पानीको शुद्धता मापन गर्ने उपकरण प्रयोगमा आएनन् «

पानीको शुद्धता मापन गर्ने उपकरण प्रयोगमा आएनन्

कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ मा पानीको शुद्धता मापनका लागि वितरण गरिएका उपकरण प्रयोगमा आएका छैनन् । सबै जिल्लाबाट सुर्खेतमा कर्मचारी बोलाएर तीन दिनसम्म पानी शुद्धिकरण गर्ने किटसहित उपकरण दिएर जिल्लामा पठाएको भए पनि काम हुन नसकेको हो ।

तत्कालीन जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहको निर्देशनमा पानीको शुद्धताको अवस्था पत्ता लगाई योजना बनाउन सजिलो हुने भन्दै सबै जिल्लामा किट बाकससहितको उपकरण पठाएको थियो । पठाएका ती उपकरण र किट बाकस कार्यालयमा थन्क्याएर राखिएको अवस्थामा रहेको पाइएको छ । जाजरकोटमा भने केही काम भएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताए । उनका अनुसार १२ वटा ठाउँमा पानीको शुद्धता मापन भएको छ । अन्य नौ जिल्लामा कुनै पनि काम हुन सकेको छैन ।

तालिम र उपकरण दिएर पनि काम नगर्ने हो भने सो सामग्रीको के काम भयो र ? रुकुम पश्चिम आठबीसकोट–६ का रामबहादुर नेपालीले बताए । स्थानीयबासीले कार्यालयमा पानीको अवस्था पत्ता लगाउन निवेदन दिएमा सो ठाउँमा गएर पानीको शुद्धता परीक्षण हुने गर्दछ । जिल्लामा पानी शुद्धता मापन गर्ने उपकरण बारेमा सर्वसाधारणलाई जिल्ला कार्यालयले जानकारी नै नगराएको सर्वसाधारणको गुनासो छ । उता भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयका सिडीई गोपाल शर्माले जिल्लामा पठाएका उपकरणबाट केही काम नभएको स्वीकार गरे ।

पटकपटक रिपोर्ट पठाउन आग्रह गरिएको भए पनि कुनै रिपोर्ट नआएको उनले बताए । अघिल्लो वर्षको समीक्षामा समेत पानीको शुद्धतासम्बन्धी कुनै काम नभएको रिपोर्ट पेस गरिएको थियो । तत्कालीन मन्त्रालयका सचिव डा. जगदिश्वर कर्माचार्यले जिल्ला कार्यालयबाट रिपोर्ट माग्दा कुनै पनि रिपोर्ट नदिने गरेको पीडा सुनाएका थिए । अहिले पनि मन्त्रालयले सोधेको जवाफ जिल्ला कार्यालयले नपठाउने गरेको मन्त्रालयका अधिकारीले बताएका छन् ।

झण्डै २० लाखभन्दा बढी खर्चेर गरिएको कामको कुनै प्रतिफल नआउनुले कर्मचारी तन्त्रभित्र देखिएको मनपरिले काम हुन नसकेको सेवाग्राहीको भनाइ छ । मन्त्रालयमा सरसफाइ हेर्ने फोकल व्यक्तिले समेत जिल्लामा भएका कामहरूको बारेमा चासो नदिँदा नतिजा नआउनु अर्को समस्य भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्