गुणस्तरही वस्तु उत्पादन गर्ने उद्योगविरुद्ध मुद्दा

न्यून गुणस्तरका वस्तु उत्पादन गर्दै बजार पठाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने मोरङका आधा दर्जन उद्योगविरुद्ध मुद्दा दायर गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले न्यून गुणस्तरका वस्तु उत्पादन गर्दै बजार पठाउने ६ वटा उद्योगविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो । खाद्य प्रविधिले विराटनगर–१९ स्थित शिखर अर्गनाइजेशन लिमिटेडबाट उत्पादन हुने मकै न्यून गुणस्तरको पुष्टि भएपछि ५० हजार रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग दाबी गर्दै मोरङ अदालतमा मुद्दा दायर गरेको जनाइएको छ ।
यस्तै चौपायको आहार उत्पादन गर्ने मोरङको बूढीगंगा गाउँपालिका–२ टंकीस्थित नेपाल बलहोप एग्री टेक प्रालिले दूषित दाना पदार्थ उत्पादन गरी बिक्री वितरण गरेको पाइएपपछि ५० हजार रुपैयाँसम्म जरिवना वा १ महिनादेखि १ वर्षसम्मको कैद सजायको माग दाबी लिएर जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दायर गरिएको छ ।
यस्तै प्रशोधित पिउने पानीमा लेबल नभएको भेटिएपछि विराटनगर–१३ स्थित रुपसान प्रशोधित खानेपानी उद्योगविरुद्ध ५० हजार जरिवाना वा पाँच वर्षसम्म वा दुवै सजायको माग दाबी राखेर मोरङ अदालातमा मुद्दा दायर गरिएको छ ।
टोमेटो केचप उत्पादन गर्ने बूढीगंगाको दुगड स्पाइसेस एण्ड फुड प्रोडक्टस प्रालिले न्यून गुणस्तरको खाद्य वस्तु उत्पादन गरी बजारमा बिक्रीका लागि पठाउने गरेको पाइएपछि ५० हजार रुपैयाँसम्म जरिवना वा पाँच वर्षसम्मको कैद सजायको माग दाबी लिएर मोरङ अदालातमा मुद्दा दायर गरिएको खाद्य कार्यालयले जनाएको छ ।
बजारबाट नमुना संकलन गरेर ल्याब परीक्षण गर्दा न्यून गुणस्तरको पुष्टि भएपछि मुद्दा दायर गरेको कार्यालय प्रमुख राजकुमार रिजालले जानकारी दिए । “उद्योगबाट उत्पादित वस्तुको ल्याब परीक्षण गर्दा गुणस्तरहीन भेटियो,” रिजालले भने, “त्यसपछि कारबाहीका लागि मुद्दा दायर गरेका हौं ।”
चालु आर्थिक वर्षमा पनि एक दर्जन उद्योगले उत्पादन गरेको खाद्यवस्तु कम गुणस्तरको भेटिएपछि अनुसन्धान सुरु गरिएको कार्यालय प्रमुख रिजालले जानकारी दिए । आथिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासिक प्रगति विवरण सार्वजानिक गर्दै रिजालले हालसम्म १४७ वटा उद्योगहरू अनुगमन गरेको बताए ।