सिमरा विमानस्थलमा उडान र यात्रु दुवै घटे «

सिमरा विमानस्थलमा उडान र यात्रु दुवै घटे

सिमरा–काठमाडौं रुटको नियमित उडानमा ५० प्रतिशतले कमी आए पनि निजी एयरलाइन्सले कम भाडामा समेत पूरा यात्रु पाउन सकेका छैनन् । दैनिक १२ वटा उडान भर्दै आएको निजी एयरलाइन्सले पाँचदेखि ६ उडान गर्ने गरे पनि यात्रुको संख्यामा व्यापक कमी आएपछि न्यूनतम भाडा दरमा कमी गर्दा समेत विमानले पूरै यात्रु पाउन नसकेको हो ।

सिमराबाट यती एयरलाइन्सको नियमित दुई उडान एटीआरमार्फत् हुँदै आए पनि यात्रु नभएकै कारण एक उडान हुने गरेको बताउँदै यतीका सिमरा इन्चार्ज अक्कलबहादुर वाईबाले तोकिएको भाडामा केही कमी गरेको बताए । बुद्ध एयरले भने न्यूनतम भाडा दरमै उडान गर्ने गरेको छ । नागरिक उड्डयन कार्यालयले सिमराले निजी एयरलाइन्सले यात्रुलाई तोकिएको न्यूनतम भाडादरमा केही कमी गरे पनि यात्रुको संख्यामा खासै प्रगति हुन नसकेकोे र दैनिक २ हजारसम्म यात्रुले ओहरदोहर गर्ने बिमानस्थलमा बढीमा तीन सय यात्रुले उडान भर्ने गरेको जनाएको छ ।

कार्यालयका प्रमुख सूर्यबहादुर खत्रीले ७२ सिटको एटीआरमा बुद्धको पाँचवटा र यतीको एक मात्र विमानले उडान हुने गरेको बताए । उनले बुद्धको विमानमा आतेजाते सय जना यात्रुसमेत हुने नगरेको र यतीको दोहोरो यात्रु ४० देखि ४६ जना यात्रु हुने गरेको बताए । बिगतमा झैं अत्यन्त जरुरी छिटो कामले राजधानी जानुपर्नेले मात्र उडान प्रयोग गर्ने अवस्था बन्दै गएको सिमरा ट्राभल्स एण्ड टुर्सका सञ्चालक रामचन्द्र लामाले बताए । लामाले यात्रुको संख्यामा व्यापक कमी केही समय अघिको विमान दुर्घटनाको असर पनि एउटा कारण बनेको बताए ।

चालू उडानले समेत पूरा यात्रु नपाएपछि निजी बिमान कम्पनीले उडान संख्या अझै घटाउन सक्ने अवस्था बन्दै गएको छ । तर बुद्ध एयर सिमराका इन्चार्ज सुरेश रेग्मीले अहिले अफ सिजन र चिसो मौसमका कारण मानिसको मुभमेन्ट कम हुने गरेकाले यात्रु कमी भएर घटेको उडान संख्या विस्तारै बढ्ने बताए । सिमराबाट काठमाडौंको हुने उडानमा सीमावर्ती भारतीय पर्यटक, बारा पर्सा औद्योगिक करिडोरका व्यापारी, नेता, तथा रौतहट र मकवानपुर जिल्लाका यात्रुले समेत प्रयोग गर्दै आएको छ ।

यात्रुको संख्यामा कमी आएपछि यती एयरलाइन्स भाडा कम गरेको छ भने बुद्ध एयरले न्यूनतम भाडादर तोकेको छ । दैनिक १५ सयदेखि दुई हजारसम्म यात्रु ओहरदोहर गर्ने भए पनि हाल करिब दुईदेखि तीन सय यात्रुले सेवा लिँदै आएको विमानस्थलले जनाएको छ । यात्रु कमी भएकै कारण कतिपय उडान मौसमलगायतको कारण देखाई डिले गर्ने गरेको यात्रुहरूले आरोप लगाएका छन । चपुरबाट काठमाडौं जान आएका श्याम लामिछानेले समयमै उडान नभएर डिले हुने भएपछि कुरेर बस्नुभन्दा केही यात्रु समन्वय गरी स्र्कापियो रिजर्भ गरेर गन्तव्यमा लागेका थिए ।

यसअघि नियमित हवाई यात्रा गर्ने यात्रुहरू बस, सुमो र भाडाका सबारी प्रयोग गरी राजधानी जाने क्रम भने बढेको यातायात व्यवसायीहरू बताउँछन् । हवाई सेवामा यात्रु कमी भए पनि काठमाडाैं जाने सार्वजनिक सवारीमा भने यात्रुको संख्या एकाएक वृद्धि भएको यातायात व्यवसायी संघले जनाएको छ । अफसिजन हुँदा र दुर्घटनाका कारण उडान घट्नु स्वाभाविक भएको भन्दै पुरानै लयमा फर्कन लामै समय लाग्न सक्नेमा वायुसेवा कम्पनीहरू चिन्तित छन् ।

प्रतिक्रिया दिनुहोस्