‘हाम्रो पनि समस्या आचार्यको भन्दा फरक छैन’ «

‘हाम्रो पनि समस्या आचार्यको भन्दा फरक छैन’

निजी क्षेत्रको अगुवाइमा आइतबार राजधानीमा साना उद्यमी-व्यवसायीहरुसँग भर्चुअल माध्यमबाट एउटा छलफल कार्यक्रम आयोजना गरियो । इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले अघिल्लो साता नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गरेसँगै उठेका तमाम विषयलाई केन्द्रबिन्दु बनाएर छलफल गरिएको थियो । देशभरका घरेलु तथा साना उद्यमी सहभागी बनेको यो छलफलले सामान्य होइन, डरलाग्दो तस्बिर देखाएको छ ।

भर्चुअल छलफलमा अधिकांश साना व्यवसायीहरुले आफूहरुका समस्या पनि आचार्यको भन्दा भिन्दै नभएको जानकारी दिए । उनीहरुले समस्या समाधानमा सरकार र निजी क्षेत्रका पदाधिकारीहरु गम्भीर नभए अधिकांशको नियति आचार्यको जस्तै हुने गुनासो गरे । छलफल कार्यक्रमको आयोजक संस्था उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठका अनुसार छलफलमा सहभागी अधिकांश व्यवसायीले बैंक तथा वित्तीय क्षेत्रले अस्वाभाविक रुपमा वृद्धि गरेको ब्याजदर तथा ताकेताका कारण समस्या स्वर्गीय आचार्यको भन्दा भिन्न नभएको बताएका थिए ।

अध्यक्ष श्रेष्ठका अनुसार अर्थ मन्त्रालय र राष्ट्र बैंकले ब्याजदर घटाउने प्रतिबद्धता जनाए पनि बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदरमा कुनै परिवर्तन नगरेको भन्दै व्यवसायीहरुले समस्या जस्ताको तस्तै रहेको भन्दै आक्रोश व्यक्त गरेका थिए । “हामीले ब्याजदरसहित समसामयिक व्यावसायिक समस्याका विषयमा अबको हाम्रो बाटो के हुने र कसरी अघि बढ्ने भन्ने विषयमा भर्चुअल छलफल गरेका हौं,” अध्यक्ष श्रेष्ठले भने, “दुई घण्टाभन्दा बढी समय भएको छलफलमा सबै व्यवसायीहरुले अब व्यवसाय गर्न सकिँदैन, बैंकको ताकेता बढी भयो र बजारमा अन्य समस्याहरु अझ मुखरित भएर आए भन्ने कुरा गरेका छन् ।”

उनले देशभरका व्यवसायीहरुलाई ब्याजदर तथा आर्थिक समस्या भएमा महासंघमा सम्पर्क गर्न र त्यसका लागि बैंकसँग वार्ता छलफल गरी के कसरी सहयोग गर्न सकिन्छ, त्यसमा हरदम सहयोग गर्ने भन्दै आत्मदाह अपराध हो भनी बुझ्न आग्रह गरेका छन् ।

घटना भएपछि बल्ल देख्छ सरकारले

आचार्यले आत्मदाह गरेसँगै लघु, घरेलु तथा साना उद्यमीका समस्या क्रमशः उजागर हुन थालेका छन् भने सरकारले पनि बल्ल सुन्न थालेको छ ।आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जालबाट सार्वजनिक गरेका साना व्यवसायीका समस्याप्रति सरकार र निजी क्षेत्र दुवै गम्भीर बन्ने संकेत देखिएका छन् ।

सरकारले आचार्यले उठाएका समस्याका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ भने निजी क्षेत्रका संघसंगठनले साना तथा मझौला व्यवसायीका समस्याका विषयमा छलफल थालेका छन् । व्यवसायी आचार्यको आत्मदाहपछि लघु तथा घरेलु उद्यमीका समस्या उजागर हुँदै गएको र यसले राष्ट्रियस्तरमा बहस सिर्जना गरेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ बताउँछन् । सरकारमाथि ठूला उद्यमीका कुरामात्र सुनिरहेको आरोप लाग्ने गरेकोमा आचार्य आत्मदाह प्रकरणपछि सरकारी छानबिन टोलीको प्रतिवेदन व्यवसायीले कुरिरहेको उनको भनाइ छ ।

उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, उद्योग परिसंघलगायतका संघसंस्थाहरुले पनि साना तथा मझौला व्यवसायीका समस्यामा चासो देखाउन थालेको घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह बताउँछन् । “वर्षौंदेखि सिमान्तकृत अवस्थामा रहेका साना व्यवसायीहरुको समस्या आचार्य आत्मदाह प्रकरणले सतहमा ल्याएको छ,” सिंह भन्छन्, “आचार्यले आत्मदाहअघि सार्वजनिक गरेको विषयले आम व्यवसायीको पीडा बोलेको छ र सरकारले पनि यसमा समिति गठन गरेको छ । आगामी दिनमा अरु प्रेमप्रसादले आत्मदाह गर्न नपरोस् भन्ने हाम्रो कामना हो ।”

प्रेमप्रसादले राजधानीको मूल ठाउँमा आत्मदाह गरेकोले धेरै चर्चा भएको भए पनि तराईका केही जिल्लामा ५० हजारभन्दा कम ऋण हुँदा पनि सामाजिक तिरस्कार सहन नसकेर आत्मदाह गरेको उनले बताए । सिंहका अनुसार महोत्तरी र मोरङमा यसअघि पनि यस्ता घटना भएका थिए । लघु, घरेलु, साना एवं मझौला उद्यमीका लागि अस्थिर ब्याजदर, बजारमा उधारो नउठ्ने समस्या, बजार अभाव, प्रविधिको कमी, नीतिगत अस्पष्टता र सरकारी निकायको बेवास्ता नै मुख्य समस्या रहेका छन् ।

महासंघले अघिल्लो साता आयोजना गरेको एसएमईज सम्मेलनको निष्कर्षमा लघु, घरेलु, साना एवं मझौला उद्यमका उत्पादनको बजारीकरणका लागि आवश्यक नीतिगत सुधारका लागि महासंघले सरकारसँग निरन्तर पहल पैरवी गर्ने उल्लेख छ । उद्योगी–व्यवसायीहरुले मुलुकभर लाखौं संख्यामा रहेका लघु, घरेलु, साना एवं मझौला उद्यमीको समस्या उस्तै भएको बताउँदै आएका छन् । आत्मदाहअघि आचार्यले उठाएको ब्याजदर, उधारोलगायतका विषयलाई सम्बोधन गर्न ब्याजदरमा स्थायित्व, उधारोसम्बन्धी ऐन, दामासाही ऐन, व्यावसायिक उधारोको बिमा, प्रक्रियागत सहजीकरण जस्ता विषय सम्बोधन गर्न आवश्यक रहेको महासंघको भनाइ छ ।

सहज वित्तीय पहुँच, बजार पहुँच विस्तारलगायतका विषयको पनि सम्बोधन गर्नु आवश्यक छ । सरकार र केन्द्रीय बैंकबाट यस्ता मागको सुनुवाइ गर्न बारम्बार आग्रह गरिरहे पनि सुनुवाइ हुन नसक्दा दुखद् घटना बढ्दै गइरहेको व्यवसायीको आरोप छ । उद्योग वाणिज्य संघ काठमाडौंले आइतबार राजधानीमा आयोजना गरेको व्यवसायीसँगको भर्चुअल छलफलमा आचार्यको जस्तै समस्यामा आम व्यवसायीहरु रहेको र त्यसको समाधान नभए स्थिति भयावह हुने अधिकांश व्यवसायीहरुको राय छ ।

संघका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठका अनुसार छलफलमा सहभागी अधिकांश व्यवसायीले बैंक तथा वित्तीय क्षेत्रले अस्वाभाविक रुपमा वृद्धि गरेको ब्याजदर तथा ताकेताका कारण समस्या सिर्जना भएको बताएका थिए । अर्थ मन्त्रालय र राष्ट्र बैंकले ब्याजदर घटाउने प्रतिबद्धता जनाए पनि बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदरमा कुनै परिवर्तन नगरेको भन्दै व्यवसायीहरुले आक्रोश व्यक्त गरेका थिए । “हामीले ब्याजदरसहित समसामयिक व्यावसायिक समस्याका विषयमा अबको हाम्रो बाटो के हुने र कसरी अघि बढ्ने भन्ने विषयमा भर्चुअल छलफल गरेका हौं,” अध्यक्ष श्रेष्ठले भने, “दुई घण्टाभन्दा बढी समय भएको छलफलमा सबै व्यवसायीहरुले अब व्यवसाय गर्न सकिँदैन, बैंकको ताकेता बढी भयो र बजारमा अन्य समस्याहरु अझ मुखरित भएर आए भन्ने कुरा गरेका छन् ।”

उनले देशभरका व्यवसायीहरुलाई ब्याजदर तथा आर्थिक समस्या भएमा महासंघमा सम्पर्क गर्न र त्यसका लागि बैंकसँग वार्ता छलफल गरी के कसरी सहयोग गर्न सकिन्छ, त्यसमा हरदम सहयोग गर्ने भन्दै आत्मदाह अपराध हो भनी बुझ्न आग्रह गरेका छन् ।

कास्कीमा पनि व्यवसायीले गरे आत्मदाह
कास्कीको पोखरामा आइतबार बिहान एक स्टेशनरी व्यवसायीले आत्मदाह गरेका छन् । पोखरा महानगरपालिका–१३ काहँुखोलामा स्टेशनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्रीले आत्मदाह गरेका हुन् ।

उनले आत्मदाह गरेपछि जोगाउन आउने क्रममा घरधनी संगीता सापकोटा जलेकी छन् । कृष्णबहादुरले संगीताको घरमा स्टेशनरी पसल चलाउँदै आएका थिए । कृष्णले प्रहरीलाई आफू आर्थिक समस्यामा रहेको र मर्न पाउनुपर्ने चिकित्सकसँग बताएको बुझिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले कृण्ण डिप्रेसनमा रहेको पाइएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए ।

मनोबल उच्च पार्ने वातावरण बनाउन परिसंघको माग

व्यवसायीले आत्महत्या गर्न थालेपछि नेपाल उद्योग परिसंघले उद्योगी–व्यवसायीको मनोबल उच्च पार्ने वातावरण बनाउन माग गरेको छ । परिसंघले आइतबार विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा उद्यमी–व्यवसायीले आत्मदाह गरेको भन्दै नेपाली समाज र उद्योगी व्यवसायीमा चिन्ता एवं निराशाको वातावरण सिर्जना गरेको बताएको छ ।

‘महिनौंदेखि शिथिल रहेको नेपाली अर्थतन्त्रलाई गतिशील बनाउन यतिबेला सरकार र निजी क्षेत्र दुवै पक्षबाट केही सुधारका सकारात्मक प्रयासहरु सुरु भएको छ,’ परिसंघको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला दिनमा घटेका आत्महत्याका घटनाले अर्थतन्त्रको विकास र व्यवसायिक वातावरणमा सुधारसँग सरोकार राख्ने सबैलाई झक्झक्याएको छ ।’

विगत केही समयदेखि नेपाली अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बेला राष्ट्र बैंकबाट चालू पुँजी कर्जा मार्गदर्शनको परिमार्जन, आयात फुकुवा, एलसी मार्जिन र निक्षेपमा ब्याजदर घट्ने जस्ता कदमले अर्थतन्त्रलाई चलायमान गर्ने संकेत दिएको परिसंघको भनाइ छ । पर्यटक आवागमन तथा रेमिट्यान्समा वृद्धि, शोधनान्तर स्थितिमा आएको सुधारलगायतले अर्थतन्त्रमा सकारात्मक सन्देश दिएको भन्दै परिसंघले सरकारका कदमले समग्र मागमा वृद्धि ल्याई अर्थतन्त्र चलायमान हुने जनाएको छ ।

‘मानिसको आशा नै जीवनको बाँच्ने आधार भएकाले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पात्र र प्रणाली दुवैमा प्रभावकारी ढंगबाट सुधारका काम तत्काल थाल्न परिसंघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्