नेपालगन्जका सात स्थानमा ‘फ्री वाईफाई सेवा

नेपालगन्ज उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रका सात स्थानमा ‘फ्री वाईफाई जोन’ बनाएको छ । उपमहानगरपालिकाका सूचना प्रविधि शाखाका अनुसार पहिलो चरणमा नगरका बढी चहलपहल हुने विपी चोक, धम्बोझी चोक, चौलिका चोक, सेतु विक चोक, पुष्पलाल चोक, कारकाँदो चोक र भेरी अस्पताल क्षेत्रलाई ‘फ्री वाईफाई जोन’ बनाइएको हो ।
सुरुमा परीक्षणका रुपमा मानिसहरूको बढी चहलपहल हुने सात स्थानमा ‘फ्री वाईफाई’ सुविधा सुचारु गरिए पनि लगत्तै अन्य चार स्थानलाई पनि ‘फ्री वाईफाई जोन’ बनाउँने उपमहानगरपालिकाले जनाएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकसँगको सहकार्यमा उपमहानगरपालिकाले सुरु गरेको निःशुल्क वाईफाई सेवाको मंगलबार नगरप्रमुख प्रमुख प्रशान्त विष्टले सुभारम्भ गरे । नगरलाई सूचना प्रविधिमैत्री बनाउँदै सर्वसाधारणलाई निःशुल्क इन्टरनेटको सुविधा दिने उद्देश्यले हाललाई केही मुख्य चोकहरूलाई लक्षित गरी वाईफाई निःशुल्क चलाउने व्यवस्था गरिएको नगर प्रमुख विष्टले बताए ।
“सुरुवातमा मानिसहरुको बढी चहलपहल हुने सात स्थानमा ‘फ्री वाईफाई’ को सुविधा दिएका छौं,” उनले भने, “लगत्तै अन्य चार स्थानलाई पनि ‘फ्री वाईफाई जोन’ बनाउँछौ ।” नगरलाई सूचना प्रविधिमैत्री बनाउने नीति अनुरुप हाल मानिसको बढी चहलपहल हुने स्थानमा ‘फ्री वाईफाई’ जडान गरिए पनि यसको सफल परिक्षणसँंगै २३ वटै वडाका मुख्यस्थानमा सेवाविस्तार गरिने उपमहानगरपालिकाले जनाएको छ । हाल उपमहानगरपालिकाका २३ वटै वडामा इन्टरनेट पहुँच विस्तार भएको र अनलाइन प्रणालीवाट काम भइरहेको छ ।
एकजना व्यक्तिले २४ घण्टामा ५ सय एमबी बराबरको डाटा प्रयोग गर्न पाउने सूचना प्रविधि शाखा प्रमुख धनश्याम बर्माले जानकारी दिए । हरेक चोकको तीनसय मिटर उत्तर र दक्षिणसम्म इन्टरनेट पहुँच हुने गरी सुविधा दिइएको बताउँदै एक चोकबाट अर्को चोक पुग्दासम्म डिस्कनेक्ट नहुने गरी सुविधा दिने प्रयास गरिएको उनको भनाइ छ । वल्र्ड लिंक नेपालगन्जका प्रमुख नवराज शर्माले अप्ठोरो अवस्थामा वाईफाईको सही सदुपयोग होस् भन्ने हेतुले हाललाई मुख्य चोकहरूमा सुरुवात गरिएको बताउँदै यसको दुरुपयोग वा अनाधिकृत प्रयोग रोक्न पब्लिकलाई ट्रयाक गरेर सिस्टममा ल्याउन पोर्टल पनि बनाइएको जानकारी दिए ।
सर्वसाधारणले पहिलोपटक निःशुल्क वाईफाई प्रयोग गर्दा आफ्नो मोबाइल नम्बर प्रविष्ट गर्नुपर्ने शर्माले बताए । त्यसपछि आउने नोटिफिकेसनका आधारमा सुविधा पाइनेछ । ‘फ्री वाईफाई जोन’ सुभारम्भ कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल, वडा नम्बर १८ का वडाध्यक्ष दिपककुमार बर्मा, कार्यपालिका सदस्य वसन्तकुमार कनौजियालगायतको उपस्थिति थियो ।