विद्युतीय सवारी साधन प्रवद्र्धन गरिने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्ने बताएका छन् । ऊर्जा विकास परिषद्ले बुधबार ललितपुरमा गरेको विद्युतीय सवारीसाधन प्रवद्र्धन सम्मेलनमा मन्त्री पुनले सरकारले विद्युतीय सवारीसाधन प्रयोगलाई प्रवद्र्धन गर्ने बताएका हुन् ।
काठमाडौं उपत्यकामा यसअघि नै ट्रली बस र सफा टेम्पोको प्रयोग सफल भएकाले यसलाई आगामी दिनमा अझै प्रवद्र्धन गरिने भन्दै उनले पेट्रोलियम पदार्थ आयात प्रतिस्थापनका लागि पनि विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नुको विकल्प नरहेको बताए । उनले सन् २००७-०८ मा ३६ करोड ४० लाख अमेरिकी डलरको पेट्रोलियम आयात भएकोमा सन् २०१७-१८ मा झन्डै १ अर्ब ५२ करोड डलरको आयात भएको भन्दै १० वर्षयता पेट्रोलियम वस्तुको आयात चार गुणाले बढेको बताए ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले परम्परागत ऊर्जाको स्रोत विस्थापनका लागि वैकल्पिक ऊर्जाको विकास गर्नुपर्ने बताए । उनले स्वच्छ ऊर्जाको विकासबाट मात्र मुलुकको प्रगति हुने दाबी गरे ।
सम्मेलनका क्रममा भएको एक सत्रमा भौतिक पूर्वाधार तथा यातायाथत मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य ब्रजाचार्य, विद्युत् प्राधिकरणका उपकाकार्यकारी निर्देशक हरराज न्यौपाने, ऊर्जा मन्त्रालयका सिनियर डिभिजिनल इन्जिनियर राजु महर्जन, राष्ट्रिय योजना आयोगका योजना अधिकृत कार्तिका यादवलगायतले विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि सरकारले महत्व दिएको र यसबारे उपयुक्त नीति र कानुन बनाएर अघि बढ्नुपर्ने बताए । उनीहरूले विद्युतीय सवारी साधन प्रवद्र्धनका लागि चार्जिङको पहुँच सहज बनाउनुर्ने बताए ।