Logo

व्यवसायी फेरि आन्दोलित, सम्भव छ सिंगल डिजिट ब्याजदर ?

बैंकको चर्को ब्याजदरविरुद्ध उद्योगी–व्यवसायी फेरि आन्दोलित भएका छन् । सोमबार नेपाल राष्ट्रिय व्यवसायी महासंघ र अन्य व्यवसायीका संघसंस्थाले काठमाडौंको माइतीघरबाट विरोध प्रदर्शन सुरु गरेका हुन् ।

महासंघको नेतृत्वमा देशभरका उद्योगी–व्यवसायीले अब आन्दोलनलाई बृहत् बनाउँदै लैजाने अध्यक्ष कुमार कार्कीले बताए । प्रदर्शनका क्रममा उद्योगी–व्यवसायीप्रति सरकारले विभेदपूर्ण नीति तथा व्यवहार गरेको गुनासो गरेका थिए । बैंकहरूले चर्को ब्याजदर असुली गर्दा व्यवसायी मारमा परेको उनीहरूको गुनासो थियो । महासंघ अध्यक्ष कार्कीले राज्यले व्यवसायीका माग सम्बोधन नगरेसम्म आफूहरूले आन्दोलन कायम राख्ने जानकारी दिए । कारोबारसँग उनले भने, “उद्योगी–व्यवसायीलाई विभेद गरेको महसुस भयो । राज्यले यस नीतिलाई नसच्चाएसम्म अब आन्दोलन रोकिँदैन ।”

अध्यक्ष कार्कीले बैंकको चर्को ब्याज तिर्दा उद्योगी–व्यवसायीको सम्पत्ति सकिने अवस्था आएको समेत बताए । बैंकले व्यवसायीलाई सुकुम्बासी बनाइरहेको उनको आरोप छ । उनी भन्छन्,“व्यवसायीलाई उच्च ब्याजदरले मारमा पारेको अवस्था छ । यस्तो अवस्थामा राज्यको ढोका ढकढक्याउनु हाम्रो बाध्यता हो । ब्याजदर जसरी होस् सिंगल डिजिटमा झार्नुपर्छ ।”
महासंघ अध्यक्ष कार्कीले ब्याजदर राज्यले चाहे घटाउन सक्ने अवस्था रहेको दाबी गरे । उनले भने, “२ वर्ष अगाडि ८ प्रतिशत रहेको बैंक ब्याजदर अहिले १५ प्रतिशत पुगेको छ, अब एकल अंकमा झार्न समस्या पर्ने ? यस्तो हुँदैन ।” आन्दोलनमा व्यवसायीहरूले असफल व्यवसायका कारण आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका माग सम्बोधन गर्न समेत माग गरेका थिए ।

आन्दोलन गर्नुअघि महासंघले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा पनि ब्याजदर घटाउनुपर्ने र उद्योग व्यवसायका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने माग राखिएका छन् । महासंघले अब राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर उद्योगी–व्यवसायीका लागि खुकुलो नीति माग गर्ने तयारी गरेको अध्यक्ष कार्कीले बताए ।

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा बैंकको ब्याजदर उच्च तवरले बढेको छ । समग्र अर्थतन्त्रमै आएको सुस्तताका कारण बैंक ब्याजदर बढ्न पुग्दा यसले उद्योग–व्यवसायमा समस्या निम्त्याएको छ । बैंकहरूकै खराब कर्जा पनि बढ्दो क्रममा देखिएको छ, जसले गर्दा बैंकहरूको नाफामा समेत धक्का पर्न गएको छ । यस्तो अवस्थामा उद्योगीहरूले बैंकलाई मात्र दोषी देख्न नहुने बैंकर बताउँछन् ।

नबिल बैंकका नायब कार्यकारी अधिकृत मनोज ज्ञवाली अहिले व्यवसायीहरूले बैंकहरूलाई दोषी देखाउने गरी आन्दोलन गर्नु जायज नभएको बताउँछन् । समग्र अर्थतन्त्र सुस्ताउँदा बैंकको ब्याजदर बढ्न पुगेको भन्दै उनले यस्तो अवस्थामा सबैले मिलेर जानुको साटो बैंकलाई दोषी देखाउने काम भइरहेकोमा असन्तुष्टि जनाए ।

बैंकहरूले माघबाट निक्षेपको ब्याजदर घटाएका छन् । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूले लिएको मुद्दति निक्षेपको ब्याजदर तत्काल नघटे पनि बचत र कल निक्षेपको ब्याजदर तत्काल घट्न जान्छ । यसरी कुल निक्षेपमा करिब ३० प्रतिशत हिस्सा रहेको निक्षेपको लागत घट्ने र स्प्रेड रेट पनि घटाउनुपर्ने भएकाले कर्जाको ब्याजदर पनि घटाउँदै जानुपर्ने हुन्छ । जसअनुसार आगामी वैशाखसम्ममा बैंकहरूको कर्जाको ब्याजदर कम हुने अवस्था छ ।

तर, व्यवसायीहरूले माग गरेजस्तो एकल अंकमै ब्याजदर घट्ने भन्ने सम्भावना नहुने बैंकर ज्ञवाली बताउँछन् । अहिले औसतमा बैंकहरूको बेसरेट १३ प्रतिशत पुगेको छ । यसलाई घटाएर एकल अंकमा झार्न अहिले सम्भव नै नहुने बैंकर ज्ञवाली बताउँछन् । उनले भने, “बेसरेट १० प्रतिशतले घटेको अवस्थामा पनि १.३ प्रतिशतमात्रै घट्ने हो । ३ प्रतिशत घट्ने अवस्था कसरी आउँछ र सिंगल डिजिट हुनु ?” उद्योगी–व्यवसायीले भनेजसरी एकल अंकमा कर्जाको ब्याजदर आउन धेरै नै समय लाग्ने उनको भनाइ छ ।

नायब कार्यकारी अधिकृत ज्ञवालीले अहिले व्यवसायीहरू चर्को ब्याजदरका कारणमात्रै समस्यामा परेको नभई समग्र आर्थिक अवस्था र बजारमा माग कम भएका कारण समस्या भएको बताए । पछिल्लो समय बैंकहरूसँग उद्योगी–व्यवसायी चिढिँदै आइरहेका छन् । निजी क्षेत्रका विभिन्न संगठनहरूले गत महिनामात्र पनि बैंकविरुद्ध आन्दोलन गरेका थिए । साथै बैंकको चर्को ब्याजदरका कारण मारमा परेको भन्दै त्यसलाई घटाउनका लागि राजनीतिक तहमा समेत चर्को दबाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्