अन्नपूर्णमा २७ प्रतिशत बजेट खर्च «

अन्नपूर्णमा २७ प्रतिशत बजेट खर्च

अन्नपूर्ण गाउँपालिकामा चालू आर्थिक वर्षमा २७.८४ प्रतिशत बजेट खर्च भएको छ । गाउँपालिकाको १६औं गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले चालू आवको कुल ४९ करोड ७३ लाख ३६ हजार रपैयाँ बजेट विनियोजन भएकोमा १३ करोड ७५ लाख १० हजार ४ सय ९१ रुपैयाँ खर्च भएको जानकारी दिए । चालू आर्थिक वर्षमा एक करोड ४५ लाख रुपैयाँ आन्तरिक आम्दानीको लक्ष्य राखेको ६ महिनाको अवधिमा एक करोड २८ लाख ८५ हजार ४ सय ३१ रुपैयाँ संकलन भएको अधिकृत पौडेलले बताए ।

सभामा आर्थिक वर्ष २०७७/०७८ को अन्तिम लेखा परीक्षण प्रतिवेदनअनुसार पाँच करोड ६७ लाख ७८ हजार बेरुजु रहेको र लेखा समिति नहुँदा बेरुजु सम्परीक्षण गर्न समस्या भएको शर्माले जानकारी गराएका थिए । प्रशासकीय अधिकृत पौडलले आर्थिक वर्ष २०७९/०८० देखि २०८३/०८४ सम्मको पञ्चवर्षीय आवधिक योजना, राजस्व सुधार कार्ययोजना, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मूलप्रवाहीकरण रणनीतिक योजना २०७९ अनुमोदनका लागि सभामा प्रस्तुतग रिएको थियो ।

सभामा चालू आर्थिक वर्षका लागि थप दुई करोडको संशोधित बजेट प्रस्ताव, एकवटा विधेयक टेबुल र आवधिक, राजस्व सुधार र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण योजना प्रस्तुत गरिएको छ । चालू आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत भएको सभामा आर्थिक वर्ष २०७७/०७८ को अन्तिम लेखा परीक्षण प्रतिवेदन छलफलका लागि प्रस्तुत र लेखा समिति गठनको प्रक्रिया अगाडि बढाएको छ ।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले गाउँसभा सदस्यहरूलाई प्रस्तुत बजेट, विधेयक, योजना र प्रस्तावको अध्ययनका लागि तीन दिनको समय उपलब्ध गराएर माघ २१ गते ११ बजेसम्मका लागि सभा स्थगित गरिएको जानकारी गराए । “सभामा प्रस्तुत विषय र मुद्दाका विषयमा सदस्यहरूले अध्ययन गरेर प्रष्ट बनुन् भनेर दुई दिनको समय उपलब्ध गराइएको हो,” उनले भने, “कार्यपालिका र गाउँसभाका सदस्यहरूले बजेट, विधेयक र निर्णयको अपनत्व लिने वातावरण बनाउने अभ्यास गरेका छौं ।”

गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले गत असारमा पारित भएका योजनामा थप भएकोसहित ४९ वटा योजनाका लागि दुई करोड रपैयाँ अल्या बजेट विनियोजन गरेको प्रस्ताव गरेकी थिइन । गाउँपालिकाको प्रमुख प्रशासकीय भवन तथा जग्गा ब्यवस्थापनका लागि यसअघि ५० लाख छुट्याएको थप ५० लाख छुट्याउनका लागि प्रस्ताव गरेकी थिइन् । असारको गाउँसभाले पारित गरेका १ सय ७ वटामध्ये २८ वटा सम्झौता र ६ वटा सम्पन्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस्