भूमि आयोगको कामलाई प्रभावकारी बनाउन राजनीतिक दलहरुको प्रतिबद्धता

पर्सामा भूमि आयोगको कामलाई प्रभावकारी बनाउन जिल्ला स्थित राजनीतिक दलहरुले प्रतिबद्धता जनाएका छन् । राजनीतिक दलहरुको सहमति र सहयोग विना आयोगको काम प्रभावकारी हुने नसक्ने भएकोले भूमि आयोगक जिल्ला समिति पर्साले राजनीतिक दलका जिल्ला नेतृत्वसँग गरेको छलफल दलहरुले प्रतिबद्धता जनाएका हुन् ।
अव्यवस्थित बसोवास र भूमिहिनहरुको लागि भूमिको व्यावस्था गर्न गठन गरिएको भूमि आयोगले पर्सामा प्रकृयालाई तीब्र बनाएको छ । आयोगले पर्साका १४ वटै स्थानीय तहका सरकारहरुसँग समन्वय गरेर भूमिको समस्या समाधान गर्नका लागि जिल्ला स्तरका राजनीतिक दलहरुसँग छलफल गरेको छ । जिल्ला समन्वय समिति पर्सा स्थित आयोगको कार्यालयमा आईतबार जिल्लाका प्रमुख राजनीतिक दलहरुसँग भूमि आयोगका पदाधिकारीहरुले छलफल गरेको हो ।
२०७८ साल चैत २४ गते आयोगका पदाधिकारीहरुले सपथ ग्रहण गरेपछि ३५ दिने सूचना पालिकाहरुमा प्रकाशित गरी हालसम्म अभिमूखिकरण र बैठक र सहमति पत्रमा हस्ताक्षर लगायतका काम सम्पन्न गरेको भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदले जानकारी दिए । आईतबार भएको छलफलमा राजनीतिक दलका नेतृलाई हालसम्म भएका प्रगतिहरुको विषयमा जानकारी गराईएको र भूमि आयोगले गर्ने काममा दलहरुको पनि सहयोगको प्रतिवद्धता गराउन छलफल गरिएको अहमदले बताए ।
आईतबार भएको छलफलमा राजनीतिक दलहरुले पनि आयोगलाई सक्दो सहयोग र सहकार्यमा नै उत्पन्न समस्यालाई समाधान गर्ने सहमति भएको छ । भूमि आयोगको जिल्ला समितिले अब छिट्टै प्रत्येक पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी र प्रमुख प्रशासकीय अधिकृतहरुलाई राखेर स्थानीय तहमा भूमि आयोगले गर्ने काममा समन्वय गर्ने निर्णय गरेको छ । आयोगले पर्सागढीमा ७८ घरधुरीको प्रकृया टुंग्याउन लागेको र उनीहरुलाई चाडै लालपूर्जा समेत वितरण गर्ने तयारी रहेको अध्यक्ष अहमदले जानकारी दिए ।
पर्सागढीमा स्थानीय तहको सरकारले जग्गाको नापजाँच र खोजीमा सहयोग गर्दा काम छिटो भएकोले लालपूर्जा वितरण पनि चाडै हुने बताए । छलफलमा राजनीतिक दलका जिल्ला अध्यक्षहरुले प्रतिबद्धता जनाएका छन् । पहिले गठन गरिएको सुकुम्वासी आयोगले राजनीतिक मतभिन्नताका कारणले प्रभावकारी काम गर्न नसकेर नागरिकले आयोगको कार्यक्षमता प्रति विश्वास गर्न नसकेको भन्दै विश्वसनीय र प्रभावकारी काम गर्नका लागि पनि दलहरुको प्रतिबद्धता आवश्यक रहेको सहभागीहरुले औंल्याएका थिए ।
छलफलमा नेकपा एमालेका अध्यक्ष जयप्रकश थारुले भूमि आयोगको काम प्रभावकारी बनाउन सबै राजनीतिक दलहरुको सहयोग र समन्वय आवश्यक रहेको बताए । उनले भने, “सरकारले गठन गरेको आयोगले काम गरे देखाउन नसक्दा जनतामा विश्वास लाग्न छोडि सकेको छ । राजनीतिक स्वार्थ मात्रै हेर्ने भन्दा भूमि आयोगको प्रभावकारीता देखाउन दलहरुबीच सहमतिको विकल्प छैन ।” त्यस्तै जसपाका अध्यक्ष रामनरेश यादवले सरकारले गठन गर्ने अयोगको काममा सहयोग गर्नु राजनीतिक दलको दायित्व पनि भएको बताए ।
राजनीतिक दलहरुबाटै सरकार बन्ने र सरकारकै प्रतिनिधिको रुपमा आयोग र जनताको प्रतिनिधिको रुपमा राजनीतिक दलहरुले काम गर्नुपर्ने बताए । नेपाली कांग्रेसका उपसभापति रामनारायण कुर्मीले जनताको काममा राजनीतिक दलहरुबीच सहमति र सहकार्य भएमा सकारात्मक सन्देश पनि जाने भएकोले आयोगको काम प्रभावकारी बनाउन प्रतिबद्धता आवश्यक रहेको बताए ।