आन्तरिक हवाई यात्रु ३८ प्रतिशत घटे «

आन्तरिक हवाई यात्रु ३८ प्रतिशत घटे

पोखरामा हालै भएको यती एयरलाइन्सको दुर्घटना र प्रतिकूल मौसमका कारण आन्तरिक हवाई यात्रुको संख्या करिब ३८ प्रतिशतले घटेको छ । यो बेला तराईका विभिन्न गन्तव्यमा लाग्ने हुस्सुले समयमा उडान नहुने समस्या सधैंको हो ।

यस्तै, जाडोमा सर्वसाधारणको गतिविधि पनि कम हुने गर्छ । यी दुवै कारण अघिल्ला वर्षहरुमा पनि यो बेला आन्तरिक हवाई यात्रुको संख्यामा कमी आउने गर्थ्यो । यी कारणसँगै यही माघ महिनामा पोखरामा भएको यतीको विमान दुर्घटनाले पनि हवाई यात्रु घटाउन ठूलो भूमिका खेलेको हो । पोखराजस्तो सुरक्षित स्थानमा अहिलेसम्मकै ठूलो हवाई दुर्घटना भएपछि आम सर्वसाधारणमा बस नै पो ठिक हो कि भन्ने भावना जागृत भएको छ । यही कारण विगतमा हवाई यात्रामा निस्कनेहरुको रोजाइ अहिले बस वा साना सवारीसाधन बनेका छन् ।

आन्तरिक हवाई यात्रुको पछिल्लो तथ्यांकले पनि यस्तै संकेत गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अधिकारी र वायुयान सञ्चालकहरुले प्रतिकूल मौसमका साथै हवाई दुर्घटनाको डरले यात्रु घटेको अनुमान गरेका छन् । विगतमा दैनिक औसत १३ हजार जनासम्म आन्तरिक हवाई यात्रुले काठमाडौं विमानस्थलबाट उडान तथा अवतरण गर्ने गरेकामा अहिले यो संख्या ८ हजार हाराहारीमा झरेको छ । यो साढे ३८ प्रतिशतको कमी हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार हवाई दुर्घटना भएपछिका केही साता यात्रु संख्या धेरै घटेकामा अहिले विस्तारै बढेको छ । “पछिल्लो समय भएको हवाई दुर्घटनाले यात्रुमा एक किसिमको त्रास बढाएको छ । यही बेला मौसममा पनि फेरबदल आएकाले तराईका विमानस्थलमा समयमा उडान नहुने समस्या छ,” उनले कारोबारसँग भने, “यही कारण आन्तरिक हवाई यात्रुको संख्यामा कमी आएको हो । तर, यो संख्या विस्तारै बढ्ने क्रममा छ ।”

निजी हवाई सेवा कम्पनी बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले भने हवाई यात्रु घट्नुमा भिन्न कारण देखाए । उनका अनुसार गत आठ–नौ महिनायता हवाई भाडामा वृद्धि भएसँगै यात्रुको संख्यामा कमी आएको छ । उनले भने, “पछिल्लो समय हवाई दुर्घटना तथा मौसममा आएको प्रतिकूलता, जनवरी महिनामा हवाई यात्रुको संख्यामा आउने कमीले पनि यात्रुको संख्या घटेको हो ।” उनले पनि घटेको यात्रुको संख्या पछिल्लो समय क्रमशः वृद्धि हुने क्रममा रहेको दाबी गरे ।

निजी वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार अहिले पर्यटकीय सिजन पनि नभएका कारण यात्रुको संख्या घटेको हो । पछिल्ला दिनमा भारतीय पर्यटकको रोजाइ हवाई सेवाभन्दा सडक मार्ग हुन थालेको बताइएको छ । उनले भने, “पछिल्लो समय हवाई यात्रुको संख्यामा कमी आएको भए पनि त्यो संख्या विस्तारै वृद्धि हुने क्रममा रहेको छ ।”

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले हवाई दुर्घटनापछि यात्रुको संख्यामा कमी आएको सत्य भएको बताए । उनले पछिल्ला दिनमा यात्रु विस्तारै बढ्ने क्रममा रहेको भन्दै जुन गतिमा वृद्धि हुनुपर्ने हो त्यो भने नरहेको जानकारी दिए ।
सरकारले हवाई इन्धनको मूल्यमा कमी गरेसँगै हवाई भाडामा पनि कमी आएको र आगामी दिनमा मौसममा सुधार भएपछि यात्रुको संख्या बढ्ने हवाई सेवा कम्पनीहरुको अनुमान छ ।

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलका अनुसार माघ महिनाअगाडि २ सय ५० सम्म उडान कार्यतालिका (उडान तथा अवतरण) हुने गरेकामा त्यो संख्या अहिले २ सय १० को हाराहारीमा हुने गरेको छ । विमानस्थल कार्यालयका अनुसार पुस ३० मा १ सय २१ उडान भर्ने (एकतर्फी) कार्यतालिका रहेको थियो भने माघ १७ (मंगलबार) १ सय ४ उडान भर्ने कार्यतालिका थियो । यो तथ्यांकअनुसार दैनिक १७ वटा उडान घटेका छन् ।

आन्तरिक उडानमा नेपाल वायुसेवा निगमको एउटा जहाज सञ्चालनमा छ भने बुद्ध एयरका १४ जहाज छन् । यस्तै यती एयरलाइन्सका ५, श्री एयरलाइन्सका ५, तारा एयरका ३, गुण एयरलाइन्सको १, सौर्य एयरलाइन्सका २, समिट एयरका ४, सीता एयरका २ विमानले काठमाडौं विमानस्थलबाट मुलकभरका करिब २ दर्जन विमानस्थलमा उडान भरिरहेका छन् । पहाडी भेगमा बुद्ध, सीता, समिट, तारा र नेवानिले उडान भरिरहेका छन् ।

सरकारी तथ्यांकअनुसार सन् २०२२ मा आन्तरिक हवाई यात्रुको संख्या बढेको छ । यो वर्ष ४४ लाख ६६ हजार १ सय ५२ जना यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानमास्थलको आन्तरिक टर्मिनलबाट उडान तथा अवतरण गरेका थिए, जुन हालसम्मकै अधिक हो । आन्तरिकमा गत वर्ष उडान तथा अवतरण गरेर दैनिक ३ सय उडान हुने गरेको थियो । उपत्यकाबाट दैनिक साढे ७ हजार यात्रु उडान भरिरहेका थिए भने सोही संख्यामा यात्रुले उपत्यकामा अवतरण गर्ने गरेका थिए ।

काठमाडौंमात्र होइन, मोफसलका विमानस्थलमा समेत यात्रुको संख्या घटेको छ । कारोबार दैनिकका बारा संवाददाता प्रकाश लम्सालका अनुसार सिमरा–काठमाडौं रुटको नियमित उडानमा ५० प्रतिशतले कमी आए पनि निजी एयरलाइन्सले कम भाडामा समेत पूरा यात्रु पाउन सकेका छैनन् । दैनिक १२ वटा उडान भर्दै आएका निजी एयरलाइन्सले पाँचदेखि ६ उडान गर्ने गरे पनि यात्रुको संख्यामा व्यापक कमी आएपछि न्यूनतम भाडा दरमा कमी गर्दा समेत विमानले पूरै यात्रु पाउन नसकेका हुन् । चालू उडानले समेत पूरा यात्रु नपाएपछि निजी विमान कम्पनीले उडान संख्या अझै घटाउन सक्ने अवस्था बन्दै गएको छ ।

यसअघि नियमित हवाई यात्रा गर्ने यात्रुहरू बस, सुमो र भाडाका सवारी प्रयोग गरी राजधानी जाने क्रम भने बढेको यातायात व्यवसायीहरू बताउँछन् । पोखरामा पनि अवस्था उस्तै छ । कारोबार दैनिकका पोखरा संवाददाता दीननाथ बरालका अनुसार पछिल्लो विमान दुर्घटनापछि हवाई उडान प्रभावित भएको छ । पोखरा–काठमाडौं दैनिक करिब २२ वटा उडान हुने भए पनि हाल घटेर १५ वटामात्र उडान हुन थालेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । हाल अफसिजन समेत भएको र विमान दुर्घटनाको विषयले गर्दा पनि हवाई उडान गर्ने यात्रुको संख्या घटेको एयरलाइन्स कम्पनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्