व्यक्तिगत र दलीय स्वार्थले टेलिकमका योजनामा ढिलाइ: सञ्चारमन्त्री «

व्यक्तिगत र दलीय स्वार्थले टेलिकमका योजनामा ढिलाइ: सञ्चारमन्त्री

दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढिरहेका बेला टेलिकमका अधिकांश योजना ढिलाइ हुनुमा व्यक्तिगत र दलीय स्वार्थ हावी भएको छ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले टेलिकमभित्र दक्ष जनशक्ति, पर्याप्त आर्थिक स्रोत र बजारको संभावना हुँदाहुँदै पनि अधिकांश योजना ढिलाइ हुनुमा व्यक्तिगत र दलीय स्वार्थ मुख्य भएको बताएका छन् । कम्पनीको १४औं वार्षिक उत्सवका अवसरमा मन्त्री बस्नेतले निर्णय तहका कर्मचारी तथा सञ्चालकलाई लक्षित गर्दै केही धमिराले कम्पनीलाई काम गर्न अवरोध गरेको आरोप लगाएका छन् । उनले कम्पनीले व्यवस्थापन र सञ्चालक समिति तथा कर्मचारीले चाहेमा अरू कम्पनीको तुलनामा टेलिकममा काम गर्न सबैभन्दा सजिलो भएको बताएका छन् ।
पछिल्लो पटक कम्पनीले देशभर फोरजी सेवा विस्तार गर्दा भएको अवरोध सुनाउँदै उनले कम्पनीकै कर्मचारीले अख्तियारको पठाउन, समय थप्न तथा कसरी ढिला गराउन सकिन्छ भनेर अनेक तहर गरेको बताए । “प्रतिस्पर्धामा पहिलो हुन कलेक्टिभ इफोर्ट चाहिन्छ, कम्पनी भित्रैबाट काम गर्न ढिलाइ भएको छ,” मन्त्री बस्नेतले भने, “निर्णय गर्ने तहमा हुने व्यक्तिले कम्पनीभन्दा दल र व्यक्ति हावी गरेका कारण कम्पनीका अधिकांश योजना ढिलाइ हुन्छन् ।” यस्ता गतिविधि सुधार गर्न मन्त्री बस्नेतले कम्पनी व्यवस्थापनलाई आग्रह गरेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले कम्पनीको आम्दानी बढे पनि प्रतिस्पर्धी कम्पनीको तुलनामा भने कमजोर रहेको भन्दै समयमै सचेत हुन व्यवस्थापनलाई आग्रह गरेका छन् । निर्णय ढिला हुँदा कम्पनीले अर्बाैं रुपैयाँ गुमाएको भन्दै फोरजी पनि २ सहरमा मात्रै सीमित भएको बताए । कम्पनीले हाल ७७ जिल्ला लगायत सातैवटा प्रदेशमा तारसहित र ताररहित सेवा दिँदै आएको छ ।
कम्पनीका अनुसार गत साल भ्वाइस सेवामा १ करोड ८५ लाख ५८ हजार प्रयोगकर्ता छन् भने टेलिघनत्व ६४.६३ प्रतिशत पुगेको छ । नेपाल टेलिकमको डाटा प्रयोगकर्ता ८९ लाख ३५ हजार प्रयोगकर्ता पुगेका छन् भने डाटा घनत्व ३१.१२ प्रतिशत पुगेको कम्पनीले बताएको छ । कम्पनीले डाटा सेवा विस्तारका लागि भ्वाइस प्याकेज, म्युजिक स्ट्रिमिङलगायतका सेवा विस्तार भएको जनाएको छ । जीएसएम प्रयोगकर्ताले फागुनको दोस्रो सातादेखि भ्वाइस मेल सर्भिस लिन सक्नेछन् । आर्थिक वर्ष ०७३/७४ मा १ सय ३४ स्थानमा ५० हजार लाइन र २६ हजार लाइन एडिएसएल क्षमता वृद्धि भएको छ । कम्पनीले माघ ४ गतेदेखि एकीकृत बिलिङ सिस्टम सञ्चालनमा ल्याएको छ । सीडीएमए, जीएसएम, वाइम्याक्स, एडीएसएललगायतका सबै सेवाग्राहीको बिलिङ सेवा सहज र एकीकृत रूपले उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीको नाफा १३.४२ प्रतिशतले वृद्धि भई आव ०७३/७४ मा १५ अर्ब ३७ करोड रुपैयाँ पुग्नुका साथै प्रतिसेयर आम्दानी वृद्धि भई आर्थिक वर्ष ०७३/७४ मा १०२ रुपैयाँ पुगेको प्रबन्ध निर्देशक राजभण्डारीले जानकारी दिइन। कम्पनीले आर्थिक वर्ष ०७३/७४ मा सरकारलाई कुल २४ अर्ब ५४ करोड रुपैयाँ राजस्व तिरेको उनले बताइन् ।

नमस्ते क्रेडिट सुरु
नेपाल टेलिकमले सोमबारदेखि ग्राहकलाई फोन गर्दा गर्दै रकम सकिएको अवस्थामा ऋण स्वरूप ब्यालेन्स दिने योजना ल्याएको छ । ‘नमस्ते क्रेडिट’ नाम दिइएको यस ऋण योजनाले मोबाइलमा कुरा गर्दा गर्दै पैसा सकिएमा ऋण लिन पाइने स्किम हो । आफ्नो १४ वर्ष पूरा गरी १५ वर्षमा प्रवेश गरेको अवसर पारेर कम्पनीले यो योजनाको सोमबारबाट सफ्ट लन्च सुरु गरेको हो ।
टेलिकमले दिने उक्त ऋणमा कुनै प्रकारको ब्याज लाग्ने छैन । टेलिकमका महाप्रबन्धक कामिनी राजभण्डरीले एक महिनापछि व्यावसायिक रूपमा यो योजना सञ्चालनमा आउने बताइन् । यस्तै टेलिकमले अन्तर्राष्ट्रिय आगमन कल प्राप्त गर्ने कम्पनीका ग्राहकलाई पनि बोनस दिने भएको छ । प्रत्येक ७ दिनमा ७ मिनेटभन्दा बढी कल प्राप्त भएमा बिहीबारदेखि वैशाख २५ गतेसम्मका लागि यस्तो प्याकेज दिने भएको हो । कम्पनीले बिहीबारदेखि वैशाख २५ गतेसम्मको लागि ‘स्प्रिङ अफर’ अन्तर्गत विभिन्न प्याकेजहरू दिने घोषणा गरेको छ । कम्पनीले व्यक्तिगत रूपमा पोस्टपेडबाट धेरै कल तथा डाटा प्रयोग गर्ने नेपाल विद्युत् प्राधिकरणका कुलमान घिसिङ, प्रिपेडतर्फ धेरै कल तथा डाटा प्रयोग गर्ने पत्रकार पुष्प दुलाल, र संस्थागततर्फ धेरै कल गर्ने सूर्य नेपाललाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्