वैदेशिक रोजगारीले गति लिएसँगै ठगी पनि बढ्यो

कोरोना संक्रमणपछि वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै ठगी पनि बढेको छ । सरकारले अधिकतम १० हजार रुपैयाँमात्र सेवा शुल्क लिन पाउने नियम बनाएपछि कतिपय मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने गरेका कारण व्यक्तिगत ठगी बढेको हो ।
नक्कली एजेन्ट खडा गरेर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुली गर्ने प्रवृत्तिका कारण ठगी रकम र उजुरी संख्या बढेको विज्ञको भनाइ छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो ६ महिनाको विवरणअनुसार ठगीको दाबी रकम दोब्बरले बढेको छ । गत वर्षको साउनदेखि पुससम्म १९ करोड ७६ लाख रुपैयाँ मागदाबी गर्दै पीडितले विभागमा उजुरी गरेकोमा चालू आवको ६ महिना अर्थात् पुससम्म यो रकम बढेर ३९ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
विभागका निर्देशक कृष्णप्रसाद भुसालले पीडित युवाको उजुरी लिने प्रक्रियामा सहजीकरण गरेको र पीडितको संख्या वृद्धि भएको बताए । गत वर्ष पुससम्म ३३८ पीडितको दाबी उजुरी परेकोमा यो वर्षको सोही अवधिमा उजुरी संख्या ४८६ पुगेको छ । सरकारले वैदेशिक रोजगारीको प्रक्रियामा एजेन्ट राख्न नपाउने निर्णय गरेको भए पनि चालू आर्थिक वर्षको ६ महिनामा व्यक्तिगत लगभग २० करोड रुपैयाँले बढेको उजुरी विभागमा दर्ता भएको छ । गत आर्थिक वर्षको पुससम्म वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३८ वटा व्यक्तिगत उजुरीमा ३९ करोडबराबरको ठगी उजुरी परेको थियो । विभागले गत वर्ष ३८ वटा उजुरी अदालतमा मुद्दा दायर गरेकोेमा चालू आवमा यो संख्या ३३ रहेको छ ।
विभागका अनुुसन्धान तथा मुद्दा शाखाका अनुसार चालू आवको सो अवधिमा ६ करोड ८३ लाख ५६ हजार रुपैयाँ विगो दाबीसहित अदातलमा मुद्दा दायर गरेको जनाएको छ । एजेन्ट राख्ने व्यवस्था खारेज भएसँगै मेनपावर कम्पनीको आडमा व्यक्तिगत ठगी गर्ने गिरोह सक्रिय रहेका कारण उजुरी बढेको छ । व्यक्तिगत रुपमा ठगीमा परेका युवाले पैसा मेनपावर कम्पनीमा बुझाएको जनाए पनि पैसा बुझ्ने व्यक्ति संस्थाको कर्मचारी नभएको पाइएको विभागले जनाएको छ ।
श्रमिकबाट पैसा लिने स्थान मेनपावरको परिसर बनाउँदै व्यक्तिगत रुपमा युवासँग पैसा असुल्ने र मेनपावर कम्पनी पन्छिने गरेका घटना बढ्न थालेको विभागले जनाएको छ । विभागका अनुसार व्यक्तिगत ठगी मेनपावरको आडमा र समूह बनाएर गिरोहको रुपमा हुन थालेको छ । व्यक्तिगत ठगीका उजुरीमा मेनपावर कम्पनीभित्रै पैसा लेनदेन हुने गरेको छ । सरकारले वैदेशिक रोजगारमा एजेन्टको संलग्नतालाई गैरकानुनी मान्दै व्यक्तिगत प्रक्रियामा रोक लगाएको वर्षौं भए पनि व्यक्तिगत ठगीमा कमी आएको छैन ।
संस्थागत रुपमा भने वैदेशिक रोजगारीमा जाने कामदारबाट तोकिएको भन्दा बढी शुल्क लिएको, सम्झौतामा उल्लेख भएको भन्दा फरक काम दिएको, सम्झौतामा उल्लेख भएको भन्दा कम पारिश्रमिक दिएकोलगायत उजुरी पर्ने गरेका छन् । सम्झौतामा खान र बस्नका लागि व्यवस्था भएको भनिएकोमा सोका लागि तलबबाट रकम कट्टा गरेको लगायतबाट ठगी हुने गरेको छ । ठगीको उजुरी सम्बन्धमा विभागले क्षतिपूर्तिको कारबाही गर्ने गरेको भए पनि उजुरीका घटनामा भने कमी आएको छैन । वैदेशिक रोजगारीको ठगीमा वृद्धि भएकोले नियन्त्रणात्मक उपाय खोजी गर्ने र समयमा जाहेरी फरफारक गर्नुपर्ने विज्ञको भनाइ छ ।