औद्योगिक क्षेत्रको जग्गा नाप्न सुरु «

औद्योगिक क्षेत्रको जग्गा नाप्न सुरु

सरकारले दाङको घोराहीमा घोषणा गरेको औद्योगिक क्षेत्रमा जग्गा नाप्न सुरु गरिएको छ । जग्गा नाप्न सुरु गरे संगै औद्योगिक क्षेत्रको काम अगाडि वढने अपेक्षा समेत गरिएको छ । आइतवार स्थानिय बासीन्दाहरु, टोलविकास संस्थाका अध्यक्षहरु, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष, संघका निवर्तमान अध्यक्ष, वडा नं ३ का वडाध्यक्ष, तथा घोराही उप महानगरपालिकाका प्राविधिक टोलीले नाप्न सुरु गरिएको हो ।

जग्गा नाप्का लागि स्थानिय वासीन्दाहरुको समेत सक्रिय सहभागिता रहेको छ । जग्गा नापेर प्रतिवेदन निर्माण गरिने भएको छ । त्यस पछि इ आइ ए को काम अगाडि वढने भएको छ । जग्गा नापेर प्रतिवेदन तयार गरेर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले बताए । त्यसपछि औद्योगिक क्षेत्रको काम अगाडि बढने उनको भनाइ रहेको छ । सरकारले घोराही उपमहानगरपालिकाको वडा नं. ३ र ५ को क्षेत्रमा औद्योगिक क्षेत्र घोषणा गरिएको हो ।

नेपाल सरकारको २०७७ माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले औद्योगिक क्षेत्र घोषणा गरेको थियो । साविक राप्तीको आवश्यकता अनुसार लामो समयदेखि दाङमा औद्योगिक क्षेत्र स्थापनाको लागि दाङ जिल्ला उद्योग वाणिज्य संघले पहल गर्दै आएको थियो । संघले २०७१ सालदेखि औद्योगिक क्षेत्रका लागि पहल गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बुढाथोकीले बताए । औद्योगिक क्षेत्रलाइ अगाडि बढाउन आफुहरुको सहयोग रहने घोराही उप महानगरपालिका वडा नंं. ३ का वडाध्यक्ष रामप्रसाद चौधरीले बताए ।

औद्योगिक क्षेत्र बनाउदा बस्ती नउठाउने गरि काम गर्नु पर्ने उनको भनाइ रहेको छ । वस्ती हटाउदा धेरै समस्या हुन्छ वस्ती बाहेकमा काम गर्दा आफुहरुको सहयोग रहने उनको भनाइ रहेको छ । ‘औद्योगिक क्षेत्र यस क्षेत्रको लागि आवश्यता हो तर बस्तीलाइ उठाउन हुदैन’ अध्यक्ष चौधरीले भने । औद्योगिक क्षेत्रका वारेमा स्थानिय वासीन्दाहरुलाइ जानकारी गराउदा सहज हुने उनले बताए । आर्थिक क्षेत्र स्थापना भएमा जिल्लाको आर्थिक विकासमा महत्वपुर्ण भुमिका खेल्ने उनको भनाइ रहेको छ ।

लामो समयको प्रयासपछि सरकारले औद्योगिक क्षेत्र घोषणा गरेको थियो । औद्योगिक क्षेत्र घोषणा भए उद्योग स्थापनासँगै जिल्लाबासीहरुले रोजगारको अवसर प्राप्त गर्ने अपेक्षा गरेका छन् । रोजगारका लागि विदेशिने युवाहरुको संख्यामा समेत कमी आउने आशा जिल्लावासीले गरेका छन् । रोजगारको लागि जिल्लाबाट लाखाँै युवाहरु विदेशिने गरेका छन् । उद्योग स्थापना भएपछि जिल्लाको राजश्वमा समेत वृद्धि हुने अपेक्षासमेत गरिएको छ ।

अहिले घोषणा गरिएको औद्योगिक क्षेत्रमा कुनै विवाद नभएकाले संघले औद्योगिक क्षेत्रका लागि पहल गर्दै आएको दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ । ‘सबैको सहयोगले गर्दा विवाद रहित तरिकाले घोषणा गर्न सकिएको हो’, अध्यक्ष बुढाथोकीले भने– ‘औद्योगिक क्षेत्र स्थापनाका लागि यस क्षेत्रका राजनीतिक दल, सरकारी निकाय, व्यवसायी तथा सरोकारवालाहरु मिलेर अगाडि बढ्नुपर्छ ।’

घोराही उपमहानगरपालिकाले नगर सभाबाट नै उक्त क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गरि सकेको छ । संघले २०५८ सालदेखि नै जिल्लामा औद्योगिक क्षेत्र स्थापनाको लागि पहल गर्दै आएको थियो । सुरुमा करौतीडाँडामा ८६ बिगाहामा औद्योगिक क्षेत्र बनाउन पहल थालिएको थियो । औद्योगिक क्षेत्रका लागि जग्गा कम हुने भएपछि उक्त क्षेत्र घोराही उपमहानगरपालिका लागि ल्याण्डफिल साइडको रुपमा प्रयोग गर्न दिएर जग्गा खोजी गरिएको थियो । त्यसपछि सरोकावारवालासँगको समन्वय गरेर जग्गा खोज्ने क्रममा घोराहीका ३ वडामा औद्योगिक क्षेत्रका लागि जग्गा छनोट गरिएको थियो ।

अहिले घोषणा गरिएको औद्योगिक क्षेत्रमा मानव बस्ती न्यून रहेको, शहरी क्षेत्रबाट टाढा, वन क्षेत्र भए पनि न्यून रुख विरुवा रहेको, पानीको सुविधा, सहजरुपमा सडक, विद्युत सहजरुपमा पु¥याउन सकिने, उत्पादन भएका वस्तु निकासी गर्न समेत सहज हुने भएकाले औद्योगिक क्षेत्रका लागि उपयुक्त रहेको बताइएको छ । औद्योगिक क्षेत्र भएपछि उद्योग स्थापनाको लागि आफूले जग्गा किनेर उद्योग सञ्चालन गर्नुपर्ने बाध्यता समेत हट्ने छ । जसले गर्दा उद्योग स्थापना गर्नका लागिसमेत सहज हुने संघका अध्यक्ष बुढाथोकीले बताए ।

उद्योग स्थापना भएपछि जिल्लामा उत्पादन समेत वृद्धि हुने उनको भनाइ रहेकको छ । औद्योगिक क्षेत्र घोषणासँगै जिल्लामा स्वदेशी तथा विदेशी लगानीकर्ता भित्रिने अपेक्षासमेत गरिएको छ । दाङको घोराहीमा सरकारले घोषणा गरेको औद्योगिक क्षेत्रका काम ढिलै भए पनि अघि बढ्न थालेको हो । केही समय अघि औद्योगिक क्षेत्रको काम अगाडि बढाउनका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुका निर्देशक सञ्जयलाल मानन्धर सहितको टोलीले स्थलगत अध्ययन समेत गरेको थियो ।

टोलीले स्थलगत अनुगमन तथा जिल्लामा सरोकारवालाहरुसँग भेटघाट तथा छलफल समेत थियो । जिल्लामा आएको समयमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुका निर्देशक मानन्धरले घोषणा भएको लामो समयसम्म अगाडि बढ्न नसकेको काम छिट्टै अगाडि बढ्ने बताएका थिए । सरोकारवालाहरुको सहयोगमा नै काम अगाडि बढने उनको भनाइ रहेको थियो । ‘सबैको सहयोगमा रहेमा काम सहज रुपमा अगाडि बढ्छ’, उनले भने– ‘काम गर्दा समस्या नआउने गरी अगाडि बढाउने सबैको दायित्व हो ।’

प्रतिक्रिया दिनुहोस्