Logo

प्रभावकारिताको कसीमा ट्रेड युनियनको भूमिका

सुशासन कायम गर्न ट्रेड युनियनको भूमिका अर्थपूर्ण रहन्छ । ट्रेड युनियनले कर्मचारी वा कामदारको हितलाई सुनिश्चित गर्दै रोजगारदाता वा सरकारसँग आपसी सुमधुर सम्बन्ध बनाइराख्ने उद्देश्यबाट स्थापित गरिएको हुन्छ । सामान्यतया ट्रेड युनियन कामदारहरूको स्थायी प्रकृतिको संस्था हो । यसले आफ्ना सदस्यको रोजगारी तथा आर्थिक सुरक्षा र फाइदाको लागि काम गर्छ ।

ट्रेड युनियनको काम, कर्तव्य र अधिकार अहिलेको विकसित विश्वमा झन् जटिल र परिवर्तनशील हुँदै आएको छ । यसको मुख्य ध्येय भनेको कामको अवस्थालाई सहज, सुविधायुक्त र आकर्षक ज्यालाका लागि पहल गर्नु हो । मजदुरले न्यायोचित ज्याला पाउन, काम गर्ने समय सीमित गर्न, काम गर्ने स्थल सामाजिक तथा मनोवैज्ञानिक रूपले स्वच्छ, स्वस्थ र सुरक्षित बनाउने चाहना गरेका हुन्छन् ।

यी सबै अवस्थालाई व्यवस्थित र व्यावहारिक बनाउनु ट्रेड युनियनको मुख्य उद्देश्य हो । ट्रेड युनियनको लक्ष्य, आचरण र चरित्र समयको माग तथा विश्व परिवेशअनुसार परिमार्जन र परिष्कृत भइरहन्छ । ट्रेड युनियनको स्थापना तथा विकास र विस्तार विभिन्न राजनीतिक आस्था र विचारले असर पारिराखेको हुन्छ । विश्वमा औद्योगीकरणको सुरुवातसँगै रोजगारी र ज्यालालगायतका विषय मजदुर र रोजगारदाताबीचमा समन्वय गर्न युनियनको भूमिका प्रभावकारी हुँदै गयो ।

विश्वमा औपचारिक ट्रेड युनियनको प्रारम्भ बेलायतको कम्बिनेसन एक्ट सन् १८२४ मा लागू भएपछि सुरुवात भएको हो । त्यस्तै अमेरिकामा सन् १८६९ मा नाइट्स अफ लेबर गठन भएपछि ट्रेड युनियन बन्ने र मान्यता प्राप्त गर्ने क्रमले तीव्रता पायो । नेपालमा ट्रेड युनियनको संस्थागत प्रारम्भ वि.सं. १९९३ मा विराटनगरमा जुट मिलको स्थापना भएपश्चात् वि.सं. २००३ चैत २० गते अखिल नेपाल ट्रेड युनियन कांग्रेसको गठन गरी निरंकुश जहानियाँ शासनको अन्त्यका लागि नेतृत्वदायी भूमिका खेलेको थियो ।

युनियनलाई सशक्त र निरन्तर क्रियाशील बनाइराख्न नेतृत्व सिद्धान्त र व्यावहारिकताको कसीमा निष्पक्ष, निष्कलंक र निःस्वार्थ छविका लागि खरो उत्रिनु आजको माग हो । दूरदर्शी सोच र चिन्तन भएको बहुआयामिक व्यक्तित्वबाट मात्र संगठनको विकास र विस्तार आशातीत रूपमा हुने यथार्थता हो ।

त्यसपछि वि. सं. २००७ माघ ४ गते महेश्वरमान छोचू तथा भक्तलाल श्रेष्ठको नेतृत्वमा अखिल नेपाल न्यून वैतनिक कर्मचारी संघको स्थापना भयो । यस संघले मुलुकको प्रशासन शासकमुखी नभई जनमुखी हुनुपर्छ भन्ने मूल उद्घोषका साथ वि.सं. २००८ जेठ ११ गते तलब सुविधा, नोकरीको सुरक्षा तथा निवृत्तभरणको व्यवस्था, घर बिदा, बिरामी बिदा, कर्मचारीको मृत्युपश्चात् विभिन्न परिवारका लागि भत्ता तथा छोराछोरीका लागि निःशुल्क पठनपाठनको व्यवस्थालगायतका मागहरू प्रस्तुत गरेको थियो ।

सरकारले मागप्रति बेवास्ता गरेकाले वि.सं. २००९ जेठ १९ देखि काठमाडौं उपत्यका तथा तराई तथा पहाडमा पहिलो पटक कर्मचारीले आम हड्ताल गरेका थिए । परिणामस्वरूप ३ सय ३० प्रतिशतसम्म तलब वृद्धि भएको थियो । तर, पछि सरकारले कर्मचारी संघलाई प्रतिबन्ध लगायो । तथापि प्रजातन्त्रको अभ्युदयपश्चात् विभिन्न पेसागत संघसंस्थाहरू धमाधम खुल्न थाले ।

पञ्चायती व्यवस्थाको स्थापनापश्चात् कतिपय पेसागत संघ–संगठन प्रतिबन्धको सामना गर्नुपर्‍यो । तर, वि.सं. २०४६/४७ को जनआन्दोलनको सफलतापछि पेसागत संघसंस्थाहरू सहज रूपमा खुल्न र विकसित हुन पाए । विभिन्न आन्दोलन र वार्ताको माध्यमबाट पेसागत सेवा तथा सुविधाहरूको सुनिश्चितता गर्दै युनियनहरू पनि कानुनी रूपमा नै सबल र सक्षम हुने अवसर पाए ।

निजामती सेवा ऐन– २०४९ दोस्रो संशोधन– २०६४ तथा निजामती सेवा नियमावली– २०५० आठौं संशोधन– २०६७ ले निजामती कर्मचारीहरूको सेवासुविधा तथा वृत्तिविकासको न्यायोचित सुनिश्चितता गर्न ट्रेड युनियनको व्यवस्था गरेको छ । मौजुदा निजामती ऐनको दफा ५३ मा कर्मचारीहरूको ट्रेड युनियनसम्बन्धी गठनको व्यवस्था गरेको छ ।

ट्रेड युनियन गठन गर्दा सदस्य हुनका लागि आवश्यक दायरा पनि तोकेको छ, जसअनुसार कार्यालय प्रमुख भई काम गर्नुपर्ने राजपत्रांकित कर्मचारीबाहेक राजपत्रांकित तृतीय श्रेणी वा सोभन्दा मुनिका कर्मचारीहरूले आफ्नो पेसागत हकहितका लागि कर्मचारीहरूको राष्ट्रिय स्तरको ट्रेड युनियन गठन गरी सदस्यता लिन सक्ने व्यवस्था गरेको छ । कर्मचारीको ट्रेड युनियनहरूको दर्ता श्रम तथा रोजगार प्रवर्द्धन विभागमा गर्नुपर्ने हुन्छ ।

उल्लिखित अनुसारका ट्रेड युनियनका सदस्यहरूले छनोट गरेका पदाधिकारी रहने गरी सरकारले निजामती कर्मचारीहरूको एक आधिकारिक ट्रेड युनियन गठन गर्नुपर्नेछ । यसरी गठित ट्रेड युनियनले जिल्लास्तर, विभागीय स्तर र राष्ट्रिय स्तरमा आफ्नो पेसागत मागहरू सम्बन्धित निकाय र पदाधिकारीसमक्ष प्रस्तुत गरी सामाजिक संवाद र सौदाबाजी गर्न पाउनेछ । तर, नेपालमा हालसम्म त्यस्तो खालको आधिकारिक युनियन गठन भइसकेको छैन ।

यस्तो अवस्थामा सबै श्रम विभागमा विधिवत् दर्ता भएका ट्रेड युनियनहरू आपसमा सहकार्य र सहमतिमा सौदाबाजी गर्न पाउने कानुनी व्यवस्था छ । कुनै पनि संस्थालाई गतिशील बनाएर प्रभावकारी रूपमा सञ्चालन गर्न नेतृत्वको अहम् भूमिका हुन्छ । युनियनलाई सशक्त र निरन्तर क्रियाशील बनाइराख्न नेतृत्व सिद्धान्त र व्यावहारिकताको कसीमा निष्पक्ष, निष्कलंक र निःस्वार्थ छविका लागि खरो उत्रिनु आजको माग हो ।

दूरदर्शी सोच र चिन्तन भएको बहुआयामिक व्यक्तित्वबाट मात्र संगठनको विकास र विस्तार आशातीत रूपमा हुने यथार्थता हो । सदस्यहरूको हकहितका लागि संस्थाले तोकेको लक्ष्य हासिलका लागि सदस्य एवं सरोकार पक्षलाई स्वेच्छाले सद्भाव, सहयोग र सहकार्य गर्न प्रेरित गर्नु नेताको मुख्य काम हो ।

अतः विशेष परिस्थितिमा लक्ष्य प्राप्तिका लागि व्यक्ति वा समूहका क्रियाकलापहरूलाई प्रभावित पार्ने प्रक्रिया नै नेतृत्व हो । ट्रेड युनियनको सफलता र सशक्तीकरणका लागि नेतृत्वले आफ्नो जिम्मेवारीलाई जवाफदेहीपूर्वक सम्पन्न गर्न योजनाबद्ध रूपमा सञ्चालन गर्नुपर्छ । ट्रेड युनियनको काम, कर्तव्य र अधिकारबारेमा स्पष्ट र गहन अध्ययन तथा जानकारीबारेमा आफ्ना सदस्यहरूलाई प्रशिक्षित गर्नु/गराउनुपर्छ ।

नेतृत्ववर्गले युनियनसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान सीपमा पोख्त हुनुपर्छ । युनियनको मानवीय तथा भौतिक संरचना पर्याप्त र साधनस्रोतको सम्पन्न हुनुपर्छ । युनियनको लक्ष्य, उद्देश्य, नीति तथा कार्यक्रम स्पष्ट एवं व्यावहारिक हुनुपर्छ । युनियन सञ्चालन साधारण सदस्यहरूबाट छानिएका सक्षम पदाधिकारीबाट सञ्चालन गरिनुपर्छ । सुशासनका आधारभूत तत्त्वहरू पारदर्शिता, विकेन्द्रितता, सहभागितामूलक निर्णय प्रक्रिया, समावेशिता आदिलाई अंगीकार गरेको हुनुपर्छ ।

आफ्नो समुदायको हितका साथै समाज, समुदाय, धर्म–संस्कार र संस्कृतिको सम्वर्द्धन–संरक्षण गर्ने गतिविधि सञ्चालनबाट सभ्य समाजको प्रवर्द्धन गर्न टेवा पुग्न जान्छ । युनियनप्रति सदस्यको अपनत्वको भावना जगाउन प्रत्येक सदस्यको दुःखसुखमा साथ दिन चुक्नु हुँदैन । उनीहरूको जीवनस्तर उठाउने खालका नीति, रणनीति तथा कार्यक्रम ल्याउने उपायहरू अवलम्बन गरिनुपर्छ ।

सदस्यहरूको पारिवारिक संरक्षण, छोराछोरीको पठनपाठन तथा नोकरीको व्यवस्थाजस्ता कार्यक्रमले सदस्य एवं सरोकारहरूको आस्था र विश्वास युनियनले जित्न सक्छ । सामाजिक गतिविधि आफैंले सञ्चालन गर्ने वा सहभागिता जनाउनु ट्रेड युनियनको प्राथमिकतामा पर्नुपर्छ । रक्तदान, परिवार नियोजन, सरसफाइजस्ता स्वास्थ्य शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूको तर्जुमा र कार्यान्वयनबाट सदस्य र समुदायबीच सद्भाव, सहयोग तथा सहकार्य गर्ने संस्कारको विकास हुन्छ ।

यस प्रकारका सकारात्मक सोच र व्यवहारबाट ट्रेड युनियनप्रति जनसमुदायको आस्था र विश्वास जित्न सफलता मिल्छ, साथै सदस्यहरूलाई समाजमा सहज रूपमा घुलमिल हुन टेवा पुग्छ । आफ्ना सदस्य तथा जनसमुदायको चाहना र आवश्यकतालाई बुझेर उनीहरूको भावनाअनुसार नीति–रणनीति बनाएर कार्य गर्नु नेतृत्वका लागि गम्भीर चुनौती हो । कतिपय अवस्थामा आफ्नो पदीय हैसियत कायम राख्न नसकेर विचलित भएका उदाहरण पाउन सकिन्छ ।

नेतृत्वको पदीय हैसियतमा आएका कतिपय विचलनका कारण संघसंस्थाभित्र विकृति–विसंगति मौलाएका उदाहरण बग्रेल्ती पाउन थालिएको छ । विधिभन्दा व्यक्ति, नीतिभन्दा नेता, राम्रोभन्दा हाम्रोलाई प्रधानता दिएको कारणबाट नेतृत्व विवादमा आउने गरेको पाइन्छ । तसर्थ लोकप्रिय नेताको हैसियतमा नेतृत्व बन्न सदैव सकारात्मक सोच र लोकतान्त्रिक शैली निष्कलंक छविका लागि अपरिहार्य हुन्छ ।

नेतृत्व योजनाकार, नीति निर्माता र मध्यस्थकर्ता तथा साहसिक र उत्साही हुनुपर्छ । लक्ष्य हासिल गर्न सदा तत्पर रहने दृढ इच्छा शक्ति भएको उत्साही एवं कञ्चन चरित्र तथा सामाजिक मूल्य-मान्यता, धर्म-संस्कृति, संस्कारलाई सम्मान गर्ने इमानदार आदर्श व्यक्तित्व सफल नेताका लागि आधारभूत सर्तहरू हुन् ।

क्युरियो सिद्धान्त र कस्मेटिक कुरालाई त्यागी कामकारबाहीमा निष्पक्षता, पारदर्शिता तथा विषयवस्तुमा विज्ञताले नेतृत्वलाई बहुआयामिक र लोकप्रिय बनाउँछ । संवेगात्मक आवेगलाई सन्तुलन तथा धैर्यधारण गर्ने सकारात्मक सोच र शक्ति भएको व्यक्तिले मात्र सफल, सबल र सशक्त नेतृत्वको पहिचान दिन सक्छ । यस प्रकारका चरित्र भएको नेतृत्वबाट मात्र वास्तवमा निजामती सेवा र ट्रेड युनियनको सार्थकता र गरिमा बढ्छ ।

प्रतिक्रिया दिनुहोस्