आवश्यकता ‘डिजिटल हेल्थ’को

सरकारले ‘डिजिटल नेपाल’का क्षेत्रमा विभिन्न काम गर्दै जाँदा सरोकारवालाहरुले ‘डिजिटल हेल्थ’को अवधारणलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता महसुस गरेका छन् ।
आज यहाँ आयोजित ‘नेपालमा डिजिटल हेल्थ कार्यान्वयनको सम्भावना र चुनौती’का विषयक अन्तरक्रियामा सहभागी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले तथ्याङ्क व्यवस्थापनमा एकीकृत प्रणालीको विकास आवश्यक रहेको बताए ।
“हामीसँग जति पनि ज्ञान, सीप, प्रविधि तथा तथ्याङ्क छन् त्यसलाई राज्यले खोजेर एकीकृत गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “साथमा तथ्याङ्कको स्रोत, सुरक्षा र विश्वसनीयतामा ध्यान दिनु जरुरी छ ।” उनले कोभिडको समयमा ठूलो समस्या परेका अनुभव सुनाउँदै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए । कुनै पनि चिकित्सकसँग बिरामीको अभिलेख नरहेको, रोगको उपचारको खास प्रोटोकल नभएको उल्लेख गर्दै इलेक्ट्रिोनिक रेकर्ड जरुरी भएको उहाँको धारणा छ ।
विकसित मुलुकमा बिरामीको सबै विवरण डिजिटलाइज हुने भन्दै जुनसुकै अस्पताल गए पनि विगतको जानकारी लिन सजिलो हुने उहाँको भनाइ छ । चिकित्सकको सिफारिसका साथै औषधिको जानकारी समेत फार्मेसीसम्म पुग्ने भएकाले बिरामीले सोही आधारमा सेवा लिएरहेको उनको भनाइ छ ।
सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले बेलायत तथा अष्ट्रेलियमा आफूले प्राप्त गरेको अनुभव सुनाउँदै भने, “प्रणालीबाट एक क्लिकमा स्वास्थ्यका सबै जानकारी प्राप्त हुनसक्छ, अब त्यो अभ्यास नेपालमा किन नगर्ने ” सांसद रामहरि खतिवडाले डिजिटल हेल्थ लागू भए धेरै सहज हुने बताए । लामो समय चिकित्सा सेवा दिनुभएका सांसद डा चन्दा कार्कीले डिजिटल हेल्थका विषयमा राज्यले गम्भीरताका साथ नीति नियम बनाउनुपर्ने बताए ।
विगतमा शिक्षण अस्पतालमा ‘हेल्थ नेट’ सुरु गरिए पनि कार्यक्रम प्रभावकारी हुन नसकेको उनको भनाइ छ । स्वास्थ्य सेवा विभागका सूचना प्रविधि शाखाका राजेन्द्रप्रसाद पौडेलले विवरण सङ्कलनको एक खालको प्रक्रिया भइरहेको तर डाटा प्रवेश विन्दुमै समस्या रहेको धारणा राखे । “एक जना चिकित्सकले एक सय जनासम्म बिरामी हेर्नुपर्छ, उसले कसरी विवरण भर्न सक्छ, आवश्यक जनशक्ति व्यवस्थापन जरुरी छ”, उनले भने ।
सोच नेपालका अध्यक्ष डा दामोदर पुडासैनीले स्वास्थ्य मन्त्रालयले डिजिटल हेल्थलाई प्राथमिकता दिनुपर्ने बताए । “विश्वव्यापी भएको विकासलाई नेपालले पनि स्वीकार गर्नुपर्छ”, उनले भने, नेपालमा ई–हेल्थमा धेरै खर्च भइसकेको छ, यसलाई प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ ।”