म्यादी प्रहरीलाई नगद मै पोशाक भत्ता

संघीय संसद् र प्रदेशसभा निर्वाचन सुरक्षामा भर्ना गरिएका म्यादी प्रहरीले पोशाक भत्ता नगदमा नै पाउने भएका छन् । पोशाक खरिददेखि सिलाइसम्मको प्रक्रियामा आर्थिक अनियमितता हुन नदिन प्रहरी प्रधान कार्यालयले देशभरका म्यादी प्रहरीलाई तलव–भत्ता, रासन र पोशाक खर्च बापतको रकम बैंक खातामार्फत उपलव्ध गराउन लागेको हो ।
निर्वाचन आयोगले मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि ९८ हजार २ सय ६८ म्यादी प्रहरी भर्ना गर्न स्वीकृति दिइसकेको छ । आयोगको स्वीकृतिसँगै ७५ वटै जिल्ला प्रहरी कार्यालय (रुकुम र नवलपरासीका नयाँ जिल्ला समेत)बाट म्यादी छनौट प्रक्रिया भइरहेको छ । छनौट भएका सबैलाई असार र असोजमा सम्पन्न स्थानीय तह निर्वाचन सुरक्षामा खटिएका म्यादी सरह नै सेवासुविधा उपलव्ध गराइने छ ।
प्रहरीको यो निर्णयसँगै निर्वाचनमा खटिने म्यादीका लागि करिब ६ अर्ब रुपैयाँ बैंकमार्फत भुक्तानी हुने छ । यससँगै म्यादी प्रहरीले आफूले चाहेको ठाउँमा कपडा खरिद देखी सिलाइसम्मको काम गर्न पाउनेछन् । म्यादीले प्रहरी जवान सरहको मासिक तलव÷भत्ता लगायतक सेवा सुविधा पाउनेछन् ।
सरकारले एकजना जवानका लागि मासिक तलव २१ हजार ८ सय २२, भौगोलिक अवस्थाअनुसार रासन भत्ताबापत उपत्यकामा ५ हजार ५ सयदेखि हिमाली जिल्लामा ११ हजारसम्म पाउँछन् । यस्तै, २ लाखको दुर्घटना बिमा, १ लाख ५० हजारको स्वास्थ्य बिमा र अवकास नपाउँदै विरामी परेमा १ लाख ५० हजार रुपैयाँ सम्म उपचारखर्च समेत सरकारले नै बेहोर्ने छ ।
प्रत्येक म्यादीले तलव र रासनबाहेक कपडा खरिदबापत ७ हजार १ सय रुपैयाँ तथा निर्वाचन अवधिभर १ साताको लागि दैनिक २ सय ५० भत्ता तथा खाजा खर्चअन्तर्गत ५० रुपैयाँसम्म रकम उपलबध गराउने सरकारको तयारी छ ।
खाजा खर्च र दैनिक भत्ता भने निर्वाचन सुरक्षामा खटिएका सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी सरह नै पाउनेछन् । यो सबै गरेर एकजना म्यादीले निर्वाचन अवधिभर खटिँदा ५५ हजारदेखि ६० हजार रुपैयाँसम्म रकम पाउँछन् ।
प्रहरी प्रधान कार्यालय प्रशासन विभागले म्यादी प्रहरीमा छनोट भएका सबैको पायक पर्ने बैंकमा खाता अनिवार्य खोल्न र बैंकिङ च्यानलमार्फत मात्रै नगद भुक्तानी गर्न सबै जिल्ला प्रहरी कार्यालयहरूलाई निर्देशन दिएको छ ।
नेपाल प्रहरीका प्रशासन विभाग प्रमुख माधवप्रसाद जोशीका अनुसार कात्तिक १२ गतेभित्र म्यादी प्रहरी छनौट भइसक्नेछन् । उनका अनुसार छनौट भएका म्यादीलाई कात्तिक १५ देखि १ सातासम्म निर्वाचन सुरक्षातालिम र प्रशिक्षणमा सहभागी गराइने छ ।
गतसाता प्रहरी प्रधान कार्यालयले १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेकालाइ म्यादी प्रहरीको आह्वान गरेको थियो । म्यादी बाहेक सेना, प्रहरी र सशस्त्र प्रहरीका करिव १ लाख ७० हजार जनशक्ति निर्वाचन सुरक्षामा तैनाथ गराउने सरकारको तयारी छ ।