गोरखालाई समृद्धिको मोडल बनाउन आग्रह «

गोरखालाई समृद्धिको मोडल बनाउन आग्रह

नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गोरखालाई समृद्धिको मोडल जिल्ला बनाउन उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल एकीकरणको सुरु गरिएको जिल्ला तथा ‘न्याय नपाए गोरखा जानु भन्ने’ भनाइ लगायतका विभिन्न पहिचान गोरखासँग जोडिएको भन्दै उनले ‘समृद्धि हेर्न गोरखा जाऔं’ भन्ने नाराका साथ गोरखालाई समृद्धिको मोडल जिल्ला बनाउन सुझाव दिए । उद्योग वाणिज्य संघ गोरखाको ४४औं वार्षिक साधारणसभा तथा १५औं’ अधिवेशनको शनिबार उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका डाक्टर भट्टराईले गोरखाको समृद्धि तीव्र गतिमा हुनु जरुरी रहेको बताए । उनले भने, “विकास र समृद्धिका लागि धनभन्दा पहिले विचार र सपना आवश्यक पर्छ । तपाईंहरु समृद्धिको सपना देख्दै उद्यमशीलता र व्यावसायिकताको सोच राख्नुहोस् । अघि बढ्नुहोस् ।
उद्योग व्यवसायका क्षेत्रमा देखिएका नीतिगत समस्या सुल्झाउन हामी लाग्नेछौं ।” प्राकृतिक, सास्ंकृतिक र ऐतिहासिकलगायतका सबै क्षेत्रबाट उत्कृष्ट रहेको गोरखामा पर्यटन प्रबद्र्धनका लागि प्रचार–प्रसार र पूर्वाधारको आश्यिकता रहेको उनले बताए । गोरखामा पर्यटन प्रबद्र्धनका लागि प्रचार–प्रसारसहित सुविधासम्पन्न होटल सञ्चालन तथा पर्यटकीय क्षेत्रको विकासमा लगानी गर्न पनि उनले उद्योगी व्यापारीलाई आग्रह गरेका छन् । मस्र्याङ्दी नदी वरपर औद्योगीक क्षेत्र, दरौदी वरपर कृषि क्षेत्र र बूढीगण्डकी वरपर पर्यटन र विद्युत् क्षेत्रका रूपमा विकास गरेर गोरखालाई समृद्ध बनाउन सकिने उनको विश्वास छ ।

 

प्रतिक्रिया दिनुहोस्