवालले प्राविधिक शिक्षा आजको आवश्यकता हो भन्ने बुझाइले पोखरा छोडेर यहाँ आएको बताए ।

प्राविधिक शिक्षाले जीवनोपयोगी सीप सिकाएको बरुवालले सुनाए । प्राविधिकधार इलेक्ट्रिकल इन्जिनियरिङतर्फ ९ देखि १२ सम्म अध्ययन गरेपछि विद्यार्थीहरू सबइन्जिनियर बन्नसक्छन् । यो अध्ययन गरेपछि घरको वाइरिङ, फ्यान, जेनेटर, बेट्री र ट्रान्सफर्मरलगायतको विद्युतीय उपकरण मर्मत गर्न विद्यार्थीहरू सक्षम हुने इलेक्ट्रिकल इन्जिनियर शिक्षक सुरज आचार्यले बताए । जलविद्युत आयोजनालाई चाहिने जनशक्ति उत्पादनसँगै भविष्यमा रोजगारीतर्फ सुरक्षित गराउनका लागि सुरु गरेका प्राविधिक शिक्षातर्फ प्रभा माविले आगामी वैशाखमा २१ जना ओभरसियर (सबइन्जिनियर) पहिलो ब्याजमा उत्पादन गर्दैछ ।

जलविद्युत आयोजनाका लागि आवश्यक जनशक्ति उत्पादन गर्नका लागि २०७६ सालदेखि गण्डकी प्रदेश सरकारले प्राविधिक शिक्षासहित सुरु गरेको यस विद्यालयमा निःशुल्क छात्रावास, चमेनागृहलगायतको सुविधा सञ्चालन भएको प्रअ अनुमोल भण्डारीले बताए । प्राविधिकतर्फ अहिले ८० जना विद्यार्थीले अध्ययन गरिरहेको उनले जानकारी दिए ।
हाम्रो शिक्षा पद्धतिले अहिलेसम्म बेरोजगार जनशक्तिमात्र उत्पादन गरेपछि पछिल्लो समय प्रदेश सरकारको पहलमा स्थानीय स्रोत साधनको सम्भावनलाई मध्यनजर गरेर स्वरोजगार जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा सञ्चालन गर्न पहल गरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।

गाउँमा दर्जनजति जलविद्युत आयोजना निर्माणाधीन छन् । एक जलविद्युत आयोजना बराबर २० जना इलेक्ट्रिकल आवश्यक पर्छ । त्यहाँको जनशक्ति पूर्ति गर्नका लागि प्राविधिक शिक्षा सुरु गरेको जानकारी गराए । सुरु–सुरुमा विद्यार्थीहरूको चाप बढेको थियो । तर, प्राविधिक शिक्षातर्फको महत्वबारे प्रचारप्रसार हुन नसकेपछि राज्यको लगानीअनुसार सोचेजति विद्यार्थी जुटाउन ग्राहो परेको अनुभव अध्यक्ष गुरुङले सुनाए ।

प्राविधिक शिक्षा सुरु भएको वडा नम्बर ४ नारच्याङमा नौवटा जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छन् भने तीनवटा जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिसकेका छन् । एक पालिका एक प्राविधिक शिक्षाअन्तर्गत म्याग्दीमा अन्नपूर्ण र धवलागिरि गाउँपालिकामा इलेक्ट्रोनिक, रघुगंगा, मालिका र मंगलामा कृषि र बेनी नगरपालिकामा शिभिल इन्जिनियरिङको अध्यापन हँुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्