सिद्धार्थ राजमार्ग १० मिटरको बनाउन प्रस्ताव «

सिद्धार्थ राजमार्ग १० मिटरको बनाउन प्रस्ताव

सिद्धार्थ राजमार्गअन्तरगत बुटवलदेखि पोखराको पृथ्वीचोकसम्मको सडक १० मिटर चौडा कायम गर्नेगरी स्तरोन्नति गर्ने प्रस्ताव गरिएको छ । सडक ऐन, २०३१ अनुसार राजमार्गका केन्द्र विन्दुबाट दायाँबायाँ २५/२५ मिटर सडक मापदण्ड तोकिएको छ ।

तर, सिद्धार्थ राजमार्गमा भने फरक मापदण्ड लागू गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग वैदेशिक सहायता कार्यान्वयन महाशाखाद्वारा पुतलीबजार नगरपालिका–११ स्थित करेण्डाडाँमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरी सडकको वर्तमान अवस्था र भावी रणनीतिबारे जानकारी दिइएको छ ।

विभागका कन्सल्टेन्ट निरीना खड्गीका अनुसार सिद्धार्थ राजमार्ग (बुटवल-पोखरा) सडक खण्ड दुई लेन क्यारिज वे ७ मिटर र सडकका दाँयाबाँया (दुवैतर्फ) १ दशमलव ५ मिटर शोल्डरसहित कालोपत्रे र स्तरोन्नति गरी १० मिटर कायम गरिने भएको छ ।

विभागले बुटवलको गोलपार्कदेखि पोखराको पृथ्वीचोकसम्म झण्डैं १ सय ६० किलोमिटर सडक स्तरोन्नति आयोजनाका बारेमा प्रत्यक्ष प्रभावित पालिकामा वातावरणीय प्रभाव मूल्यांकनका बारेमा पछिल्लो समय सार्वजनिक सुनुवाइ गर्दै आएको छ । बुटवल उपमहानगरपालिकाबाट ६ माघदेखि सुरु भएको सुनुवाइ कार्यक्रम पुतलीबजार नगरपालिकामा गरिएको हो ।

राजमार्गअन्तर्गत एक महानगर र एक उपमहानगरपालिकासहित पाँच नगरपालिका र पाँच गाउँपालिका गरी १२ वटा पालिकामा प्रत्यक्ष प्रभावित क्षेत्र पर्दछन् । पहाड र तराईका भू–भाग समेटिएको यस राजमार्ग विस्तारमा २ हजार ८ सय ८६ रूख काट्नुपर्ने र दुई हजार १ सय १० ब्यक्तिका घर तथा दुई सय संस्थागत संरचनामा क्षति पुग्ने विभागको प्रारम्भिक अनुमान छ ।

प्रभावित ब्यक्तिका लागि मुआब्जा र क्षतिपूर्तिको व्यवस्था, भू–उपयोगमा परिवर्तन, भू–क्षय, माटो पानी, ध्वनि, वन विनाश तस्कर, घरटहरामा हुने क्षति, सामाजिक जनजीवनमा पर्ने प्रभाव, पानीका मुहान, खानी वनस्पति, पुल, खोला आदिलगायतको असरका बारेमा स्थानीयसँग विभागले गुनासो एवं सुझाव लिँदै आएको छ ।

साँगुरो राजमार्गका कारण स्याङ्जाले आर्थिक, सामाजिक एवं औधोगिक क्षेत्रमा विकास गर्न नसकेको भन्दै विभागको प्रस्तावले उत्साहित बनाएको सहभागीले बताएका छन् । भूगोल अनुरुप राजमार्ग चौडा गर्नुपर्ने आजको आवश्यकता रहेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्