चारबाट १५ अर्ब पुग्यो वाणिज्य बैंकहरूको प्रोभिजन रकम

बैंकहरूले खराब कर्जा घटाउन नसक्दा सम्भावित कर्जा नोक्सानीबापतको प्रोभिजन रकम पनि बढ्न पुगेको छ । यसले बैंकहरूको नाफामा समेत असर परेको छ ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमासमा बैंकहरूको सम्भावित कर्जा नोक्सानीबापतको रकम उच्च दरले बढ्न पुगेको हो । गत आवको दोस्रो त्रैमास (पुस मसान्त) सम्ममा ४ अर्ब ६ करोड रहेको वाणिज्य बैंकहरूको प्रोभिजन चालू आवको पुस मसान्तमा बढेर १५ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लोको तुलनामा २७३ प्रतिशतले बढी हो । निष्क्रिय कर्जा बढ्नु बैंकहरूका लागि जोखिमको विषय हो । उक्त जोखिम व्यवस्थापन गर्ने हेतुले वा जोखिम नहोस् भन्नका लागि बैंकहरूले निश्चित रकम प्रोभिजन गर्नुपर्छ ।
निष्क्रिय कर्जा बढ्दै जाँदा त्यसको जोखिम बहन गर्नका लागि बैंकहरूले रकम बढी राख्नुपरेको हो । बैंकहरूको निष्क्रिय कर्जा अनुपात बढ्दा प्रोभिजन गर्नुपर्ने रकम पनि वृद्धि हुन पुगेको हो । चालू आवको पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंकबाहेक सबै वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा अनुपात बढ्न पुगेको छ । बैंकहरूको सम्भावित कर्जा नोक्सानीबापतको प्रोभिजन रकम बढ्दा खुद ब्याज, बैंकहरूको सञ्चालन मुनाफा र खुद मुनाफा प्रभावित बनेको छ ।
नेपाल राष्ट्र बैंकले कोभिड महामारीको समयमा बैंकहरूलाई सहुलियत दिएको थियो ।
सो सहुलियत प्रयोग गर्दै बैंकहरूले पनि जोखिम सार्दै आएका थिए । तर, चालू आर्थिक वर्षको सुरूवातदेखि नै अर्थतन्त्रमा समस्या आउँदा बैंकहरूको निष्क्रिय कर्जा पनि बढ्न पुगेको छ । निष्क्रिय कर्जा बढ्दै जाँदा कर्जा नोक्सानीबापतको व्यवस्था (प्रोभिजन) बढ्न पुगेको हो । चालू आवको पुस मसान्तसम्ममा ७ वाणिज्य बैंकले प्रोभिजनका लागि एक अर्बभन्दा बढी रकम छुट्याएका छन् । तीमध्ये कृषि विकास बैंकले सबैभन्दा बढी सम्भावित कर्जा नोक्सानीबापतको प्रोभिजन रकम छुट्याएको छ । बैंकले चालू आवको पुस मसान्तमा २ अर्ब १७ करोड ६५ लाख रुपैयाँ प्रोभिजनका लागि छुट्याएको छ ।
गत आवको पुस मसान्तमा सो बैंकले ६२ करोड रुपैयाँ प्रोभिजनका लागि छुट्याएको थियो । वित्तीय विवरणअनुसार बैंक १२ करोड रुपैयाँ नोक्सानमा रहेको छ भने खराब कर्जा अनुपात ४.५२ प्रतिशत रहेको छ । यस्तै, नबिल बैंकले चालू आवको पुस मसान्तसम्ममा १ अर्ब ८८ करोड ७६ लाख रुपैयाँ प्रोभिजन गरेको छ । गत वर्ष १० करोड १८ लाख रुपैयाँ प्रोभिजन गरेको बैंकले यसपटक खराब कर्जा पनि बढ्दै जाँदा थप प्रोभिजन गर्नुपरेको हो । हिमालयन बैंकले १ अर्ब ४९ करोड ८९ लाख रुपैयाँ चालू आवको पुस मसान्तसम्ममा प्रोभिजन गरेको छ । गत आवको पुस मसान्तमा बैंकले ३७ करोड ११ लाख रुपैयाँमात्रै प्रोभिजन गरेको थियो ।
कुमारी बैंकले चालू आवको पुस मसान्तसम्ममा १ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ प्रोभिजनका लागि रकम छुट्याएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो रकम ३२ करोड २३ लाख रुपैयाँमात्र थियो । सिद्धार्थ बैंकले चालू आवको पुस मसान्तसम्ममा १ अर्ब १९ करोड २५ लाख रुपैयाँ प्रोभिजनको लागि छुट्याएको छ । गत आवको सोही अवधिमा बैंकले ७ करोड १२ लाख रुपैयाँमात्रै प्रोभिजनका लागि छुट्याएको थियो । यस्तै, ग्लोबल आइएमई बैंकले चालू आवको पुस मसान्तमा प्रोभिजनबापत १ अर्ब १२ करोड ९२ लाख रुपैयाँ छुट्याएको छ ।
गत आवको सोही अवधिमा बैंकले प्रोभिजनबापत १० करोड ४१ लाख रुपैयाँ छुट्याएको थियो । सन्राइज बैंकले पनि एक अर्बभन्दा बढी प्रोभिजन गरेको छ । चालू आवको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६ करोड १९ लाख रुपैयाँ प्रोभिजन गरेको छ । गत आवको पुस मसान्तसम्ममा यस बैंकले ३९ करोड ५ लाख रुपैयाँ प्रोभिजन गरेको थियो । पूर्वबैंकर भुवन दाहालका अनुसार अर्थतन्त्रमा देखिएको समस्याका कारण बैंकिङ क्षेत्रमा असर देखिन थालेको हो । बैंकहरूको निष्क्रिय कर्जा बढ्दै जाँदा प्रोभिजन रकम पनि बढ्न पुगेको उनी बताउँछन् ।
“समग्र अर्थतन्त्रमा समस्या आउँदा बैंकहरूको निष्क्रिय कर्जा बढ्न गएको देखिन्छ, जसको कारण प्रोभिजन पनि बढ्न पुगेको हो,” दाहालले भने । बैंकहरूले ४२ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्, जसअनुसार औसतमा २.२९ प्रतिशत खराब कर्जा रहेको छ । निष्क्रिय कर्जा बढ्दै जाँदा भोलिका दिनमा कर्जा विस्तार गर्न नसक्ने अवस्था आउने जोखिम देखिएको समेत उनको भनाइ छ । अहिलेको प्रोभिजन रकममध्ये केही प्रतिशत निष्क्रिय कर्जामा जाने हुन्छ । निष्क्रिय कर्जाका कारणमात्रै प्रोभिजन नगरिने भए पनि यसको अनुपात बढ्दा प्रोभिजन पनि बढ्ने पूर्वबैंकर दाहाल बताउँछन् ।